Goraksha

National Daily

एचपिभी खोप लगाउन सुरु

दाङ, २३ माघ । दाङमा किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाउन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको मदरसा दारुल हुदा अल सफिया माध्यमिक विद्यालयबाट खोप अभियानको सुभारम्भ गरिएको हो । उक्त विद्यालयमा ५० जना किशोरीलाई खोप लगाइएको थियो ।

पालिका खोप समन्वय समिति घोराहीका संयोजक नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा खोप अभियानको जिल्ला खोप समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माले स्वास्थ्यकर्मीलाई खोप प्रदान गरेर अभियानको सुभारम्भ गरेका हुन् । उनले अभियानमा सहभागी भएर किशोरीहरूलाई पाठेघरको क्यान्सरको जोखिमबाट बच्न कुनै डर नमानेर अभियानमा सहभागी हुन आग्रह गरे ।

दाङमा विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ३९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लामा विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरेर ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाउन थालिएको छ ।

खोप अभियानबारे जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले जानकारी गराएका थिए । जिल्लामा चार सय ३५ वटा विद्यालयमा र १२ वटा विद्यालय बाहिर गरेर चार सय ३४ वटा खोपकेन्द्रबाट खोप लगाउन थालिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन् । उनका अनुसार घोराहीमा १२ हजार छ सय ७८ जना, बंगलाचुली गाउँपालिकामा एक हजार तीन सय दुई जना, तुलसीपुर उपमहानगरपालिकामा ११ हजार चार सय ४२ जना, शान्तिनगर गाउँपालिकामा एक हजार पाँच सय १० जना, बबई गाउँपालिकामा एक हजार आठ सय ३५ जना रहेका छन् ।

यसैगरी दंगीशरण गाउँपालिकामा एक हजार ९१ जना, लमही नगरपालिकामा तीन हजार तीन सय ३२ जना, राप्ती गाउँपालिकामा दुई हजार आठ सय १२ जना, गढवा गाउँपालिकामा दुई हजार ८६ जना र राजपुर गाउँपालिकामा एक हजार तीन सय ६२ जनालाई खोप लगाउने प्रमुख आचार्यले बताए । कार्यालय प्रमुख आचार्यका अनुसार खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्य, घोराही–१४ का अध्यक्ष भानसिंह घर्तीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेलले गरेकी थिइन् ।