calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

घोराहीमा करवृद्धिको बिरोधमा कांग्रेस घोराहीद्वारा ज्ञापनपत्र

घोराही, २२ माघ । नेपाली कांग्रेस घोराही नगर समितिले घोराही उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷०८२ मा गरेको करवृद्धिको बिरोधमा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सम्पती कर र भूमी करमा गरिएको वृद्धिले जनतालाई मारमा पर्ने काम गरेको भन्दै सच्याउन माग गर्दै कांग्रेस घोराही नगर समितिले मंगलवार ज्ञापनपत्र बुझाएको हो । करमा गरिएको वृद्धि नसच्याइए थप संघर्षका कार्यक्रम गर्ने नेपाली कांग्रेस घोराही नगर समितिले जनाएको छ ।

ज्ञापनपत्रमा घोराही उपमहानगरपालिकाले सम्पत्ति कर र भूमि करको दर शीर्षक अन्तर्गत भूमि कर अनुसूची –१ दफा (२) र (३) संग सम्बन्धित कर वृद्धि र व्यवसायिक कर अनुसूची–३ दफा ५ संग सम्बन्धित सबै व्यवसायमा अधिकतम करवृद्धि हुनुले स्थानीय सरकार जनतामुखी नभएर मनोमानी ढंगले चलेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतको हस्ताक्षरमा जारी ज्ञापनपत्रमा,‘स्थानीय निर्वाचन सम्पन्न भएको भन्दै अढाई वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निभाउँदै संगठनका गतिविधि निभाउँदा अमुख अमुख स्थानीयले सरकारले हामीलाई कमजोर ठान्नु कुनै नियत र दृष्टि सफा छैन कि भन्ने आभाष भएको छ ।’

साथै ज्ञापनपत्रमा नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टीको रुपमा रहेको नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षले उठाएका जनसवालको मुद्दालाई अविलम्ब पुनर्विचार नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख नरुलाल चौधरीले लामो समयपछि स्थानीय सरकारले करमा हेरफेर गरेको र यो कर जनताकै सेवाममा लाग्ने बताए । नगरको सुगम क्षेत्रमा विकास भएपनि ग्रामीण क्षेत्रमा अहिले पनि सडक, खानेपानी, सिचाई कुलालगायतका विकास निर्माणका कार्य गर्नका लागि घोराहीमा सात बर्षपछि करको दरमा हेरफेर गरिएको बताएका थिए ।

घोराहीमा दुई कार्यकाल आफु निर्वाचित भएको भन्दै नगर प्रमुख चौधरीले पहिलो कार्यकालमा करको दरमा कुनै हेरफेर नगरिएको र दोश्रो कार्यकालका रुपमा काम गर्दैगर्दा अहिले न्यूनतम २० रुपैयाँदेखि सय रुपैयासम्म वृद्धि गरिएको बताए । वृद्धि गरिएको यो कर नगरसभावाट सवैको सहमतिमा पास भएको भन्दै नगर प्रमुख चौधरीले बढेको कर नगरवासीकै सेवामा लाग्ने बताए ।

राजस्व बढाउने आफ्नो कुनै उद्देश्य नरहेको भन्दै नगर प्रमुख चौधरीले नगरवासी जनता वा व्यवसायीलाई साच्चिकै मर्का पर्ने गरि वृद्धि भएको भए छलफलका माध्यमबाट पुर्नविचार गर्न तयार रहेको बताए । ‘बिरोधका नाममा बिरोध गर्नका लागि मात्र होइन, विकास निर्माणका सवालमा नियमित खवरदारी आवश्यक छ । करको विषयमा तपाईहरुले उठाएर राम्रो गर्नुभएको छ’,नगर प्रमुख चौधरीले भने,‘अहिले मात्र होइन, विकास निर्माणका सवालमा निरन्तर रुपमा खवरदारी आवश्यक छ ।’

केन्द्रमा नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार रहेको भन्दै नगर प्रमुख चौधरीले स्थानीय तहमा पनि मिलेर अघि बढ्न सकिने बताएका थिए । ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतसँगै उपप्रमुखका उम्मेदवार भुपमबहादुर डाँगी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, नेपाली काग्रेस क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठलगायत नेपाली कांग्रेस जिल्ला,प्रदेश र नगर कार्यसमितिका सदस्य, वडा सभापतिलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।