जीवन उपयोगी शिक्षा आवश्यक : मन्त्री न्यौपाने

भवन विद्यालयलाई हस्तान्तरण
गोरक्ष समाचारदाता
दाङ,२२ माघ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सामुदायिक विद्यालयहरु बढि जिम्मेवार बन्नु पर्ने बताएका छन् ।
सामुदायिक विद्यालयमा विद्यार्थीहरुको खस्कदो संख्याले राज्यले शिक्षा क्षेत्रमा गरिरहेको लगानी खेर गइरहेको पुष्टि गरेको भन्दै मन्त्री न्यौपानले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानुको एकिन कारण पहिल्याउनु जरुरी रहेको बताए । साथै उनले यो कारण पहिल्याएर समाधानको उपाय खोज्न सबै लाग्नु पर्नेमा जोड समत दिए ।
‘सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै जानुका कारणहरु मिहिन रुपमा खोज्नु पर्ने बेला भएको छ,’ घोराही उपमहानगरपालिका–१३ सेवार वनगाउँमा रहेको बराहक्षेत्र माध्यामिक विद्यालय भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले भने ‘विद्यार्थीको आकर्षण कसरी बढाउन सकिन्छ भन्ने योजना बनाउनका लागि पनि कारण पहिल्याउनु जरुरी छ ।’
यसैगरी मन्त्री न्यौपानले केहि सामुदायिक विद्यालयहरुले विद्यार्थीको आकर्षण अधिक बढाइरहेको भन्दै यस्ता सामुदायिक विद्यालयरुको शैक्षिक गतिविधी बारे जानकारी लिनु पर्ने समेत बताए । ‘हाम्रै देशका केहि स्थानका सामुदायिक विद्यालयहरु नीजि विद्यालय भन्दा अब्बल छन्, विद्यार्थीहरुको अधिक घुइचो छ,’ मन्त्री न्यौपानेले भने ‘यस्ता विद्यालयरुको शैक्षिक गतिविधीका बारेमा अन्य सामुदायिक विद्यालयहरुले जानकारी लिनु पर्छ, ताकि ति विद्यालयहरुबाट सिकेको सिकाइले सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण बढाउन सक्छन् ।’ समय सापेक्ष शिक्षण सिकाइले जिवनउपयोगी शिक्षा प्रदान गर्न सक्ने भन्दै मन्त्री न्यौपानेले पुरातन शिक्षण सिकाईले उपलब्धी हासिल नहुने समेत बताए ।
घोराही उपमहानगरपालिका–१३ सेवार बनगाउँमा रहेको बराहक्षेत्र माध्यामिक विद्यालयमा निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर श्रीमद्भागवत विराट ज्ञान महायज्ञबाट संकलित दानबाट निर्माण गरिएको दुई तले आठ कोठे भवनको उद्घाटन गरिएको हो । माध्यामिक तहसम्म पढाई हुने विद्यालयको भवन जीर्ण भएपछि २०७५ साल माघको ३ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सञ्चालन गरेर एक करोड आर्थिक संकलन गरिएको थियो ।
श्रीमद्भागवत विराट ज्ञान महायज्ञका निर्देशक तथा भवन निर्माण समितिका अध्यक्ष प्रा.डा. अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले नवनिर्मित भवनको उद्घाटनसँगै विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगी, शिक्षक अभिभावक संघका अध्यक्ष पञ्चराम सुनार र विद्यालय व्यवस्थापन समितिका सदस्य देवराज वलीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका–१३ का अध्यक्ष डुल्लुराम पोख्रेल,नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगी, स्थानीय समाजसेवी कुलबहादुर घर्ती, मित्रलला भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयको भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न दानदाताहरुलाई सम्मान गरिएको थियो । श्रीमद्भागवत विराट ज्ञान महायज्ञका संयोजक तथा भवन निर्माण समिति सचिव बिमला योगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष भुपाल गिरीले महायज्ञमा संकलित दानसँगै खर्चको बारेमा जानकारी गराएका थिए । भवन हस्तान्तरण कार्यक्रमको सहजीकरण गोपाल भुसालले गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।