सङ्घीयताको मुल मर्म साकार पारौँ : प्रदेश प्रमुख घर्ती

लुम्बिनी प्रदेश आठौँ स्थापना दिवस
गोरक्ष समाचारदाता
दाङ, २२ माघ । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै सङ्घीयताको मूल मर्म रहेको बताएका छन् । लुम्बिनी प्रदेशको आठौँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेशसभाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख घर्तीले जनताको सेवकको रूपमा जनप्रतिनिधि रहेको भन्दै जनताभन्दा माथि कोही नहुने बताए । सङ्घीयताको मूल मर्मलाई साकार पार्न जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा उनले जोड दिए ।
‘जनताको शासन हुनुपर्छ, यहाँ जनता नै जनार्दन हुन्’,प्रदेश प्रमुख घर्तीले भने,‘जनताको भावना अनुसार नै काम कारबाही अघि बढ्नुपर्छ ।’ कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बिचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदाहरण दिन सफल भएको बताए ।
‘प्रदेश सरकारको उपादेयता र औचित्य, हाम्रो काम गराई, इमान्दारिता, सुशासन, सेवा प्रवाह एवम् स्थायित्व प्राप्त सरकारबाट मात्रै दिन सकिन्छ भन्नेमा हामीमा द्विविधा पक्कै पनि नहोला । प्रदेश सरकार तीन तहका सरकारका बिचमा पनि अब्बल बन्न सक्छ भन्ने उदाहरण हाम्रा धेरै कामले दर्शाएका छन्’,उनले भने,‘हामीले यस सात वर्षको अवधिमा प्रदेश सभा र प्रदेश सरकारबाट करिब ११० को संख्यामा कानुन निर्माण गरेका छौँ । यसबाट हामीलाई नेपालको संविधानबाट प्राप्त अधिकारको सीमाभित्र रहँदै प्रदेशका काम कारबाही अघि बढाउन, प्रदेश सकारको सञ्चालन र व्यवस्थापनका लागि कानुनी एवम् वैधानिक आधार तयार भएको छ ।’
प्रदेश तहमा अझैं धेरै कानुनहरू तर्जुमाको चरणमा रहेको, सङ्घीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नु पर्ने आवश्यकता रहेको भनाई मुख्यमन्त्री आचार्यको भनाई थियो । सङ्घीय सरकारसँगको सहकार्य, स्थानीय तहसँगको समन्वय सहितको सह–सम्बन्धबाटै प्रदेशको कार्य सञ्चालनलाई प्रभावकारी पार्न सकिने विश्वास व्यक्त गरे ।
‘प्रदेश सरकारका लागि समग्र लुम्बिनी प्रदेश साझा घर हो । यसभित्र बसोबास गर्ने सबै नागरिक हाम्रा दाजु भाइ दिदि बहिनी हुन्’,मुख्यमन्त्री आचार्यले भने,‘१०९ वटै स्थानीय सरकार हाम्रा लागि समान हक राख्ने हाम्रा आफ्नै अवयवहरू हुन् । यिनको बिचमा समान विकासका अवसर, बजेट, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पुल पुलेसा, कृषि, सिँचाइ, उत्पादन, रोजगारी, उद्यम, पर्यटन समेतका क्षेत्रमा स्थान विशेषका आधारमा विशिष्ट एवम् पृथक प्राथमिकता तर समान न्यायका साथ हाम्रो विकासको विनियोजन गर्नु पर्ने आवश्यकतालाई हामीले राम्ररी मनन् गरेका छौँ ।’
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह सङ्घीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नु पर्ने आवश्यक रहेको बताए । ‘सङ्घीय संरचनामा प्रदेश तह झनै नयाँ हो । पहिला कुनै न कुनै हिसाबले सङ्घीय र स्थानीय सरकार थिए । वास्तविक सङ्घीयताको अभ्यास गर्ने थलो प्रदेश तह हो’,उनले भने,‘सङ्घीय शासन प्रणालीलाई वास्तिक रूपमा आत्मसाथ गर्न जरुरी छ ।’
नेपाली कांग्रेसका दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन सङ्घीय सरकारले ध्यान दिनु पर्ने बताए । ‘गाली हामीले खानु पर्ने, अधिकार काठमाडौंमा राख्नु पर्ने’,उनले भने,‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो । तर, अझैं अधिकार माथि नै रह्यो ।’ प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनु पर्ने धारणा उनको छ ।
प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बिचमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए । ‘समृद्ध प्रदेशको लक्ष्य प्राप्ति गर्न प्रदेश सरकार सफल भएको छ । अझ यसलाई अघि बढाउन सबैको विचमा साझा प्रतिबद्धता र प्रयासको खाँचो छ’,उनले भने,‘ प्रदेशलाई कानुनी रूपमा बलियो बनाउन केही ऐनहरू अझैं बनाउन बाँकी छन् । ती ऐनलाई पूरा गर्ने जिम्मेवारी प्रदेश सरकारमा छ ।’
पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफूलाई अब्बल सावित गर्न अझै ऐतिहासिक कामलाई अघि बढाउन आवश्यक रहेको बताए । ‘प्रदेशको सुरुवाती दिनलाई सम्झदा र अहिलेलाई तुलना गर्दा धेरै ऐतिहासिक काम भएका छन् । इतिहासलाई जोगाई राख्नु पर्ने छ’, उनले भने,‘प्रदेश राजधानी कार्यान्वयन, प्रदेशको नामाकरण जस्ता विषयहरू प्रदेशले टुंग्याएर सङ्घीयताको सही कार्यान्वयनको उदाहरण दिन सक्यो । यो नै ठूलो उपलब्धी हो ।’ नेकपा एमाले संसदीय दल उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए । राजनीतिक अस्थिरता हटाउँदै प्रदेशलाई विकासको लयमा अघि बढाउन सफल प्रयासको थालनी भएको बताएका थिए ।
प्रदेश स्थापनालाई उत्सवका रूपमा मनाइएको थियो । प्रदेशसभा परिसर राप्ती उपत्यका (देउखुरी) मा भब्य रूपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरू राखेर सरकारले गरेका कामहरू सार्वजनिक गरिएको थियो । प्रदेशलाई बलियो र स्थापित बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन नै आजको आवश्यकता रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।
सङ्घीय शासन व्यवस्था लागु भए पनि प्रदेशलाई बलियो बनाउने सवालमा सङ्घीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा जोड थियो । तीन तहको सरकार मध्ये प्रदेश सङ्घीयताको बलियो आधार भएको, सङ्घीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा वक्ताहरूको जोड थियो ।
प्रदेश स्थाना दिवसमा ११ वटा विभिन्न झाँकीहरू प्रदर्शन गरिएका थिए । जसमध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलगायतले स्टलहरू राखेका थिए ।