आजदेखि किशोरीलाई एचपिभी खोप लगाइदै

गोरक्ष समाचारदाता
दाङ, २२ माघ । सरकारले आजदेखि किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।
विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन थालेको छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस भएकाले त्यसलाई रोक्नका लागि किशोरीलाई खोप लगाउन थालेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
खोल लगाउनका जिल्ला सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय प्रमुख किशोर आचार्यले जानकारी दिएका छन् । उनका अनुसार घोराही उपमहानगरपालिका–१४ स्थित मदरासा विद्यालयबाट दाङमा एचपिभी भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलगायतको उपस्थितिमा खोप कार्यक्रम बिहान ११ बजे शुभारम्भ गरिने छ ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा ३९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो ।
विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँचजना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरेर ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिएका छन् । कार्यालय प्रमुख आचार्यका अनुसार तीन सय ९१ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ४७ वटा खोप केन्द्र तोकिएको छ । जसमा चार सय ३५ वटा विद्यालयमा र १२ वटा विद्यालय बाहिर खोप केन्द्र छन् ।
कार्यालय प्रमुख आचार्यका अनुसार घोराहीमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ११ हजार नौ सय ५२ जना र विद्यालय बाहिर रहेका सात सय २६ जना गरेर १२ हजार ६ सय ७८ जना, बंगलाचुली गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ८१ जना र विद्यालय बाहिर रहेका २१ जना गरेर एक हजार तीन सय दुईजना किशोरीलाई खोप लगाइने छ ।
तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दश हजार पाँच सय ९९ जना र विद्यालय बाहिर रहेका आठ सय ४३ गरेर ११ चार सय ४२ जना, शान्तिनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार चार सय ४४ जना र विद्यालय बाहिरका ६६ जना गरेर एक हजार पाँच सय दशजना, बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार सात सय ८१ जना र विद्यालय बाहिरका ५४ जना गरेर एक हजार आठ सय ३५ जना, दंगीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत नौ सय ५१ जना र विद्यालय बाहिर रहेका एक सय ४० जना गरेर एक हजार ९१ जना, लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत तीन हजार दुई सय १४ जना र विद्यालय बाहिर रहेका एक सय १८ जना गरेर तीन हजार तीन सय ३२ जनालाई खोप लगाइनेछ ।
राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार सात सय १६ जना र विद्यालय बाहिर रहेका ९६ जना गरेर दुई हजार आठ सय १२ जना, गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार ३२ जना र विद्यालय बाहिर रहेका ५४ जना गरेर दुई हजार ८६ जना र राजपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ३५ जना र विद्यालय बाहिर रहेका एक सय २७ जना गरेर एक हजार तीन सय ६२ जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले बताए । आचार्यका अनुसार खोप आजदेखि फागुनको ६ गतेसम्म सञ्चालन हुने भएको छ । देशभरका १६ लाख ८८ हजार ६ सय ६८ जना किशोरीलाई खोप लगाइने भएको छ ।