उत्पादन भयो ‘मुर्रा’को विर्य, स्थानीय सरकार बेखबर

खेमराज रिजाल
दाङ, २१ माघ । तुलसीपुर उपमहानगरपालिका–१७ का व्यवसायी भैँसी पालक किसान डिल्ली बुढाथोकी भैसीँलाई गाभिन बनाउन राँगो नपाएर हैरान छन् । प्राकृतिक गर्भाधान अनिश्चित छ भने कृत्रिम गर्भाधानको पनि सहज पहँुच उनीसँग छैन । त्यसैले अहिले उनी दिक्क छन् । कृत्रिम गर्भाधान गराउने प्राविधिकले कम्तिमा हजार रुपैयाँ लिन्छन्, तैपनि त्यसमा उनी विश्वस्त छैनन् । उनको यो समस्या स्थानीय सरकारले सुनिरहेको छैन ।
तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर स्थित अर्का व्यवसायी पशुपालक किसान नरबहादुर केसी त एउटा पशुपालक फर्म खोलेरै यसलाई व्यावसायिक बनाउन तल्लीन छन् । उनले उन्नत जातका गाई तथा मुर्रा भैँसी पालेका छन् तर भैँसीलाई उनले परम्परागत रूपमा गाउँको राँगाले काम चलाउदै आएका छन् । नश्ल सुधार गरी धेरै दुध उत्पादन गर्न उनलाई न स्थानीय सरकारले सहजीकरण गरेको छ न त प्रदेश सरकार र संघ सरकारले नै । कामचलाउ व्यावसायिक मात्र बनेका छन्, नरबहादुर ।
गाईहरूमा कृत्रिम गर्भाधान गराउँदै आए पनि आफूजस्ता किसानले यही शीर्षकमा कम्तिमा एक हजार खर्च गर्नुपरेको उनको गुनासो छ । उनले उन्नत जातका गाई र भैँसी गरी करिब आधादर्जन पशुचौपाया पालेका छन् । ती चौपायाबाट उत्पादन भएको दुध बेच्न उनले मोटरसाइकलमा धेरै किलोमिटर यात्रा गर्छन् तर सरकारी अनुदार नीतिका कारण उनी यही पेसाबाट गुजारामुखी बन्नसकेका छैनन् । नश्ल सुधारका लागि तत्कालीन प्रधानमन्त्रीले भारत सरकारबाट अनुदानमा प्राप्त राँगाको विर्यको खोजीमा छन् उनी, तर कहाँबाट कसरी ल्याउने भन्नेबारे उनी बेखबर छन् ।
यसरी नै तुलसीपुर उपमहानगरपालिका–६ स्थित लक्ष्मी सेवा पशुपालन एग्रो फर्मका सञ्चालक डम्बर डाँगीले पनि करिब दुई दर्जन जति गाईभैँसी दुधका लागि व्यावसायिक रूपमा पालन गर्दै आएका छन् । आवश्यक परेका बेला ती पशुचौपायालाई प्राकृतिक गर्भाधान गराउने राँगा र बहर उनको फर्ममा छैनन् । उनले पनि पछिल्लो एकदशक यता पशु प्राविधिकमार्फत् प्रतिचौपाया एक हजार रुपैयाँ तिरेर कृत्रिम गर्भाधान गराउँदै आएका छन् ।
‘पैसा खर्च त हुन्छ नै, आवश्यक परेको उपयुक्त समयमा कृत्रिम गर्भादान गराउने पशु प्राविधिक पाउनै मुस्किल पर्छ, समय गुज्रिए गर्भै नबस्ने जोखिम रहन्छ’, डाँगीले भने । यद्यपि उनले पनि भारतबाट आएका मुर्रा राँगाको विर्य उत्पादन भएर बजारमा आए–नआएको भन्नेमा जानकार छैनन् । डम्मर, डिल्ली र नरबहादुर जस्ता सयौँ व्यावसायिक किसानहरू दाङमा छन् तर उनीहरूलाई नश्ल सुधारको अभियान अन्तर्गत उन्नत जातका पशुहरूको कृत्रिम गर्भाधान गराउने सन्दर्भमा पहुँच पुग्नसकेको छैन । यसले पशुपालक किसानलाई निरुत्साहित बनाएको छ ।
नेपाललाई कृषि प्रधान देश भनिन्छ । कृषि क्षेत्रको उत्थानबाटै यहाँको आर्थिक समृद्धिले फड्को मार्न सक्छ भन्ने विश्वास गरिन्छ तर संघ, प्रदेश र स्थानीय सरकार भने किसानको व्यावसायिक समृद्धिका सन्दर्भमा हल्का रूपमा सम्बोधन गरिरहेका छन् । यो क्षेत्रमा यहाँका पालिकाले आवश्यक बजेट र कार्यक्रमसमेत ल्याउनसकेका छैनन् । अधिकांश स्थानीय सरकारहरू भौतिक निर्माणबाटै आर्थिक समृद्धि खोज्न अभ्यस्त छन् । यद्यपि यसले मुलुकको अर्थतन्त्रलाई गम्भीर आघात पुगिरहेको योजनावेत्ता तथा प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा नहकुल केसीले भने ।
‘जबसम्म किन्नेभन्दा बेच्ने वस्तुको प्रवर्धनमा मुलुक पुग्न सक्दैन, त्यो बेलासम्म यहाँको आर्थिक समृद्धिको परिकल्पना गर्न सकिंँैन, वैदेशिक रोजगारीमा गएकाहरूको रेमिट्यान्सले मात्र मुलुकको स्थायी आर्थिक समृद्धि हासिल हुन सक्दैन’, योजनाविद् डा केसीले भने । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा जाँदा उपहार स्वरूप ल्याएका मुर्राबाट केही हदसम्म आर्थिक वृद्धिदर बढाउन सकिने उनको स्वाभाविक तर्क थियो । किनकि उन्नत जातको राँगाको विर्यबाट गाभिनी हुने पशु चौपायाले साविकको भन्दा धेरै गुणा बढी दुध दिनसक्ने प्राविधिक प्रमाणित तथ्य हो ।
तत्कालीन प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट फर्कँदा १५ वटा राँगा ल्याएका थिए, नश्ल सुधारको अभियानका लागि । एउटा राँगाबाट उपयुक्त वातावरण भएमा कम्तिमा १० हजार भैँसीलाई कृत्रिम गर्भाधानका लागि प्रयोग गर्न सकिने विर्य उत्पादन वार्षिक रूपमा हुन्छ । ती राँगामध्ये ५ वटा सिराहाको लाहन स्थित पशु प्रजनन् केन्द्रमा विर्य उत्पादनका लागि लगिए । सातवटा राँगा पोखरा स्थित पशु प्रजनन् केन्द्रमा लगेर विर्य उत्पादन भइरहेको छ । तीनवटा राँगाहरू पश्चिम नेपालका किसानलाई सेवा दिने उद्देश्यले बाँके खजुरा स्थित पशु प्रजनन् केन्द्रमा ल्याएर ती राँगाबाट विर्य उत्पादन समेत भइसकेको छ तर त्यहाँ उत्पादन भएको विर्यलाई यहाँ ल्याएर प्रयोग गर्ने सन्दर्भमा जिल्लाका कुनै पनि स्थानीय सरकारको पहलकदमी भएको देखिएको छैन ।
‘पशु प्रजनन् केन्द्र खजुरामा ल्याइएका तीनवटा राँगामध्ये दुईवटा राँगाबाट कृत्रिम गर्भाधानका लागि विर्य उत्पादन भएर परीक्षण समेत भइसकेको छ, यसलाई सबै पालिकामा लैजान स्थानीय सरकार जागरुक हुनुपर्ने हो तर तपाईँको दाङका कुनै पनि पालिकाले यो विषयमा चासो लिएका छैनन्’, पशु प्रजनन् केन्द्र बाँके खजुराका प्राविधिक सुरेश वलीले गोरक्षलाई भने । त्यहाँ ल्याइएका दुईवटा राँगाबाट कृत्रिम योनीको प्रयोग गरी दुईवटाबाट विर्य उत्पादन सुरु भइसकेको उनले बताए । बाँके नजिकका केही पालिकाका कृषि शाखाहरूले निःशुल्क रूपमा यो विर्य लगेर परीक्षण समेत गरेका छन् । यद्यपि बच्चा पाउन भने अझै बाँकी रहेको प्राविधिक वलीको अभिव्यक्ति थियो ।
वडास्तरमै कृत्रिम गर्भाधानको सेवाका लागि स्थानीय सरकारले प्राविधिक र निःशुल्क रूपमा कृत्रिम गर्भाधान गराउने विर्यको व्यवस्थापन गर्न सके आफूजस्ता धेरै किसानलाई राहत हुने व्यावसायिक पशुपालक किसानका भनाइ छ । ‘वर्षमा दुई÷तीन लाख रुपैयाँ मात्रै व्यवस्थापन गर्नसके पनि यो सेवा निःशुल्क उपलब्ध गराउन सहज हुने रहेछ’, लमही नगरपालिका प्रमुख जोगराज चौधरीले भने । हरेक स्थानीय पालिकामा कृषि तथा पशु महाशाखाहरू छन् तर ती शाखाहरूले किसानलाई कृषिऔजार र अनुदानको बिउ उपलब्ध गराउनेबाहेक किसानमैत्री कुनै कार्यक्रम सञ्चालनमा ल्याउन सकेका छैनन् ।
यही कारण घोराहीदेखि तुलसीपुर क्षेत्रसम्म कृत्रिम गर्भाधान गराउन सक्षम एकजना प्राविधिक प्रेम घर्तीमार्फत् नै यहाँका किसानले कृत्रिम गर्भाधानको सेवा लिइरहेका छन् । यसले प्राविधिकले जोखिम मोलेर काम गर्न बाध्य छन् । ‘जुन बेला पशुचौपायालाई कृत्रिम गर्भाधान गराउनुपर्ने हुन्छ, त्यो बेला रात–दिन नभनी किसानको घरमा पुग्नुपर्ने बाध्यता छ, यसले पेसागत सुरक्षामा गम्भीर चुनौती छ’, कृत्रिम गर्भाधान गराउँदै आएका पशु प्राविधिक प्रेम घर्तीले भने । सरकारले आफू जस्ता निजी क्षेत्रका पशु प्राविधिकलाई बिमाको व्यवस्था गरिदिए राम्रो हुने घर्तीको सुझाव छ ।
कृत्रिम गर्भाधानको सेवालाई तलसीपुर उपमहानगरपालिकाले पनि भारतबाट ल्याएका मुर्राको विर्य किसानको माग अनुसार पु¥याउन कुनै पहलकदमी अघि सारेको छैन । ती भारतीय मुर्राको विर्य उत्पादन भएको भन्ने सुनेको तर यहाँका पालिकामा अझै आई नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख डा मनोज वलीले बताएका छन् । स्रोतको अभावका कारण कृत्रिम गर्भाधानको सेवालाई उपमहानगरपालिकाले निःशुल्क गर्न नसकेको बताए । अहिले कृषिलाई आधुनिकीकरण एवम् यान्त्रिकीकरण गरिएसँगै राँगा बहरहरू समेत हराउँदै गएकाले अधिकांश व्यावसायिक पशुपालक किसानलाई यसको विकल्पका रूपमा कृत्रिम गर्भाधान नै गराउनुपरेको छ । यद्यपि मुर्रा राँगाको विर्य ल्याउने सन्दर्भमा भने कुनै पनि स्थानिय सरकारको ध्यान जानसकेको छैन ।