calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

शिक्षा नीतिमा सुधार आवश्यक : मन्त्री तिमिल्सिना

गोरक्ष समाचारदाता
दाङ, २० माघ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले देश विकासका लागि समय अनुकूल शिक्षा नीति आवश्यक रहेको बताएका छन् । घोराही उपमहानगरपालिका–१२ स्थित हापुर माध्यमिक विद्यालय निघुवारको ७७औँ वार्षिकोत्सव तथा अभिभावक मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले रोजगारीका लागि बिदेसिने युवालाई स्वदेशमै रोक्ने गरी पुरानो शिक्षा नीतिमा सुधार गर्न आवश्यक भएको बताएका हुन् ।

देश विकाससँगै रोजगारीका अवसर सिर्जना गर्न शिक्षाको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । बदलिँदो समयानुकूल शिक्षा नीति बन्न नसक्दा लुम्बिनीमा शिक्षाको अवस्था कमजोर रहेको भन्दै यसको सुधारका लागि आपूm लागिरहेको बताए । ‘गत वर्षको एसइई परीक्षामा ८० हजार तीन सय २७ जनाले परीक्षा दिएकोमा ३९ प्रतिशत अर्थात ३१ हजार एक सय छ जना विद्यार्थी उत्तीर्णले प्रदेशको कमजोर अवस्था देखिएको छ’, मन्त्री तिमिल्सिनाले भने, ‘त्यसमा पनि सामुदायिक विद्यालयमा करिब २८ प्रतिशत मात्रै उत्तीर्ण भएकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा व्यापक ध्यान दिनुपर्छ ।’

शिक्षा क्षेत्रमा सुधार गर्न आपूm लागिरहेको भन्दै मन्त्री तिमिल्सिनाले भने, ‘देशको मूलव्यवस्था सुधारका लागि शिक्षाको अवस्था सुधार गर्न आवश्यक छ । हामीले प्रदेशबाट त्यसको प्रयास गरिरहेका छौँ, स्थानीय तहहरूले पनि सुधारका लागि प्रयास थाल्नुपर्छ ।’ शिक्षाको गुणस्तर सुधारका लागि समयानुकूल शिक्षा, भौतिक पूर्वाधार विकाससँगै अभिभावक र समुदायको पनि विद्यालयाई साथ हुनुपर्ने बताए ।

७७ वर्ष पुरानो विद्यालयले शैक्षिक विकासका लागि महत्वपूर्ण योगदान दिँदै आए पनि भौतिक पूर्वाधारका हिसाबले कमजोर रहेको भन्दै भौतिक पूर्वाधार विकासमा सहयोग गर्नेमन्त्री तिमिल्सिनाले बताए । ‘समुदायमा राजनीतिक रूपमा तेरो मेरो भनेर विभाजित हुँदा विकास हुन सक्दैन’, मन्त्री तिमिल्सिनाले भने, ‘राजनीतिक रूपमा विभाजित भए पनि विकासका लागि सबै एक ठाउँमा उभिनुपर्छ ।’

विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने अन्य वक्ताले जिल्लाकै दोस्रो पुरानो विद्यालय भएको र शैक्षिक गुणस्तर विकासमा महत्वपूर्ण योगदान रहे पनि राज्यको सहयोग प्राप्त गर्न नसक्दा जीर्ण भवनमा विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता रहेको बताएका थिए । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वय आवश्यक रहेको सहभागीले जोड दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा घोराही–१० का वडाध्यक्ष दीपक पाण्डेय, वडा नं. ११ का अध्यक्ष कुलबहादुर लामिछाने, वडा नं. १२ का अध्यक्ष द्रोण बहकरी, समाजसेवी भरतबहादुर न्यौपाने, हापुर मावि रतनपुरका सहायक प्रधानाध्यापक सुरेश गौतम, समाज विकास केन्द्रकी अध्यक्ष निर्मला गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार न्यौपानेले प्रगति प्रतिवेदन तथा अध्यक्ष बासुदेव गौतमले भौतिक अवस्थाबारे जानकारी गराएका थिए ।

शिक्षक हेमन्त गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शारदा घर्तीले गरेकी थिइन् । विसं २००४ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ । विद्यालयमा छ सय बढी विद्यार्थी अध्ययनरत छन् । वार्षिकोत्सवको अवसरमा शिक्षक तथा विद्यार्थीले तृत्य प्रस्तुत गर्नुका साथै उत्कृष्ट शिक्षक, अभिभावक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो । अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।