युनाइटेड एकेडेमीको १८औँ वार्षिकोत्सव
गोरक्ष समाचारदाता
तुलसीपुर, २१ माघ । तुलसीपुर उपमहानगरपालिका–३ दमारगाँउमा रहेको युनाइटेड एकेडेमीको १८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष बिमल गौतमको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको प्रमुख आतित्थ्यता एवम् नेशनल प्याब्सनका केन्द्रीय सदस्य भीमबहादुर बुढाथोकी र जिल्ला अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले ग्रामीण क्षेत्रमा निजी विद्यालय सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण रहेको भन्दै त्यसलाई चिरेर विद्यालयले दिएको गुणस्तरीय शिक्षाले बालबालिकाको भविष्य उज्ज्वल भएको भन्दै प्रशंसा गरेका थिए ।
अध्यक्ष केसीले निजी विद्यालयले गुणस्तरीय शिक्षामार्फत् सरकारको ठुलो दायित्वबोध गरिदिएको हुँदा सरकारी तवरबाट पनि निजी विद्यालयहरूलाई सहुलियत दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथिद्वय बुढाथोकी र न्यौपानेले निजी लगानीमा सञ्चालित प्राइभेट स्कुलका कारण नेपालको शिक्षा माथि उठेको भन्दै राज्यबाट दिने सेवासुविधाबाट भने वञ्चित गरेको बताए ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष झरेन्द्र खरेल, वन महासंघ तुलसीपुुरका अध्यक्ष रक्षा काफ्ले, रिपोट्र्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसी, प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारी, लुम्बिनी सेरोफेरो अनलाइनका सम्पादक आशीष केसी, अभिभावक दीपक खड्का, जीवनप्रेमी बोर्डिङ स्कुलका प्रिन्सिपल तिलक हमाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
वार्षिकोेत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीले विभिन्न आकर्षक गतिविधि प्रस्तुत गरेका थिए । विद्यार्थीले समसामयिक विषयहरूमा आफ्ना विचार प्रस्तुत गर्ने वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी, विविध संस्कृति झल्कने सांस्कृतिक नृत्य, सङ्गीत, चित्रकला, नाटक तथा कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगिताको विजेतालाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो भने वर्ष उत्कृष्ट शिक्षकमा सिर्जना वली र वर्ष उत्कृट अभिभावकबाट धनी सोमई र प्रतीक परियार सम्मानित भएका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका पूर्वप्रिन्सिपल कुलदीप गौतमले गरेका थिए ।