एचपिभी खोप अभियान सफल पार्नुपर्नेमा जोड

गोरक्ष समाचारदाता
तुलसीपुर, २० माघ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तुलसीपुरमा सञ्चालन हुन लागेको एचपिभी खोप अभियान २०८१ लाई सफल पार्न सबैले सहयोग गनुपर्ने बताइएको छ । तुलसीपुर उपमहानगरपालिका खोप समन्वय समिति जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा तुलसीपुरमा आयोजना गरिएको नगरस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीले यस महान अभियानलाई सफल पार्नुपर्ने बताएका थिए ।
तुलसीपुर उपमहानगरपालिका खोप समन्वय समितिका अध्यक्ष नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको पदाधिकारी, पत्रकार र सरोकारवालाबिच भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन भानुज्योति वलीले नेपालमा पाठेघरको मुखको क्यान्सर पछिल्लो समयमा बढ्दै गएको भन्दै हरेक वर्ष दुई हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको बताए । महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको उनले बताए ।
कार्यक्रमबारे जानकारी गराउँदै जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप देशैभर एकैसाथ अभियानको रूप लगाइन लागिएको बताए । उनले २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको यस अभियानलाई सबैले साथ दिन आवश्यक रहेको बताए । उनले तुलसीपुरमा पनि माघ २२ देखि ३० सम्म तुलसीपुरमा कार्यक्रम सञ्चालन हुने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीले जानकारी दिए ।
तुलसीपुरमा एक सय खोपकेन्द्रमा एक सय २२ जना स्वास्थ्यकर्मी र दुई सय ३७ जना स्वयम्सेवक र शिक्षक परिचालन गरिने बताए । त्यस्तै १० हजार तीन सय २७ जना कक्षा ६ देखि १० सम्मका किशोरी र विद्यालय बाहिर हुने १० वर्षदेखि १४ वर्ष मुनिका एक हजार १२ जनालाई खोप दिइने केसीले जानकारी गराएका थिए ।
महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउन सबैको महत्वपूर्ण भूमिका रहनुपर्ने कार्यक्रममा नगर प्रमुख खड्काले बताएका थिए । उनले यसको महत्व सबैले बुभ्mनुपर्ने बताए । यसैगरी उपप्रमुख स्यानी चौधरीले रोग लाग्नुभन्दा लाग्न नदिन यो अभियान सुरु गरिएको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् ।
बालरोग विशेषज्ञ डा. किशोर खत्रीले यस महान अभियानमा सम्पूर्ण सरोकारवाला सहभागी भई सफल बनाउन सबैको दायित्व र कर्तव्य निर्वाह गर्नुपर्ने बताए । उनले एचपिभी एक प्रकारको भाइरस रहेको र यो ह्युमन प्यापिलोमा भाइरस रहेको बताए । कार्यक्रममा पूर्वजनप्रतिनिधि नवराज लामिछाने, प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष रुद्रमणि शर्मा, पत्रकार सुनिल पोख्रेल, यज्ञ बुढालगायतले अभियानालाई सफल पार्न सबै एकजुट हुनुपर्ने बताए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीले गरेका थिए ।