सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि अपरिहार्य : मन्त्री न्यौपाने

गोरक्ष समाचारदाता
दाङ, २१ माघ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि अपरिहार्य रहेको बताएका छन् । सामुदायिक विद्यालयका शैक्षिक स्तर खस्किँदै गइरहेको भन्दै मन्त्री न्यौपानेले सामुदायिक विद्यालयको पठनपाठनमा नयाँ शैली आवश्यक रहेको बताए ।
‘हिँजोको पुरानो शिक्षा प्रणालबाट सामुदायिक विद्यालयहरूको पठनपाठन माथि उठ्न सकेको छैन’, घोराही उपमहानगरपालिका–७ सौँडियार स्थित मावि सौँडियारको ५१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले भने, ‘यसर्थ अहिले सामुदायिक विद्यालयको पठनपाठनप्रति विश्वास कमजोर बन्दै गइरहेको अवस्था छ, यसका लागि सामुदायिक विद्यालयका शैक्षिक प्रणाली बदलिनु जरुरी छ ।’
विद्यार्थीलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्तिका रूपमा तयार पार्ने दायित्व शैक्षिक थलोहरूको रहने भन्दै मन्त्री न्यौपानेले यसका लागि सामुदायिक विद्यालयले गाम्भिर्यता देखाउन जरुरी रहेको बताए । उनले वर्तमान परिवेश सुहाउँदो तथा सिपमूलक एवम् प्रविधिमैत्री शिक्षणलाई जोड दिइनुपर्ने भन्दै विद्यार्थीको चाहना अनुसारको शिक्षा अहिलेको आवश्यक रहेको बताए ।
‘विद्यार्थीको चाहना के हो ? यो बुझाइ हुनु जरुरी छ’, मन्त्री न्यौपानेले भने, ‘यसैगरी गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा विद्यालयले गाम्भिर्यता देखाउन जरुरी छ ।’ यस क्रममा विद्यालयको हाताभित्र सभाहल निर्माणका लागि मन्त्री न्यौपानेले शिलान्यास समेत गरेका छन् भने विद्यालयका तीन संस्थापकको शालिक समेत अनावरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा मन्त्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक, विद्यालयलाई सहयोग गरेका विभिन्न दातालाई सम्मान समेत गरिएको थियो । विद्यालयमा करिव छ सय बढी अट्ने सभाहल निर्माण हुन थालेको छ । उक्त सभाहल निर्माणका लागि विद्यालयले केही समय अघि महायज्ञ लगाएर आर्थिक सङ्कलन गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, वडाध्यक्ष खोपीराम चौधरी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भीमप्रका शखड्का, बुद्धिप्रकाश चौधरी, राप्रपाका तिलकराम आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक सुमित्रा योगीले स्वागत नृत्य प्रस्तुत गरेको कार्यक्रममा शालिक निर्माणकर्ताहरु, उत्कृष्ट अभिभावक सुशीला बस्नेत, उत्कृष्ट शिक्षक बावदेव पोख्रेल, सावित्रा पाण्डेय, स्मारिका लेखनमा सम्पाद नगर्ने शिक्षक नारदप्रसाद भण्डारी, विज्ञान तथा खेल प्रदर्शनी संयोजन गर्ने शिक्षक नरेश पौडेल, अक्षयकोषदाता खेमराज शाह, गौरवकुमार लामिछानेलगायतलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
विद्यालयमा स्थापित विभिन्न १६ वटा पुरस्कारबाट विद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्ने जेहेनदार, गरिब जनजाति अपाङ्गता भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले बिभिन्न विज्ञान कला प्रदर्शन, पाककला प्रदर्शन तथा गीत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक विष्णुराज चौधरीले गरेका थिए ।