युवा जनशक्तिको उपयोगबाट विकास सम्भव : मन्त्री तिमिल्सिना

घोराही, २० माघ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले युवा जनशक्तिको उपयोगबाट देश विकास सम्भव रहेको बताएका छन् । नेपाली कांग्रेस दाङले आइतवार घोराहीमा आयोजना गरेको बधाई, स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले युवा जनशक्तिको उपयोगबाट मात्रै देश विकास सम्भव रहेको बताए । देशलाई विकासको सही बाटोमा हिँडाउन जनसांख्यिक लाभको अधिकतम उपयोगमा ध्यान दिनुपर्ने बताएका छन् ।
करिव एक करोड २४ लाख जनसांख्यिक लाभमा पर्ने १६ देखि ४० वर्ष उमेर समुहका युवाहरु नेपालमा रहेको बताउँँदै मन्त्री तिमिल्सिनाले यसको दीर्घकालीन उपयोगका विषयमा सरकारले ठोस योजना ल्याउन ढिलाई गर्न नहुने बताए । अध्ययन गरेर रोजगारमा जोडिने बेला युवा जनशक्ति विदेश जाने गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री तिमिल्सिनाले युवालाई पढिकेपछि आफ्नै ठाउँमा रोक्ने गरि शिक्षा नीतिमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।
देश विकासको सिंगो प्रणालीलाई संचालन गर्ने प्रमुख हतियार शिक्षा रहेको भन्दै मन्त्री तिमिल्सिनाले भने,‘शिक्षा नीतिलाई समय अनुकुल सुधार र परिस्कृत गर्दै अघि बढ््न सके मात्र देशको समृद्धि हुन सक्छ । यहि अवस्था रहिरहने हो भने अवको तीस बर्षपछि देशमा युवा जनशक्ति भेटाउनै समस्या पर्ने अवस्था आउन सक्छ रु’ युवालाई रोजगारी, प्रविधि, पर्यटन, शिक्षासँग जोड्दै समृद्धिका लागि अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।
‘निश्चित समयमा गरिनुपर्ने काममा राज्यले ढिलाई गर्यो भने यसको असर चौतर्फी रुपमा पर्छ । युवाहरुलाई देशमै उपयोग गर्न र लाभ उठाउन ढिलाई गर्नु हुँदैन । युवालाई रोजगारी, प्रविधि, पर्यटन, शिक्षालगायत क्षेत्रमा जोड्न जरुरी छ’, मन्त्री तिमिल्सिनाले भने,‘शिक्षामा गुणस्तर कायम गर्दै युवा जनशक्तिलाई भरपुर उपयोगमा प्रदेश सरकारले अहिले ध्यान दिएको छ । यसका लागि शिक्षामा सुधारको प्रयास भइरहेको छ ।’
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नेता समेत रहेका तिमिल्सिनाले पार्टीभित्र भएको व्यक्तिगत तिक्ततालाई विर्सेर नेताहरु संगठन निर्माणमा लाग्नुपर्ने बताए । देशको विकास गर्ने र जनताको आशा र भरोसाको पार्टी भनेकै नेपाली कांग्रेस भएको भन्दै मन्त्री तिमिल्सिनाले कांग्रेसले जनतालाई त्यसको विश्वास दिलाउन सक्नुपर्ने बताए । निर्वाचनमा जित्नलाई हार्ने सहयोग गर्ने र जित्नेलाई हार्नेलाई मिलाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै उनले व्यक्तिगत रुपमा बिमती भएपनि पाटी संगठन निर्माणमा मिलेर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेयले जनतालाई राहत र पाटीलाई फाइदा पुग्ने गरि काम गर्न आग्रह गरेका थिए । नेपाली काग्रेस दाङका उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्य तथा अर्का उपसभापति गिरिराज सुवेदीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव बालिका लम्सालले गरेकी थिइन ।