calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

तुलसीपुरमा डाटा प्रोफाइल सार्वजनिक

गोरक्ष समाचारदाता
तुलसीपुर, २० माघ । तुलसीपुर डाटा प्रोफाइलको नगर प्रमुख टीकाराम खड्काले अनावरण गरेका छन् । डाटा प्रोफाइल अनावरण कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै नगर प्रमुख खड्काले अहिलेको जमानामा विगतको जस्तो तमसुकको शैलीमा अगाडि बढ्न सम्भव नभएको बताए ।

काम पारदर्शी, जवाफदेही, कर्तव्यबोध गर्न सिकाउने प्रविधिमैत्री प्रणाली आजको आवश्यकता रहेको उनले बताए । ‘तुलसीपुरलाई स्मार्ट नगर’ बनाउन अव प्रविधिमा जानैपर्छ, डाटाहरूमा हामी खेल्न सिक्नैपर्छ’, उनले भने, ‘हाम्रा डाटाहरूको सहयोगबाट अमेरिकामा बस्ने मानिसले पनि आफैँ प्रक्रिया पूरा गरी काम गर्नसक्ने अवसर छ ।’

सुरुमा इ–सेवाबाट जोड्दा पनि घरबाटै काम गर्न धेरैलाई सजिलो भएको भन्दै अब पहिले जस्तो हस्तलिखित काम गर्नुभन्दा प्रविधिमैत्री बन्न सबैले लाग्नुपर्ने जोड दिए । काम छिटो छरितो हुने, सजिलो हुने, घरैबाट काम गर्न सकिने, आवश्यक तथ्य र तथ्याङ्कबाट आवश्यक सामग्री खोज्न सजिलो हुने हुँदा अब तुलसीपुरले सबै सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने उनले बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व नगर प्रमुख घनश्याम पाण्डेले अहिलेको जमानामा जो व्यक्तिसँग डाटा छ त्यो सबैभन्दा शक्तिशाली बनेको बताए । आफू निर्वाचित भएपछि तुलसीपुरलाई स्मार्ट सिटीको अवधारणा अनुसार विकास गर्न खोजेको तथा सूचना प्रविधिमा लैजान खोजेको भए पनि यतिखेर एकीकृत तथ्याङ्क प्रणाली लागु गर्ने तुलसीपुर नेपालकै पहिलो स्थानीय तह भएकोमा खुसी व्यक्त गरेका थिए ।

तथ्यपरक तथ्याङ्कमा टेकेर काम गर्दा धेरै सजिलो हुने गरे पनि तथ्याङ्क तथ्यपरक नभए त्यो मिथ्याङ्क मात्रै सावित हुने हुँदा अपडेट आवश्यक रहेको बताए । आफूले गरेको कामको मोनिटरिङ गर्ने पद्धतिको विकास हुनसके त्यसमा सुधार हुनसक्ने उनले सुझाएका थिए । तुलसीपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, तुलसीपुर–६ का पूर्व वडाध्यक्ष नवराज लामिछाने, पत्रकार सुशील बस्नेत, ओपन डाटा प्रोफाइलका निकेश बलामी, एसिया फाउन्डेसनकी आर्या भण्डारीलगायतले डेटा प्रोफाइल उपयोगी भएको बताएका थिए । कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसनका सुरेश रावतले गरेका थिए ।