calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

सानै भएपनि परिवर्तन समयको माग हो

के.पी. सुवेदी
नेपालको राजनीतिमा हुनुपर्ने भन्दा नहुनुपर्ने नियम, कानून र परम्परालाई संस्थागत गर्ने एउटा अनौठो चरित्रको विकास हुन थालेको छ । के गर्न हुन्छ र के गर्नै हुन्न भन्नेसम्म पनि सत्ताको अन्धोपनाले ओझेल पारेर सिधयाइसकेको छ । अब अझै आँखा खोलेर हेर्न ढिलो गर्ने हो भने भोलिका दिन अकल्पनीय अप्ठ्यारा हुने कुरा पक्का छ ।

अप्ठ्यारोको धेरै प्रवाह गर्ने चेतना हाम्रो नेतृत्वमा अहिलेसम्म देखिएको छैन । सत्ता उन्मादमा आउने गरेका विकृति र अशोभनीय क्रियाकलाप त्यति सजिलै त्याग्न खोजेको देखिँदैन । लोकतन्त्रको स्थापना, पुनःस्थापनामा हो या सशस्त्र विद्रोहमा होस् करोडौँको त्याग र हजारौँको बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा सङ्घर्षको कीर्तिमान कायम गरेको नेतृत्व पनि सत्तामा पुगेपछि यतिसाह्रै अन्धो र विचारधारा स्खलित हुँदा रहेछन् भन्ने उदाहरण नेपाल नै बन्नुपर्ने विडम्बना देखिएको छ ।

डा. बाबुराम भट्टराई प्रधानमंत्री हुँदा चलेको पिर्केसलामीदेखि विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा गरिएको रेडकार्पेटमाथि पिर्काको चर्चा केवल रमाइलो मात्र गरिएको थिएन, त्यो सबै क्रियाकलाप त्यही अनवरत एवम् अथक सङ्घर्षहरुको ठट्टामा उडाउने कार्य थियो । सडकमा सवारी चलाउँदा यातायात ठप्प पारेर उहिलेका महाराजको सवारीको झल्को दिने दृश्य जनताले देखेर नाजवाफ हुनुपरेको तीतो अनुभव अझै पनि ताजै छ ।

नेतृत्वहीन चरित्रका पात्रहरुले नेतृत्व गर्दा देखिएको अपत्यारिला दृश्यहरु कति बहसमा संसद्को ढोकाबाट छिरेर विधायकको माध्यमबाट कानुनको धारामा समेटिएका पनि देखिएका छन् तर अधिकांश यस्ता विकृतिहरु सडकमा बहस गर्दै जनताले खबरदारी गर्नुपर्ने तहमा अल्झिने गर्छन् । यस्ता विकृतिहरु नदेखे झैँ वा थाहै नभए झै गर्नु व्यक्तिको मौलिक तथा निजी चरित्र हुनसक्छ । कुनै व्यक्ति उसको हैसियतभन्दा माथि पुग्यो भने उसको विवेकीय क्षमतामा स्खलन आउन सक्छ ।

किनभने नपाउने पाएको वस्तुको स्याहारसंभार पनि उसको बसमा नहुन सक्छ । खास परिवारमा जन्मेकै भरमा राजकीय पद प्राप्त गर्ने राजतन्त्रात्मक शासनको कुरा यहाँ गर्नु सान्दर्भिक नहुन सक्छ । किनकि त्यहाँ शासकको कुनै प्रकारको योग्यता वा दक्षताको परीक्षण नगरिकनै दिइने सत्ताको बागडोर कुशको ब्राह्मण राखेर आफैँ मन्त्र पढे झै हो तर जनताको बिचबाट राजनीतिक चेतनाले भरिएको र सङ्घर्षका थुप्रै वरालीउकाली पार गर्दै भूइँमानिसहरुको पङ्क्तिबाट उनीहरुको सुख–दुःखमा होस्टे–हैसे गर्दै नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरेको व्यक्तिले आप्mनो मुलुकको बारेमा अलिकति बढी र संसारको बारेमा कम्तिमा भए पनि जानेको र बुझेको हुन्छ । उसले शासनको कुन भार थेग्नसक्छ भन्ने परीक्षणबाट खारिएको हुन्छ, हुनुपर्छ ।

मुलुकमा गणतान्त्रिक लोकतन्त्रको सुरुवात भएपछि संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार संसद्ले एकजना विशिष्टता र राजनीतिक ज्येष्ठता हेरेर राष्ट्रपतिमा निर्वाचिन गर्ने गर्छ । यसरी निर्वाचित राष्ट्रपति संवैधानिक राष्ट्रपति हुन्छ । जसको शासनमा प्रत्यक्ष संलग्नता हुँदैन । कार्यकारीले तयार गरेको नियमकानून र कार्यविधिलाई स्वीकृति प्रदान गर्नेगर्छ । हाम्रो शासन प्रणाली संसदीय भएकोले संसदीय प्रणालीमा संसद्ले प्रधानमन्त्रीलाई कार्यकारी प्रमुख मानेको हुन्छ ।

जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था संविधानले गरेको पनि पाइन्छ । विश्वका केही मुलुकमा यस्तो व्यवस्थाछ र हाम्रोमा पनि बेलाबखतमा यसै गर्नुपर्छ भनेर आवाज उठिरहेको पाउँछाँै । अर्को अध्यक्षात्मक व्यवस्था हुन्छ, जहाँ राष्ट्रपति जनताको मतद्वारा वा निर्वाचनमण्डलद्वारा चुनिन्छ र कार्यकारी प्रमुख हुन्छ । हाम्रो संविधान २०७२ अनुसार संसदीय सर्वोच्चताको मर्म अनुसार नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव निर्वाचित भएका थिए । त्यसपछि विद्यादेवी भण्डारी दुई कार्यकाल र हाल रामचन्द्र पौडेल नेपालको राष्ट्रपति छन् । यहाँसम्म आइपुग्दा राष्ट्रपति र उपराष्ट्रपति को–कस्ता भए र कस्ता हुनुपथ्र्यो । यसको खासै चर्चा र लेखाजोखा गर्ने गरिँदैन, कारण उनीहरु सबै राजनीतिक सङ्घर्षको मैदानबाट आएका छन् ।

राष्ट्रपति उपराष्ट्रपति सम्बन्धमा पछिल्ला दिनमा अलि बढी चर्चा बाक्लिँदै छ । यसका कारण स्पष्ट छ कि उनीहरु विवादमा आउने तरिकाले राजनीतिमा आउँदैछन् । साधारणतः यस्ता सम्मानित पद राजनीतिक यात्राको शिखरमा पुगेर प्राप्त गर्नुपर्ने मान्यता संसारकै परम्परा छ र त्यहाँ पुगेर उसले राजनीतिक जीवनलाई विश्राम दिन्छ । किनभने त्यो भन्दा माथि राजनीतिको स्थान छैन भन्ने सर्वस्वीकार्य सिद्धान्त जस्तै छ । सर्वोच्च पद भनेर मान्दामान्दै पनि विवादमा तानिएका, चरम महत्वाकाङ्क्षी चरित्र प्रदर्शन गरेका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र त्यै अवधिमा उपराष्ट्रपति बनेका नन्दबहादुर पुन फेरि पनि पार्टी राजनीतिमा अवतरण गर्ने चर्चामा सबैतिर जिज्ञासा छ कि उनीहरु सम्मानको उपेक्षा किन गर्दैछन् ?

पूर्वराष्ट्रपति भण्डारीको आकाङ्क्षा अनपेक्षित भए पनि त्यसलाई केको मुखमा नअटाको कुभिण्डो जस्तैजस्तै हो तर नन्दबहादुर पुनको कुरा फरक छ । आफू सर्वोद मुनिको पदमा आसीन रहेर उता परिवारको अर्को व्यक्ति तस्करीमा तल्लीन रहेको देखिन्थ्यो । अब त्यहाँको संलग्नतामा पुनः जोडिएर कमाउन पर्ने भएर हो या किन हो ?

जेसुकै भए पनि राज्यले पूर्व विशिष्टलाई प्रदान गरेको सुविधा राज्यलाई फिर्ता गरेर राजनीतिमा फर्किने कुरा हुनसक्छ । यति मात्र भए पनि नैतिकता देखाउनुपर्ने हो । उसो त आफ्नो सम्पत्ति राज्यलाई नबुझाएका धनाढ्य व्यक्तिहरु पदबाट निवृत्त हुँदा थप आर्थिक सुविधा दिने राम्रो कुरा होइन । अन्यत्र अवकासपछि सार्वजनिक क्षेत्रमा श्रम गरेर जीवन चलाएका महान् व्यक्तित्वबाट सिक्ने बानी बसाले सानो क्रान्ति हुन्थ्यो ।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्ला चलन अनुसार सवारीमा बाटो खाली गरेर सर्वसाधारणलाई सास्ती दिने चलनलाई हटाउन सुझाव दिँदा सर्वत्र प्रशंसा भएको थियो । आगामी दिनमा अवकाश पछिका सुविधामा पनि परम्परा तोड्ने हिम्मत गर्दा सन्देश राम्रै जाने थियो । यसले राजनीतिक दल र शीर्ष नेतृत्वप्रतिको असन्तुष्टि कम गर्न धेरै सहयोग गथ्र्यो होला । यथासम्भव परिवर्तन समयले मागेको छ, त्यही हो क्रान्तिको वास्तविकता ।