calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

घोराहीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

गोरक्ष समाचारदाता
दाङ, १९ माघ । घोराही उपमहानगरपालिका स्तरीय १७औँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नम्बर २ स्थित गंगा माध्यमिक विद्यालय रामपुरले यस वर्षको प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको शुक्रवार उद्घाटन गर्दै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले खेलकुद मानव जीवनमा अपरिहार्य भएको बताए । उनले खेल क्षेत्र आर्थिक, सामाजिक र मानवीय विकासको आधार भएको चर्चा गुर्दै स्थानीय सरकार घोराही उपमहानगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

खेलकुद विकास समिति गठन गरेर खेल क्षेत्रलाई अघि बढाउन चाहेको उनको भनाइ थियो । विद्यालय तहबाटै खेलकुदबारे विद्यार्थीलाई जानकार गराउनुका साथै खेलमा सहभागी बनाउने गरी नगरले खेलकुद शिक्षकको व्यवस्था समेत गरेको जानकारी दिए । नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चौधरीले खेल क्षेत्रमा घोराहीका युवाहरूको आकर्षणले आफू हर्षित र उत्साहित भएको बताए ।

घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले खेल क्षेत्रबाटै एकता र स्वस्थता कायम हुने बताए । नगरले भौतिक पूर्वाधार विकाससँगै मानवीय विकासमा प्राथमिकता दिएको उल्लेख गरे । विद्यालयका प्रधानाध्यापक शशिधर उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नं. २ का अध्यक्ष चित्रबहादुर चौधरी, नेपाली कांग्रेसका नारायण थापा, नेकपा एमालेका टोपेन्द्र डाँगी, माओवादी केन्द्रका सुरेन्द्र चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद डिसी, मावि डाँडागाउँ गोग्लीका प्रधानाध्यापक राजेन्द्र घिमिरेले खेलकुदको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक श्रीमन न्यौपानेले गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न विद्यार्थीले मार्चपाससँगै नृत्य प्रस्तुत गरेका थिए । माघ २१ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विधाहरू उसु, एथलेक्टिस, कराँते, तेक्वान्दो र भलिबल खेल हुने भएका छन् ।