राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखालाई

गोरक्ष समाचारदाता
लमही, १९ माघ । नगरस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को उपाधि गोरखा मोडेल लमहीले चुमेको छ । १८ स्वर्ण, पाँच रजत र दुई काँस्यसहित कूल २५ पदक हात पार्न सफल भएको हो ।
यसैगरी द्वितीय स्थानमा तीन स्वर्ण, पाँच रजत र सात काँस्य गरी जम्मा १५ पदकसहित माध्यमिक विद्यालय फल्कापुर रहेको छ भने तीन स्वर्ण, दुई रजत र एक काँस्यसहित सूर्यविनायक माध्यमिक विद्यालय नर्तीले तृतीय स्थान हासिल गरेको छ । आधारभूत विद्यालयतर्फ माध्यमिक विद्यालय फल्कापुर प्रथम, श्री बालोदय आधारभूत विद्यालय सुनडबरी र श्री हिमाल आधारभूत विद्यालय सोनपुरले एक स्वर्ण तीन रजत र दुई कास्यसहित द्वितीय स्थान हासिल गरेका छन् भने एक स्वर्ण र एक रजतसहित सूर्यविनायक माध्यमिक विद्यालय नर्ती र बाल जनता आधारभूत विद्यालय वनगाउँले तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी प्राथमिक विद्यालयतर्फ एक स्वर्ण र एक रजतसहित माध्यमिक विद्यालय फल्कापुर प्रथम, एक स्वर्णसहित बगार बाबा माध्यमिक विद्यालय तिहार, आदर्श नमुना माध्यमिक विद्यालय देउपुर, प्राथमिक विद्यालय भिउसनपुर द्वितीय र एक रजत र एक काँस्य गरी दुई पदकसहित जनज्योति आधारभूत विद्यालय घुम्ना र आधारभूत विद्यालय भत्तरकुण्डाले तृतीय स्थान हासिल गरेका छन् ।
बिभिन्न स्थान हासिल गरेका विद्यालय तथा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । गोरखा माध्यमिक विद्यालयका मोतीराम सोमई मगर छात्रतर्फ र अस्मिता भण्डारी छात्रातर्फ भलिबलमा, भीम श्रेष्ठ कबड्डीमा, प्रिया कँडेल र बासुदेव चौधरी एथलेटिक्समा र रोजी बड्स माध्यमिक विद्यालयका अनुस्का चौधरी छात्रातर्फ कबड्डीमा उत्कृष्ट खेलाडी घोषित भएका छन । उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र ट्रफीले सम्मानित गरिएको थियो ।
‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ लमही नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत लमही नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मिति २०८१÷माघ १५ देखि १७ गतेसम्म सञ्चालित नगर स्तरीय (अन्तर विद्यालय) सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक कार्यक्रमका बिच समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्ने वक्ताले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सहयोग पुग्ने बताएका थिए । खेलकुदको माध्यमबाट मनोरञ्जन लिन सकिने, स्वस्थ र फुर्तिलो हुने, अनुशासित बन्न प्रेरित गर्ने तथा आफू र आफ्नो क्षेत्रलाई परिचित गराउने भन्दै खेलकुदको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रम लमही नगरपालिकाका उपप्रमुख तथा कार्यवाहक प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण महेश थापाले गरेका थिए ।