महायज्ञमा उत्साहपूर्ण सहभागिता

गोरक्ष समाचारदाता
दाङ, १९ माघ । सडक मानवहरूको लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा विहीवारदेखि घोराहीमा सुरु भएको ‘श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१’ मा उत्साहपूर्ण सहभागिता देखिएको छ । कथा वाचनको पहिलो दिन विद्यार्थीदेखि ज्येष्ठ नागरिकलगायत महिलाहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो ।
सडक मानव तथा सार्वजनिक स्थलहरूमा अलपत्र, बेवारिसे अवस्थामा रहेका खाना, नाना र छानाविहीन बेवारिसे सडक मानवहरूको सहयोगार्थ आयोजना गरिएको महायज्ञमा भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । महायज्ञको कथा वाचक श्री देवी सुमी मानवले सुरु गरेकी हुन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरको दिगो व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा पुलिस स्कुल घोराही–१७ र मिड वेष्टर्न मावि घोराही–१० का विद्यार्थीको उपस्थिति रहेको थियो । यसका साथै विभिन्न टोलहरूको सहभागिता रहेको थियो ।
महायज्ञमा बिहान ५ बजेदेखि पतञ्जली योग समितिसँगको सहकार्यमा योगाभ्यास सुरु भएको छ । यसैगरी रक्त सञ्चार केन्द्र घोराहीसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सुरु भएको छ । जसमा पहिलो दिन तीन जनाले रक्तदान गरेका थिए । यसैगरी शुक्रवारदेखि युवा उत्प्रेरणा कार्यक्रम सुरु भएको छ । जसमा पहिलो दिन स्यालुट गोर्खाका ५० बढी युवाको सहभागिता रहेको थियो ।