राजस्व वृद्धि सच्याउन कांग्रेसको माग

गोरक्ष समाचारदाता
दाङ, १८ माघ । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकाले वृद्धि गरेको मालपोत र व्यवसाय कर सच्याउन माग गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ (क) कार्यसमिति र घोराही नगर कार्यसमितिले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेको हो । आर्थिक मन्दीको समयमा नगरबासीको ढाड सेक्ने गरी गरिएको करवृद्धि तत्काल समायोजन गर्न माग गरेका हुन् ।
मालपोत, घर बहालसँगै सवारी साधनमा गरिएको दोहोरो कर वृद्धि तत्काल सच्याउन माग गरेको नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठले बताए । उब्जनी नै नहुने पाखो बारीमा समेत एकै पटक ५१ प्रतिशत देखि १३७ प्रतिशतले कर वृद्धि गरिएको र यसले नागरिकमा असर गर्ने भएकाले सच्याउन माग गरिएको सभापति श्रेष्ठले बताए । ‘नगरले राजस्व वृद्धिका लागि कर उठाउने नयाँ क्षेत्रको खोजी गर्नुपर्ने ठाउँमा जनतालाई असर पर्ने गरी कर वृद्धि गरिएको छ’, सभापति श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘नगरको यो कार्यले आर्थिक रूपमा मन्दीको समयमा नागरिकमा गम्भीर असर पर्ने देखिन्छ । यसमा तत्काल सोच्नुपर्छ ।’ सभापति श्रेष्ठले नगरले यो विषयलाई गम्भीरतापूर्वक नलिए कडा आन्दोलन गर्ने समेत बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले अहिले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउने काम गरेको भन्दै यसलाई गम्भीरतापूर्वक नलिए कडा आन्दोलन गर्ने बताए । विकास निर्माणका कार्यका लागि कर बढाउन आवश्यक रहे पनि जनताको ढाड सक्ने गरी गरिएको कर वृद्धिले राम्रो सन्देश नजाने बताए । स्थानीय पालिकामा करको हेरफेर गर्ने जिम्मा राजस्व परामर्श समितिले गर्ने भए पनि समितिले आपूmहरूसँग छलफलै नगरेर कर वृद्धि गरेको घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेयले जानकारी दिए ।
जनतालाई सेवा सुविधा दिनसँगै नगरको विकासका लागि कर वृद्धि गर्न आवश्यक रहेको भन्दै वडाध्यक्ष पाण्डेयले आर्थिक मन्दीको समयमा जनतालाई असर गर्ने गरी कर वृद्धि गर्न नहुने बताए । आर्थिक मन्दीले नागरिकमा निराशा छाएको, व्यवसाय ओरालो लागेको समयमा उपमहानगरपालिकाले गरेको चर्काे करले गम्भीर असर गरेको भन्दै नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतले तत्काल पुनर्विचार गर्न आग्रह गरे । घोराहीमा व्यावसायिक प्रयोजनका लागि उपमहानगरपालिकाले घरभाडा सम्झौता न्यूनतम दर १२ हजार तोकेको तर घरधनीले व्यवसायीसँग ४० हजारसम्म घरभाडा असुल गर्दै घरबहाल र कर छली गर्दै आए तापनि स्थानीय सरकार मुकदर्शक बनेको बताए ।
यसैगरी स्थानीय सरकारले घरभाडाको बहाल कर प्रत्येक महिनामा तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने भए पनि न्यूनतम तीन महिनाको बहाल कर तिर्नुपर्ने बाध्यकारी नियमले व्यवसायी मारमा परेको भन्दै नेपाली कांग्रेस घोराहीले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कर वृद्धि गरेपछि त्यसको सबै क्षेत्रबाट विरोध भएको छ । आन्तरिक स्रोत कमजोर हुँदै गएको भन्दै उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कर वृद्धि गरेको जनाएको छ । साउनदेखि नै वृद्धि गरेको कर उपमहानगरपालिकाले उठाउँदै आएको छ ।
प्रजाान्त्रिक उद्योग व्यवसायी संघले पनि वृद्धि गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकोे छ । संघका अध्यक्ष कालीबहादुर खत्री ‘मानु’ले एक विज्ञप्ती जारी गरेर ध्यानाकर्ष भएको जनाएका हुन् । विज्ञप्तीमा समय सापेक्ष जनमुखी भएर काम हुनु पर्ने उल्लेख गरिएको छ । करको दर नभइ करको दायरा बढाउन समेत माग गरिएको छ । वृद्धि गरिएको कर पुनर विचार गरि जनमुखी स्थानीय सरकार बन्न समेत आग्रह गरिएको छ ।