calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

कांग्रेसले वडा तहबाटै सम्झियो सहिदलाई

गोरक्ष समाचारदाता
दाङ, १७ माघ । नेपाली कांग्रेसले आफ्ना वडा तहको संरचनाबाट देशभर सहिदलाई स्मरण गरेको छ । पार्टीको केन्द्रीय परिपत्र अनुसार देशभरका सबै वडामा वडा सम्मेलनको आयोजना गरेर बुधवार सहिदहरूलाई सम्झिएको हो ।

ती सम्मेलनमा सहिदहरूको योगदानको चर्चा गर्दै पार्टीलाई थप संगठित गराउने सङ्कल्प गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ । देश र जनताको परिवर्तनका लागि सहिदहरूले गरेका योगदानको स्मरण गर्दै पार्टीलाई संगठित र एकताबद्ध बनाउँदै अघि बढ्ने नेताले बताएका थिए । नेपाली कांग्रेस दाङको वार्षिक कार्ययोजना अनुसार जिल्लाका सबै वडामा बुधवार एकसाथ वडा सम्मेलन भएका हुन् । पार्टी संगठनलाई चलायमान, आर्थिक रूपमा व्यवस्थित र योजनाबद्ध रूपमा काम गर्ने गरी सहिद दिवसका अवसरमा वडा सम्मेलन आयोजना गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ । सहिद दिवसको सन्दर्भ पारेर जिल्लामा बुधवार एकसाथ वडा सम्मेलनको आयोजना गरिएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिएका छन् ।

‘सहिद दिवसको सन्दर्भ पारेर गरिएको वडा सम्मेलनमा सहिदका योगदानको स्मरणसँगै एक वर्षमा वडाले गरेका गतिविधिसँगै समीक्षा र आगामी योजनाबारे छलफल गरेका छौँ’, जिल्ला सभापति डाँगीले भने, ‘वडा सम्मेलनले पार्टीलाई सांगठनिक रूपमा संगठित, आर्थिक रूपमा पारदर्शी र योजनाबद्ध रूपमा काम गर्न सहयोग पुग्ने विश्वास छ ।’ कार्यक्रममा जिल्ला सचिव अर्जुन योगीले वडा सम्मेलनमा पार्टीले एक वर्षको अवधिमा गरेका कामको समीक्षासँगै आगामी वर्ष गर्ने योजनाहरूको समीक्षा गरिएको बताएका थिए ।

वडा सम्मेलनमा वडा सचिवले वर्षभरि गरेका कामको विवरणसहित सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेर छलफल गरिएको जिल्ला सचिव योगीले बताए । यससँगै वडाहरूले सम्मेलनका क्रममा जिल्लाका विभिन्न वडामा पार्टीको संगठन निर्माणसँगै देशको राजनीतिक परिवर्तनका लागि योगदान गर्ने ज्येष्ठ क्रियाशील सदस्यहरूलाई सम्मान गरेका छन् ।

यसैगरी नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले वडा सम्मेलनका क्रममा पाटी संगठन निर्माणमा सहयोग गर्ने १० जना ७५ वर्ष पूरा गरेका ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ५ का सभापति विष्णुमणि दाहालको सभापतित्व एवं संविधानसभा सदस्य बिमला नेपालीको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुनकुमार योगीको विशिष्ट आतिथ्यतामा भएको वडा सम्मेलनमा ज्येष्ठ क्रियाशील सदस्यहरूलाई होसल्लासहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको हो । वडा सम्मेलनमा जिल्ला तहका नेता, महाधिवेशन प्रतिनिधि, क्षेत्र र नगरका प्रतिनिधिसँगै क्रियाशील सदस्यहरूको उपस्थिति रहेको थियो ।

यसैगरी नेपाली कांग्रेस दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ इकाइ समितिले तेस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । सहिद दिवसको अवसर पारेर वडा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रम इकाइ सभापति केशरबहादुर रावतको अध्यक्षता तथा प्रदेश सभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यता एवम् महाधिवेशन प्रतिनिधिद्वय गोपालराज शर्मा, बद्रीकुमार खड्का, पूर्व जिल्ला सदस्य विपुल पोख्रेलकोे विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्ने वक्ताले पाटीलाई बलियो बनाउन एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

पाटीभित्र एकताबद्ध भएर अगाडि बढेमा मात्र पार्टी बलियो बनाउन सकिने उनीहरूको भनाइ थियो । उनीहरूले अहिलेदेखि नै मिसन २०८४ को अभियानलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताएका थिए । जनताको भरोसा नेपाली कांग्रेस भएको भन्दै जनताको सुख–दुःखमा साथ दिनुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य सुशीला गुरुङ, नेपाली कांग्रेस क्षेत्र नं २ का प्रवक्ता मधुसूदन अधिकारी, क्षेत्र नं २ (१) का सचिव माया पोख्रेल, क्षेत्रीय प्रतिनिधि शुभाष पोख्रेललगायतले भनाइ राखेका थिए ।

युवा नेता गणेश बेलबासेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन टीकाराम नेपालीले गरेका थिए । कार्यक्रमको सहजीकरण वडा इकाइ उपसभापति मंगल घर्तीले गरेका थिए । कार्यक्रममा इकाइ समितिले मरणोप्रन्त सम्मानबाट लालमणि खनाल र भोजराज अधिकारीलाई सम्मान गरिएको थियो ।

यसैगरी नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १४ ले तेस्रो वडा सम्मेलन तथा सहिद दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम घोराही १४ का इकाइ सभापति टेकबहादुर बिसीको अध्यक्षता तथा महासमिति सदस्य सुशीला थापाको प्रमुख आतिथ्यतामा भएको थियो । इकाइ उपसभापति टेकबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा हुमाकान्त अधिकारी, वेदबहादुर केसी, धर्मेन्द्र श्रेष्ठ, टीकाकुमार श्रेष्ठ (मोहन), जुनकुमारी बुढा, कुलराज पोख्रेल, तिलकबहादुर भण्डारीलगायतले भनाइ राखेका थिए ।

इकाइ कार्यसमितिले वडाका ज्येष्ठ नागरिक शिवप्रसाद भण्डारी, हुमाकान्त अधिकारी, खड्कबहादुर बुढा, भुपाल चौधरी, अब्दुल समद रङ्गरेजलाई खादा, माला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा इकाइ कोषाध्यक्ष धनबहादुर वलीले आर्थिक प्रतिवेदन र सचिव लिली थापाले वार्षिक प्रतिवेदन पस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण रणबहादुर खड्काले गरेका थिए ।