calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

‘यात्राको धुन’को समीक्षा

गोरक्ष समाचारदाता
दाङ, १७ माघ । बरिष्ठ साहित्यकार प्राध्यापक डा.गोपीन्द्र पौडेलको नियात्रा सङ्ग्रह ‘यात्राको धुन’ले विकसित राष्ट्रले गरेको प्रगतिलाई नेपाल जस्तो विकासशील राष्ट्रले पनि सिको गर्न सक्नुपर्ने विचार उठान गर्न प्रेरित गरेको समीक्षकहरूले बताएका छन् ।

अमेरिका, युरोपलगायत विकसित राष्ट्रले सीमित स्रोत साधनको अधिक्तम प्रयोग गरेर सेवासुविधा विस्तार गरिरहँदा नेपाल जस्तो प्राकृतिक रूपमा सुन्दर देशलाई विकासको बाटोमा हिडाउन ढिलाइ गर्न नहुने चेतनाको बोध साहित्यकार प्राध्यापक डा. पौडेलको नियात्रा सङ्ग्रह ‘यात्राको धुन’ले उजागर गरेको समीक्षकहरूको भनाइ थियो ।

राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनमा बुधवार घोराहीमा आयोजित कृतिको परिचर्चामा प्रमुख अतिथि राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार पुरुषोत्तम खनालले ‘यात्राको धुन’ सबैका लागि पठनीय सामग्री बनेको बताए । उनले नेपालसँगै विश्व चिन्न र बुझ्न नियात्रा सङ्ग्रहले सघाउने बताए ।

यसैगरी कृति समीक्षकहरू डा. गोविन्द आचार्य, डा. हिमलाल पन्थी र डा. टीकाराम उदासीले नियात्रा सङ्ग्रह ‘यात्राको धुन’ले नेपाल र नेपालीको जनजीवन विश्वमान चित्रमा बुझ्न सजिलो बनाउने काम गरेको बताए । भारत, अमेरिका र युरोप भ्रमणका क्रममा देखेका भोगेका अनुभवलाई शब्दमा उनेर पाठकमाझ ल्याएर त्यहाँको जीवनशैली बुझाउने काम साहित्यकारले कृतिमार्फत् गर्नु राम्रो पक्ष रहेको बताएका थिए ।

परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षतामा गरिएको कृति परिचर्चामा विकासको मोडेल कस्तो हुनुपर्छ भन्ने कुरा अमेरिका, युरोप भ्रमणबाट देखेर शब्दमा उतारेको सर्जक पौडेलले बताए । साहित्यकार नारायण नेपाल, काव्यकार बुनु लामिछाने, उत्तमकृष्ण मजगैयाँ, गणेश विषमलगायतका स्रष्टा डा. पौडेल बहुआयामिक व्यक्तिका रूपमा रहेको बताए । परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सुशीला आचार्यले गरेकी थिइन् ।

साहित्यकार डा.पौडेलले अहिलेसम्म ९ वटा कृति प्रकाशित गरिसकेका छन् । उनका कृतिहरू ‘कामरेडमा नाउँ दरिएन’ (व्यङ्ग््य निबन्ध, २०५६), ‘सौन्दर्यबोध र समीक्षा विविध’ (समालोचना–२०५९), ‘कथाको सौन्दर्यशास्त्र’ (सौन्दर्यचिन्तन–२०६५), ‘भीमनिधि तिवारीको हास्यव्यङ्ग्य कवित्व’ (सिद्धान्त र समालोचना–२०६५), ‘कथाको सिंहावलोकन’ (समालोचना–२०७०), ‘नेपाली कथामा २००७ सालको प्रभाव’ (समालोचना–२०७९), ‘कथा परिशीलन’ (समालोचना–२०७९, ‘स्रष्टा, समीक्षा र संस्कृति’ (समालोचना–२०७९), ‘यात्राको धुन’ (नियात्रा–२०८१) रहेका छन् ।