calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

सहकारी मूल्य र मान्यता बाहिर जानु हुँदैन : मन्त्री पन्थी

गोरक्ष समाचादाता
तुलसीपुर, १७ माघ । लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले केही सहकारीमा देखिएको बेथितिले सहकारी अभियान प्रभावित नहुने बताएका छन् । तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री पन्थीले सहकारीको नियमनमा सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री पन्थीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले उदाहरणीय काम गरेको बताए । उनले हाम्रो पहुँचले नै सहकारीप्रतिको नकारात्मक धारणा चिरेको बताए । उनले सहकारीलाई मूल्य र मान्यताभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिए । उनले हाम्रो पहुँच जस्ता सहकारीले बेरोजगारी समस्या समाधानमा राज्यलाई सहयोग गरेको बताए । लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी अन्य सहकारीका लागि सिकाइको केन्द्र बनेको बताए ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पन्थीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष भण्डारीले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि समाजका निम्न आय भएका वर्ग तथा समुदायलाई एकताबद्ध गरी सिङ्गो सामाजिक विकासका लागि केही गर्ने उद्देश्य राखेर २०६४ मा सहकारी स्थापना गरिएको बताए । संस्थाले हालसम्म एक सय सात जनालाई प्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ भने एक हजार दुई सय जनालाई स्वरोजगार प्रदान गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार भरत भण्डारीले २५ जनाबाट सुरु भएको सहकारीमा अहिले चार हजार बढी सदस्य आबद्ध रहेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा तुलसीपुर–७ का अध्यक्ष रामबहादुर जसी, तुलसीपुर–६ का अध्यक्ष दुजमान भण्डारी, बाघमारे कृषि सहकारी संस्थाका अध्यक्ष चुडामणि खरेल, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारी, साल्ट ट्रेनिङ कर्पोरेसन घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ दाङका शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतलगायतले बोलेका थिए ।

संस्थाले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, सेवाग्राही, बचतकर्ता, ऋणि, विज्ञापनदातालाई सम्मान गरेको छ । यसैगरी रेडियोका श्रोता, उच्च कारोबार गर्ने शेयर सदस्य, अक्षकोषदाता, ज्येष्ठ नागरिक र उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । त्यस अवसरमा हाम्रो पहुँच माविमा अध्ययनरत विद्यार्थीले विज्ञान सामग्री प्रदर्शनी गरेका थिए भने विद्यार्थीले विभिन्न व्यवसाय समेत सञ्चालन गरेका थिए । विद्यार्थीले चटपट, चाउमिन, मःमलगायतका व्यापार गरेका थिए । कार्यक्रममा गीत, नृत्यलगायतका प्रस्तुति राखिएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारी र तालिम तथा सूचना अधिकृत रेखा शर्माले गरेका थिए ।