‘सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्छ’

गोरक्ष समाचारदाता
दाङ, १७ माघ । सहिदका सपना पूरा गर्नका लागि जनताको अवस्था बदल्ने गरी सरकारले काम गर्नुपर्ने वक्ताहरूले जोड दिएका छन् । सहिद दिवसका अवसरमा बुधवार घोराहमा जिल्ला समारोह समिति दाङले आयोजना गरेको सहिद दिवस कार्यक्रममा बोल्ने वक्ताले सहिदको त्याग र बलिदानीले राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर बदलिन नसकेको भन्दै जनताको अवस्था बदल्ने गरी जनप्रतिनिधि र कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले सहिदका त्याग र बलिदानीले परिवर्तन सम्भव भएको बताइन् । जनताको अवस्था परिवर्तन गर्न मन्त्रीसँगै जनप्रतिनिधि र कर्मचारीको महत्वपूर्ण भूमिका रहने भन्दै उनले भनिन्, ‘जनतासँग प्रत्यक्ष जोडिने सरकारका मन्त्रीसँगै जनप्रतिनिधि र कर्मचारी नै हुन् । जनप्रतिनिधि र कर्मचारीले जनताले चाहे अनुसारको काम गर्न आवश्यक छ ।’ राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै जनताको अवस्था परिवर्तन गर्न जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक रहेको भन्दै उनले एक्लाएक्लै भएर नहुने भएकाले सकारात्मक सोच लिएर अघि बढ्नुपर्ने बताइन् । जनताले चाहेजस्तो परिवर्तन अनुभूति गर्न नपाउँदा जनतामा निराशा बढेको भन्दै निराशा हटाउन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा जनमैत्री काम गर्नुपर्ने बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकरी कृष्णप्रसाद लम्सालले सहिदका सपना पूरा गर्न राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताए । जुन माग र उद्देश्य राखेर सहिदले बलिदानी गरेका हुन् त्यो उद्देश्य पूरा गर्न गम्भीर रूपमा लाग्नुपर्ने बताए । यसैगरी नेकपा एमाले दाङका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले स्वतन्त्रतासँगै राजनीतिक परिवर्तनका लागि ज्यान दिने सहिदका त्यागका कारण आज यो अवस्था आएको भन्दै परिवर्तनलाई संस्थागत गर्दै अघि बढ््नुपर्ने बताए । व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै जनताको उपलब्धिलाई संस्थागत गर्नतर्फ लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सहिदका सपनालाई साकार पार्न जनतालाई परिवर्तनको महसुस हुने गरी राजनीतिक नेतृत्व लाग्नुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतासँगै उपलव्धि संस्थागत गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै उनले त्यसका लागि सरकारको नेतृत्वमा रहेका राजनीतिक दल र कर्मचारीको विशेष भूमिका रहने बताए । सहिद दिवसका अवसरमा घोराहीमा प्रभातफेरी गरिएको थियो । घोराही उपमहानगरपालिकाको कार्यालयबाट सुरु भएको ¥याली बजारका विभिन्न भागको परिक्रमा गर्दै सहिदगेट पुगेको थियो । ¥यालीमा जनप्रतिनिधि, प्रहरी, नेपाली सेना, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।