मेट्रो कलेजको ‘मुट–कोर्ट’ प्रतियोगिता, अतिथिहरूको विश्वास : अब न्याय मर्दैन

गोरक्ष समाचारदाता
तुलसीपुर, १७ माघ । एउटा नमुना इजलास । तीनजना पात्रहरू न्यायाधीशको भूमिकामा । इजलास अधिकृत र समय सूचकको भूमिकामा दुई जना । बादीतर्फ र प्रतिवादीतर्फ तीन÷तीन जना वकिलको भूमिकामा अनि पछाडि केही लब्ध प्रतिष्ठ व्यक्तिहरू र झन्डै ५० जना कानूनका विद्यार्थीहरू ।
वादी र प्रतिवादीका तर्फबाट वकिलको भूमिकामा रहेका पात्रहरूले आ–आफ्नो पक्षमा दमदार वकालत गरे । मुद्दाको विषय थियो–अविवाहित एक महिलाबाट बच्चा जन्मिएको सन्दर्भ । पुष्टि गर्नपर्ने थियो त्यो जबर्जस्ती करणी थियो वा थिएन ? दुबैतर्फका वकिलका भूमिकामा रहेकाले तर्कको प्रवाह गरिरहेका थिए, न्यायाधीशको भूमिकामा रहेकाले प्रतिप्रश्नहरू गर्दै थिए । उनीहरूले प्रतिप्रश्नहरूको जवाफ दिँदा त्यो बहस झनै वजनदार बन्दै गएको थियो । समय सूचक र इजलास अधिकृतको भूमिका पनि कुशलतापूर्वक निर्वाह भइरहेको थियो ।
यो दृश्य थियो, तुलसीपुरमा मङ्गलवार आयोजित लुम्बिनी प्रदेशस्तरीय कानून पढाइ हुने कलेजका विद्यार्थीविचको ‘मुट–कोर्ट प्रतियोगिता’को । जब बहस सकियो न्यायधीशको भूमिकामा रहेका निर्णायकहरू प्रतियोगीहरूको अङ्क जोड्न थाले अनि आयोजक संस्था तुलसीपुर मेट्रो कलेजका प्रिन्सिपल बसन्त आचार्यले माइक्रोफोन लिए । प्रतिक्रियाका लागि अतिथिहरूलाई बोलाउन थाले । ‘मलाई यो नमुना इजलास हेर्दा लाग्यो, अब न्याय मर्दैन’, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले भने, ‘कानून पढ्दै गरेका विद्यार्थीहरूको यो मिहिनेतले धेरै कुरामा आशा गर्ने ठाउँ देखाइदियो ।’
तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेले पनि उत्साहित हुँदै प्रतिक्रिया दिँदै थिए, ‘कानूनलाई अलग विषय मान्ने होइन, हरेक विषयमा कानूनलाई जोड्दै जानुपर्छ, जसले समाजिक न्यायको मार्गमा उभिने जनशक्ति उत्पादन गर्नसक्छ ।’ प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतमले भने, ‘सामान्य अध्ययन होइन, बृहत अध्ययनका माध्यमबाट न्यायको पक्षमा उभिन नयाँ पुस्ता तयार रहेको सङ्केतका रूपमा नमुना इजलास देखियो ।’ अर्का वक्ता तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले कानूनको अध्ययन सहितको व्यावसायिक कर्मले सफलता हासिल गर्न सकिने बताए । तीनवटा कलेजका आठवटा समूहबिच भएको प्रतियोगितालाई प्रायोजन समेत गरेका तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले नयाँ पुस्ताबाट न्यायपूर्ण समाजको नेतृत्व हुने विश्वास चुलिएको बताए ।
न्यायाधीशको भूमिकामा न्याय परिषद्का पूर्व सदस्य अधिवक्ता पदम वैदिक, तुलसीपुर इलाका कार्यालयका डिएसपी अनिल ठकुरी, उपप्राध्यापक अधिवक्ता अनुप चन्द थिए । न्यायाधीशको भूमिका निर्वाह गरिसकेपछि वैदिकले कानूनी अभ्यासले नै न्याय प्राप्तिको बाटोलाई सहज र प्रभावकारी बनाउँदै लैजाने भएकाले प्रतियोगिता त्यसका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे । ठकुरीले न्यायिक निरूपणमा भोग्ने जटिलताको चर्चा गर्दै अध्ययनशील कानून व्यवसायीको साथमा राज्यले कानूनी शासनको प्रत्याभूति दिनसक्ने चर्चा गरे । चन्दको विश्वास थियो, ‘प्रभावकारी कानूनी अभ्यासले नै असल र न्यायमा आधारित समाज निर्माण हुन्छ ।’
‘विष्णु केसी मेमोरियल मुट–कोर्ट प्रतियोगिता’ नाम दिइएको त्यस प्रतियोगितामा बुटवल सिटी कलेज प्रथम र तुलसीपुर मेट्रो कलेज दोस्रो भएका थिए । कार्यक्रम संयोजक विजय पोख्रेलले नतिजाको घोषणा गरेका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष केसीका पिता विष्णु केसीको नाममा राखिएको त्यस प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता तुलसीपुर मेट्रो कलेजले गरेको छ भने साथ दिने प्रतिबद्धता बिनिल केसीले बताएका छन् ।