सबै क्षेत्रको विकासमा कांग्रेस भेटिन्छ : पूर्व मुख्यमन्त्री चौधरी

तुलसीपुर,१६ माघ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–६ इकाई समितिले सहिद दिवसको अवसरमा वडा सम्मेलन तथा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको छ । वडा सभापति प्रताप खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको प्रमुख अतिथितामा एवं नेपाली कांग्रेस जिल्ला प्रतिनिधि केशव आचार्यको विशिष्ट आतिथ्यतामा भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले कांग्रेसले वडामा विकासको लहर ल्याएको बताए । कांग्रेसकै कारण जिल्ला, नगर र वडामा विकास तीव्र गतिमा भइरहेको भन्दै पूर्व मुख्यमन्त्री चौधरीले त्यो विकासलाई पार्टीका कार्यकर्ताहरू र सदस्यहरूले जसलिन प्रचारप्रसार गर्न सक्नुपर्ने बताए । कांग्रेसको विकास स्थानीय टोल, सडक, तटबन्ध खानेपानी, मठमन्दिर भुयारथान, पुलपुलेसा सबैमा देखिने बताए । उनले यस क्षेत्रको विकासका लागि आफु सधैँ कटिबद्ध भएर लागेको र त्यो विकासलाई निर्णयार्थ र सार्थक बनाउन सम्पूर्ण पार्टी सदस्यहरुको भूमिका अहम रहेको बताए ।
उनले वडाको विकासका लागि योजना बनाएर आउनुपर्ने र त्यो योजना अनुसार आफूले बजेट खोज्न तयार रहेको तर त्यो चासो र क्रियाशीलता भने पार्टी सदस्यहरूले लिनुपर्ने र दिनुपर्ने बताए । ‘मैले विकासमा पहल गरेपनि त्यो विकास कांग्रेसको हो’,प्रमुख अतिथि चौधरीले भने,‘व्यक्तिभन्दा पनि पार्टी ठूलो र पार्टीको एउटा प्रतिनिथिले गरेको विकासलाई पार्टी सदस्यहरुले अपनत्व लिन सक्नुपर्छ ।’
नेता केशव आचार्यले कांग्रेसका नेताहरुले गरेको विकासलाई पार्टीले संस्थागत गरेर प्रचारप्रसार र त्यसको अपनत्व लिने काममा केही कमी भएको भन्दै अब त्यो अभियानमा लाग्न र अपनत्व लिन आग्रह गरे । पार्टी संगठन सुदृढीकरण सदस्यताको क्रियाशीलता र विकास नेपाली कांग्रेसको प्रमुख आधार भएकोले अहिले वडास्तरसम्म छलफल बहस सुरु गरेको बताए । झुपलाल ओलीको स्वागतबाट सुरु भएको कार्यक्रममा विभिन्न तह र तप्कामा रहेका नेताहरूले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा जेष्ठ क्रियाशील सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव समनबाबु डाँगीले गरेका थिए ।