calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

असहायको खाना, नाना र छानाका लागि महायज्ञ : पुराण बाचिका सुमी मानव

नेपाल सरकारले सडक मानव मुक्त नेपाल बनाउन विभिन्न स्थानमा केही संस्था खोलेको छ । यद्धपि सरकारी लगानी त्यस्ता संस्थामा निरन्तर रहेन । त्यसपछि मानव सेवामा मन जोडिएका अभियन्ताहरुले पनि मुलुकभर सडक मानव मुक्त अभियन्ताका रुपमा सरकारलाई जागरुक बनाउन र नागरिकलाई सहयोगी हात फैलाउने अभियान सञ्चालन गर्दै आएका छन् ।

यही मानवताको अभियानमा जोडिएर नारायणपुरमा मानव कल्याण संस्थाले सञ्चालन गरेको सेवा घरका लागि श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञ यही १७ गतेदेखि सञ्चालन गर्दै छ । महायज्ञमा सोही संस्थामा जोडिएकी विदुषि सुमि मानव पुराण बाचिका बनेकी छिन् । महायज्ञको तयारी तथा उद्देश्यका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले पुराणबाचिका सुमी मानवसँग गरेको कुराकानीको सारसंक्षेप ।

 सर्वप्रथम तपाइको परिचय दिनुस न ?

 मेरो खास नाम सुमित्रा चौलागाइ हो तर अचेल सुमी मानव लेख्छु । जन्म हेटौडा उपमहानगरपालिका–१४ मयुरधाप, हेटौडाको जनज्योति माविमा माध्यमिक तहको शिक्षा, प्रगति उच्च माविमा बाह्र कक्षा र हेटौडा क्याम्पसबाट शिक्षा शास्त्रमा विएड पूरा गरी काठमाडौको नेपाल ल क्याम्पसबाट एलएलवि अध्ययन पूरा गरी हाल विभिन्न पुराण अध्ययन गर्दै छु ।

एजुकेशनमा विएड, हाल नेपाल ल क्याम्पसबाट एलएलवी, पुराण अध्ययन गर्दै छु । मैले थरको ठाउँमा किन मानव लेख्न थाले भन्ने पनि यही जोड्न चाहन्छु । असहाय मानिसको सेवा कै अभियानमा झाडि नालीमा सालनालसहित फालिएका जिवित बच्चा भेटिए । उनीहरूको परिचय खुल्ने कुरै भएन । त्यस्ता बच्चाको उद्धार गरी उनीहरूको जन्मदर्ता गराउँदा नाम त जे राखे पनि हुने तर थर पहिचान नभएका कारण हामीले थरको ठाउँमा मानव राख्न थालेपछि मैले पनि थरको स्थानमा मानव लेख्न थालेँ ।

 धार्मिक महायज्ञ आयोजना गर्नुको उद्देश्यका विषयमा केही बताइदिनुस् न ?

 अहिले मानव कल्याण समाज दाङ शाखाद्वारा हामीले नारायणपुरमा सेवा घर सञ्चालन गरेका छौँ । सेवाघरमा सहयोगापेक्षी ५५ जना सडक मानव आश्रित छन् । चार महिनाकी बालिकादेखि ९० वर्षको वृद्धासम्म छन् । त्यसमा पनि करिब ४५ जना मानसिक रोगी छन् । केही त शौचालय जान पनि नसक्ने अवस्थाका हुनुहुन्छ । उहाँहरूलाई सिद्धरत्ननाथ क्याम्पसले उपलब्ध गराएको जग्गामा संस्थाले अस्थायी घर बनाएर खाना नाना र छानासँगै औषधी उपचार समेत गर्दै आएको छ ।

अब सेवा घरलाई निरन्तर सञ्चालनका लागि अक्षयकोष आवश्यक हुन्छ भन्ने महसुस भएर यसैका लागि घोराहीमा श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ सञ्चालन गर्दै छौँ । त्यसैगरी अर्को उद्देश्य भनेको मानव कल्याणका बारेमा सबैलाई जानकारी होस् र सेवाको भावना पनि जागृत होस् भन्ने हो । त्यसैगरी मानवतासम्बन्धी जनचेतना र युवालाई नैतिकता र संस्कारको विषयमा पनि सुसूचित गराउने उद्देश्यले यो धार्मिक अनुष्ठानको आयोजना गरिएको हो ।

 सडक मानवलाई खाना, नाना र छानाको व्यवस्थापन त मुलुकमा रहेका तीन तहका सरकारले गर्नु पर्ने दायित्व होइन र ?

 होनि, तर सरकारले यस्ता संस्था मुलुकभरी सञ्चालनमा ल्याउन सकेको देखिँदैन । यस्ता संस्था सञ्चालनको अपनत्व सरकारले लिइदिए त हामीले यसरी हात थाप्नु पर्ने थिएन । हामी जहाँ जान्छौँ, त्यहाँ सडकमा बिचल्लीमा परेका, भोका नाङ्गा मानव देख्छौँ । मानवताको नाताले हामीले मुलुकका केही स्थानमा यस्ता सेवा घर सञ्चालन गर्दै आएका छौँ ।

अनि हामी पनि त सरकार कै अंश हौ भन्ने पनि लाग्यो अनि यस्ता संस्था चलाउने जमर्को नगरिरहन सकेनौँ । यस्ता सेवा भाव जसलाई महसुस हुन्छ उसैले गरिहाल्ने हो । सबैले हातेमालो गरेमा अत्यन्त कठिन कार्य पनि सम्भव हुन्छ । त्यसैले पनि हामी यो सेवाको अभियानमा जोडिएका हौँ ।

 तपाई महायज्ञको आयोजक पनि पुराणबाचिका पनि हुनुहुन्छ । पुराणबाचनमा त प्रोफेश्नल व्यक्तिलाई ल्याउनु पर्ने होइन र ?

 हामीले त्यो गर्दै छैनौँ । किनकि हामीले जुन सहयोग उठाउने अपेक्षा गरेका छौँ त्यसको धेरै हिस्सा पुराण बाचक, भजन मण्डली, बाध्यवादन टोलीलाई पारिश्रमिक दिनु पर्ने हुन्छ । त्यसैले हामी आफैले पुराण बाचन गर्ने निधो गरेर म स्वयम् मुख्य कथाबाचिका बनेकी हुँ । अनि अर्को कुरा म पनि सायद पुराणबाचिका भइसकेकी व्यक्ति हुँ । यस अघि पनि मैले चार स्थानमा श्रीमद् भागवत पुराण बाचन गरिसकेकी पनि छु ।

यो ज्ञान सुरुमा त मैले स्वअध्ययनबाट प्राप्त गरेँ । जुनबेला मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउन चलिरहेको थियो तर स्व अध्ययनले मात्र मलाई कताकता चित्त बुझेन । अनि भारतको वृन्दावनमा गएर डेढ वर्षजति त्यहाँका निर्दोष विद्यालयमा गुरुहरूसँग विभिन्न पुराण बाचनको अभ्यास गरेपछि अहिले सार्वजनिक रूपमै पुराण बाचिका बने जस्तो लाग्छ ।

 कथा बाचिकाभित्रै पनि आफ्ना कथाहरू हुन्छन् नि, ती तपाईका कथा बताइदिन मिल्छ ?

 मिल्छ नि । किन नमिल्नु । अध्ययन सकाएपछि मैले एउटा रेडियोमा कार्यक्रम सञ्चालिकाको जागिर पनि खाएकी थिए । यही क्रममा विहे पनि भयो । विहे भएपछि म जागिर छाडेर मानव सेवाको यो अभियानमा जोडिएँ । त्यो बेलासम्म मेरो नाम सुमित्रा चौलागाइ थियो । जब म यो अभियानमा जोडिएँ सुरु सुरुमा त मलाई समाजले विभिन्न लान्छना लगायो । परिवार र श्रीमान् स्वयम्ले पनि यसलाई सहज रूपमा लिनु भएन तर अभियान सञ्चालन गर्दै जाँदा अहिले परिवारले पनि मलाई यो अभियानमा साथ दिएको छ । श्रीमान् पनि यही अभियानमा जोडिनु भएको छ । समाजले समेत अहिले हाम्रो अभियानलाई साथ दिएको हामीलाई अनुभूति भएको छ ।

 महायज्ञमा के कति दानदातव्य उठाउने लक्ष्य रहेको छ ?

 हामीले यति पैसा उठाउने भनेर यो अनुष्ठान सञ्चालन गरेका होइनौँ । यो त मानवता बचाउने अभियान हो । त्यसैले यस्ता असहाय जसका कोही छैनन् र जसका कोही हुँदैनन् अनि सडकापेक्षी मानव बनेका छन् । उनीहरूको खाना, नाना र छानाको व्यवस्थापनका लागि यो ज्ञान विज्ञान महायज्ञको आयोजना गरिएको हो ।

त्यसैले यो महाअभियानमा जोडिन पनि मैले सबै घोराही उपमहानगरबासीहरूलाई हार्दिक आग्रह पनि गर्दछु । मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने सबैले बुझिदिनुहुने छ भन्ने पनि मलाई विश्वास छ । यो मानवताको अभियानमा आफ्नो गक्ष अनुसारको दान हामीले स्वीकार गर्ने छौँ । ताकि हामीले स्थापना गर्ने अक्षकोषबाट यी सहयोगापेक्षी सडक मानवले खाना नाना र छाना पाउने छन् ।

 ज्ञानविज्ञान महायज्ञका मुख्य आकर्षणका विषयमा पनि केही जानकारी गराइदिनुस् न ?

 महायज्ञको शुभारम्भ १७ गते हुने छ । बिहान ११ बजेदेखि कलशयात्रा सुरु हुने छ । त्यसपछि महायज्ञ उद्घाटन लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती ज्युबाट हुने छ । महायज्ञमा सेवा घरमा आश्रित पाँच महिनाकी छोरीको अन्नप्राशन गराउँदै महायज्ञको शुभारम्भ गरिने छ । सडकमा भेटिएकी मनोरोगी महिलालाई सेवा घरमा ल्याइयो । उनी गर्भवती थिइन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी बच्चा निकालियो ।

बच्चा बिरामी भएका कारण कम्तिमा २७ दिन एनआइसियुमा राखेर उपचार गरेपछि निको भएपछि चार महिनाको उमेरमा ती शिशुको न्वारान गत महिनाको १५ गते मात्र गरिएको थियो । उनै शिशुलाई अन्न खुवाएर महायज्ञको शुभारम्भ हुने छ । महायज्ञ कै क्रममा उत्प्रेरणा कार्यक्रम, रक्तदान कार्यक्रम, कथा श्रवण, भजन किर्तन तथा सन्ध्या आरती तथा कार्यक्रम समापन हुने छ । महायज्ञमा सहभागी हुन फेरि पनि मैले यसै पत्रिकामार्फत् आह्वान पनि गर्दछु । सबै नेपालीको साथ सहयोग र सहभागिताबाट मात्र सेवा घरले सेवा प्रवाहलाई निरन्तरता दिनसक्छ भन्ने पनि हाम्रो मान्यता हो । सेवा कोषमा सबैले हातेमालो गरौँ ।