calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

घोराही उपमहानगरपालिकाको ४७औँ स्थापना दिवस,फोहोर व्यवस्थापन र पर्यावरण संरक्षणमा महत्वपूर्ण उपलब्धि

गोरक्ष समाचारदाता
दाङ, १६ माघ । घोराही उपमहानगरपालिकाले फोहोर व्यवस्थापन र पर्यावरण संरक्षणमा नमुना काम गरेको वक्ताले बताएका छन् । घोराही उपमहानगरपालिकाको ४७औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले फोहोर व्यवस्थापनका माध्यमबाट बायोग्यास उत्पादन र कृत्रिम जलाशय निर्माण गरेर पानीको मुहानसँगै वातावरण संरक्षण क्षेत्रमा उपमहानगरपालिकाले गरेको काम नमुनायोग्य भएको बताएका थिए ।

कृत्रिम जलाशयका माध्यमबाट घोराहीमा सुक्दै गएको पानीको मुहान संरक्षणसँगै स्थानीयलाई सिँचाइको व्यवस्था गरेर आयआर्जनमा जोडेर नमुना काम गरेको जिल्ला समन्वयन समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातलाई कम गर्न कृषि अनुदानदेखि यान्त्रिकीकरणमा जोड दिनुपर्ने भन्दै प्रमुख शर्माले भने, ‘कृषिमा लगानी गर्दै उत्पादनमा वृद्धिसँगै आयातलाई रोक्ने र जिल्लामै रोजगारीका अवसर सिर्जना गर्न ध्यान दिनुपर्छ ।’ आयआर्जनमा जोड्न उद्यमशीलता विकासका कार्यक्रम, सिप तालिमदेखि आवश्यक कानून निर्माणमा अग्रसर रहनुपर्ने बताए ।

फोहोरबाट बायोग्यास उत्पादन गरेर देशमै नमुना कामको सुरुवात गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले बायोग्यास नागरिकले उपभोग गर्ने व्यवस्था मिलाएर आम्दानीमा जोडिनुपर्ने बताए । नागरिकको नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकारले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकुद, कृषि, पर्यटनलगायत क्षेत्रमा अनुकरणीय काम गरेको बताए । घोराही उपमहानगरपालिका सुशासन र पूर्वाधार निर्माणमा उत्कृष्ट काम गरेकै कारण नेपालकै प्रथम र दोस्रो हुने गरेको भन्दै सुशासन र समृद्धिका लागि भौतिक विकाससँगै मानव संसाधनको विकासमा ध्यान दिनुपर्ने बताए ।

उपमहानगरपालिकाले संविधानले मौलिक हकका रूपमा स्थापित गरेको आधारभूत तहसम्मको शिक्षा र आधारभूत स्वास्थ्य सेवालाई पूर्णतः कार्यान्वयनमा ल्याएकोमा उच्च प्रशंसा गर्दै शर्माले आगामी दिनमा पनि उपमहानगरपालिकालाई मुलुककै उत्कृष्ट बनाउने गरी लाग्नुपर्नेमा जोड दिए । उपमहानगरपालिकाले उत्कृष्ट कार्य गर्दागर्दै केही दीर्घकालीन महत्व राख्ने योजनाहरू अघि बढ्न नसकेको भन्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले घोराहीमा चक्रपथ निर्माणको योजनासँगै सर्रादेखि कुइरेपानीसम्मको वैकल्पिक सडकको स्तरोन्नति गर्नेलगायतका निर्माणका अधुरा कामलाई पूर्णता दिन ध्यान दिन आग्रह गरे ।

स्थानीय सरकारले छोटो अवधिमा राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण घोराहीले प्रस्तुत गरिरहेको बताए । बालमैत्री पालिकाका रूपमा २०७८ मा घोषणा गरेर देशमै अनुकरणीय काम गरेको घोराहीले लैङ्गिक हिंसा नियन्त्रित तपालिका बनाउने अभियानले देशमै उत्कृष्ट हुने बाटोमा रहेकाले नगरबासीले सबैले अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले संविधानले दिएको अधिकार कार्यान्वयनमा जुट्नु अहिलेको आवश्यकता रहेको बताए । उनले सबै तह, वर्ग, समुदाय, धर्म, संस्कृतिको जगेर्ना गर्दै सुशासन कायम राख्दै समान हकहितका पक्षमा लाग्नुपर्ने बताए ।

विगतको तुलनामा अहिले धेरै राम्रो काम गरेर उत्कृष्ट हुन सफल भएको भन्दै अब स्थानीय सरकारले सार्वजनिक जग्गाको संरक्षणसँगै विपत्बाट कसरी बच्ने भन्नेतर्फ समयमै सोचेर अघि बढ्नुपर्ने बताए । ‘नागरिकलाई सेवा प्रवाह र सुशासनका विषयमा घोराहीले खेलेको भूमिका सराहनीय छ तर सार्वजनिक जग्गा व्यवस्थापन एउटा चुनौती बनेको छ’, जिल्ला अधिकारी लम्सालले भने, ‘स्थानीय सरकारले सार्वजनिक जग्गाको संरक्षणमा ध्यान दिनुपर्छ ।’ कार्यक्रममा बोल्ने अन्य वक्ताले बदलिँदो समयसँगै नगरबासीलाई सहज रूपमा सेवा प्रदान गर्न ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यवाहक नगर प्रमुख हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा घोराहीका पूर्वउपप्रमुख दामोदर अधिकारी, नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा माओवादीका नेता बसन्त चौधरी, नेकपा समाजवादीका गुरुप्रसाद महरा, राष्ट्रिय जनमोर्चाका मनिराम आचार्य, पूर्वकार्यकारी अधिकृत हरिप्रसाद पाण्डेय, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, राष्ट्रि उद्योग व्यापार महासंघका कोषाध्यक्ष गोपाल खनालले स्थानीय सरकारलाई प्राप्त अधिकारको प्रयोग गरेर नागरिकलाई सहज रूपमा धेरै सेवा प्रदान गर्न ध्यान दिनुपर्ने बताएका थिए ।

स्थापना दिवसका अवसरमा घोराही उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले पौष्टिक आहार हर्लिक, टेक्ने लठ्टीसहित खादा र प्रमाणपत्र प्रदान गरेर ज्येष्ठ नागरिकलाई सम्मान गरेको सम्मानित हुनेमा वडा नं. ४ निवासी १०४ वर्षीय उमी पुन मगर, वडा नं. ५ निवासी १०२ वर्षीय विष्णुकुमारी रावत, वडा नं. ६ निवासी १०५ वर्षीय यमुनादेवी खनाल, वडा नं. ९ निवासी १०४ वर्षीय दुर्पती कमेनी, वडा नं. १२ निवासी १०३ दास्नु थारू, वडा नं. १२ निवासी १०१ वर्षीय साइबिर खत्री, वडा नं. १४ निवासी १०० वर्षीय देव बुढा, वडा नं. १६ निवासी १०५ वर्षीय जमुनी डाँगी, वडा नं. १८ निवासी १०२ वर्षीय जुमाने सुनार र सोही वडा निवासी १०४ निवासी तुलसी आले मगरलाई सम्मानित गरेको हो ।

यसैगरी नगरपालिकामा उत्कृष्ट रहेका पाँच वटा टोल विकास संस्थाहरू फूलबारी टोल विकास संस्था, पद्मोदय टोल विकास संस्था, संयुक्त टोल विकास संस्था, सरसफाइ लालीगुराँस टोल विकास संस्था, विद्यालयतर्फ सिद्ध रत्ननाथ नारायणपुर प्रथम, जनता मावि बुका द्वितीय, पद्मोदय नमुना मावि भरतपुर तृतीय, सान्त्वनातर्फ मावि हापुर बिजौरी र आवि गिठेपानी, उत्कृष्ट उद्यमी, व्यवसायी, खेलाडी, उत्कृष्ट सहकारी संस्था, सरसफाइ अभियन्तातर्फ बयलडाँडा चौतारी क्लब, लोटस ट्रेनिङ सेन्टर, लक्षिन बुढा स्मृति प्रतिष्ठान पुरस्कृत भएका थिए । फोहोर वर्गीकृत गर्ने टोल सभागृह, नगरका १९ वटै टोलबाट १÷१ वटा उत्कृष्ट टोलहरू पुरस्कृत भएका थिए । यसैगरी उत्कृष्ट करदाताका रूपमा भिङ्ग्रेली भिलेज रिसोर्ट प्रालि, गोरखा अस्पताल, विवद व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै सशस्त्र प्रहरी गण, नगरपालिकामा कार्यरत कर्मचारीहरू पुरस्कृत भएका थिए ।

गोरक्षकर्मी पुरस्कृत

घोराही उपमहानगरपालिकाको ४७औँ स्थापना दिवसका अवसरमा गोरक्षकर्मी लीलाधर वलीसहित तीन जना पत्रकार पुरस्कृत भएका छन् । सञ्चार क्षेत्रबाट स्थानीय विषयवस्तुहरूको उठान, नागरिकमा जनचेतना अभिवृद्धि एवम् उपमहानगरपालिका गतिविधिहरूको प्रचारप्रसारका माध्यमबाट नगरको सर्वाङ्गीण विकासमा योगदान पु¥याएको भन्दै गोरक्षकर्मी वलीसहित रेडियो मध्यपश्चिमकर्मी भावना सुवेदी र ग्रामीण अपडेट अनलाइनका दीपक वली पुरस्कृत भएका हुन् ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेलले गरेका थिए । कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।