calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

संरक्षणको साटो सडकको अतिक्रमण बढ्दो

बालाराम खड्का
तुलसीपुर, १६ माघ । पछिल्लो समयमा राजमार्ग, सहायक राजमार्ग र नगरका भित्री सडकहरू कालोपत्रे, स्तरोन्नति भइरहेकाको बेला ती कालोपत्रे सडकमा जहाँपायो त्यहीँ निर्माण सामग्री राख्ने र कालोपत्रे सडकलाई दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । घर निर्माणको नाममा होस् वा अन्य प्रयोजनका लागि कालोपत्रे सडक नै ओगट्दा कालोपत्रे सडक जीर्ण हुनुका साथै सवारी आवागमनमा समस्या हुने गरेको छ ।

एकातिर राज्यको लगानी बालुवामा पानी हाले जस्तै भएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम उत्तिकै बढेको देखिन्छ । नेपालको संविधान २०७२ मा नागरिकका कर्तव्य अन्तर्गत सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नुपर्ने उल्लेख भए तापनि नागरिकले सो कर्तव्यलाई भुलेर सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणको साटो उल्टै अतिक्रमण गर्ने गरेका छन् । सार्वजनिक बाटो नै छेक्ने गरी व्यापार व्यवसाय गर्ने गरेको देखिन्छ । सम्बन्धित निकायले देखे नदेखे झैँ गरी आँखा चिम्लिएर बसेको छ । कालोपत्रे तथा ग्राभेल सडकमा विभिन्न निर्माणको प्रयोजनका लागि संघसंस्थादेखि व्यक्तिले समेत सडकै ओगटेर सामग्री राख्ने गरेको देखिएको छ । ‘सडक वरपर निर्माण सामग्रीदेखि पशुचौपायाको रजाइँ सोही सडकमा देखिन्छ, यहाँका सडक त्यसै पनि साँघुरा छन्, जसका कारण दुर्घटना हुने खतरा बढेको छ’, एकजना सवारी चलकले भने ।

सार्वजिक सडक ऐन २०३१ मा सार्वजनिक सडक सार्वजनिक सडकको वर्गीकरण गरेको छ । जस अन्तर्गत राजमार्ग, सहायक राजमार्ग, जिल्ला मार्ग र सहरी मार्ग भनेर छुट्याएको छ तर सडक डिभिजन कार्यालय अन्तर्गत राजमार्ग मात्र पर्ने र अन्य सडक स्थानीय पालिका र सम्बन्धित पालिकाले हेर्नुपर्ने व्यवस्था छ । सम्बन्धित निकायको सडक सुरक्षा तथा संरक्षणमा भने खासै ध्यान गएको देखिँदैन । सार्वजिक सडक ऐन २०३१ मा सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने माल वस्तु हटाउने सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने मालवस्तु हटाउने अधिकार छ ।

कसैले सार्वजनिक सडकमा कुनै माल वस्तु छोडेको, राखेको वा फालेको कारणबाट त्यस्तो सडकको आवागमनलाई कुनै किसिमले बाधा पु¥याएको भए त्यस्तो माल वस्तु हटाउनको निमित्त मुनासिव माफिकको अवधि तोकी सरोकारवाला व्यक्तिको नाउँमा सडक विभागले आदेश जारी गर्नसक्ने प्रावधान रहेको छ । यसैगरी (२) उपदफा (१) बमोजिम जारी भएको आदेशको अवधिभित्र नहटाएको वा धनी पत्ता नलागेको माल वस्तुलाई सडक विभागले सडकको छेउ लगाई राख्न वा आफ्ना कब्जामा राख्ने गरी अन्यत्र लैजान सक्ने, (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक सडकमा छाडिएको, राखिएको वा फालिएको कुनै माल वस्तुले त्यस्तो सडकको सम्पूर्ण आवागमनलाई अवरोध पु¥याएमा त्यस्तो माल वस्तुलाई तुरुन्त सडकबाट हटाउने अधिकार सडक विभागलाई हुने भनिएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख ई. दीपेन्द्रबहादुर विष्टले सडकमा निर्माण सामग्री जहाँ पायो त्यहीँ राख्दा दुर्घटनाको जोखिम हुने बताए । विष्टले यसले गर्दा साना तथा ठुला सवारी साधनलाई आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिममा पर्ने बताए । ‘सार्वजिक सडक ऐन २०३१ मा सबै कुरा उल्लेख छ, सबैले आफ्नो कर्तव्य बोध नगर्दा यो समस्या हुने गरेको छ’, उनले भने । विष्टले सबै सडकमा आफूहरूको क्षेत्राधिकार नभएको बताए । उनले आफ्नो क्षेत्रधिकार पर्ने स्थानमा सूचना जानकारी गराउनुका साथै निर्माण सामग्री हटाउने गरेको बताए । उनले तोकिएको मापदण्डबाहेक कोही कसैले कानूनले बन्देज गरेका काम गर्न नपाइने बताए । ‘सडकमा निर्माण सामग्री राख्दा गिट्टी, बालुवाले गर्दा सडकको नाला बुजिन्छ त्यसका साथै सडक नै कमजोर हुन्छ’, ई. विष्टले भने । उनले आफूहरूको अधिकार क्षेत्रमा त्यस्तो पाइएमा अतिक्रमण हटाउने बताए ।

यसैगरी अन्य सडकको नीति नियम बनाउने स्थानीय सरकार भएकाले सोही अनुसार गर्नुपर्ने बताए । प्रमुख विष्टले स्थानीय तह यस विषयमा जागरुक हुनुपर्ने बताए । ‘स्थानीय तहले पनि यसका लागि स्थानीयबासीमा सचेतना दिनुपर्छ, स्थानीय तहलाई अहिले धेरै अधिकार दिएको छ’, उनले भने । स्थानीय तहले अहिले आफ्नो क्षेत्रमा पाठ्यक्रम निर्माण गरेको भन्दै साना बालबालिकाबाटै यस्तो शिक्षा दिनुपर्ने विज्ञहरू बताउँछन् ।

बजार क्षेत्रमा कालोपत्रे सडक मिचेर निर्माण सामग्री नराख्न स्थानीय पालिकाले सूचना जारी गर्दा समेत अटेरे हुने गरेको छ भने अन्य सडकमा असर गरेको छ । पछिल्लो समयमा खानेपानी, विद्युतलगायतका संरचना निर्माण गर्दा सडकमा क्षति पुग्ने गरेको छ । विकासे अड्डाहरूको एकापसमा समन्वय नहुँदा तथा आफ्नो अधिकार र कर्तव्यप्रति विमुख हुँदा भएका विकास विनाश हुने गरेका छन् ।