नारायणप्रसाद सुवेदी
विश्वास जीवनलार्ई सफल र सहज गतिशिल बनाउने बलियो आधार मानिन्छ । विश्वासबाट नै मानिसले एक अर्काको मन जितेर आफ्नो आबस्यकता पूरा गर्दै आफुलाई आफ्नो गन्तव्य निर्धारण गर्न सक्षम भएको हुन्छ । एक अर्का बिच, विचारको आदानप्रदान गर्दै बाँच र बचाउको मानवीय मौलिकता बचाउँदै एकले सबैको सबैले एकको मान्यतालार्ई भरोशायुक्त बनाएको हुन्छ । नीति र नैतिकता मा आधारित कर्म र व्यवहारमा परिपक्क्ता कायम गरेको हुन्छ । आपसी सहयोग र सद्भाव बढाउँदै जीवनलार्ई गतिशिल बनाएको हुन्छ ।
यसैबाट आपसी समझदारी कायम गर्दै जीवनको पूर्वाधदेखि उत्तरार्धसम्म सुख सुविधा र आनन्दमा रमाउन सफल भएको हुन्छ । दायित्व र जिम्मेवारी दुवैलार्ई आत्मसात गरी सर्वे भवन्तु सुखिनः, सर्वेसन्तु निरामयाः को आधार बलियो बनाएको हुन्छ । हामी र हाम्रो भन्ने भावना वुद्धि गर्दै निस्वार्थ भाव जागृत गरेको हुन्छ । त्यसैले जीवन हामी र हाम्रो लागि हो, हाम्रो आवश्यकता हाम्रै पौरख र पसिना हो, हामी भए हाम्रो अस्तित्व बलियो हुन्छ भनी आपसी विश्वासको धरातल मजबुद बनाउनु पर्छ ।
सम्बन्ध विश्वासमा अडेको हुन्छ । विश्वासले सकारात्मक र नकारात्मक दुवै सोचको विकास गरेको हुन्छ । साथै विचारमा देखिने विविधतामा एकताको शृंखला बढाउँदै नम्रता र शिष्टतालाई प्राथमिकता दिँदै जीवनको उत्कृष्ट चरित्रलार्ई चिनारी दिएको हुन्छ । गलत र सही सत्यको पहिचान गरी आचरणमा शुद्धता ल्याएको हुन्छ । रचनात्मक भावनाको विकास गरी एकअर्काबिच सुमधुर सम्बन्ध कायम गरेको हुन्छ । तेरो र मेरोको भावनालाई हटाई हामी र हाम्रो भावनाको विजारोपण गरेको हुन्छ । मानव मानवबिचको कटुतालार्ई इमानदारी र विश्वासको कसौटीमा निखारी हामी र हाम्रो अस्तित्वको पहिचान दिएको हुन्छ ।
मानिसको मनभित्र रहेको अन्तरनिहित दिव्यताको बोध गराएको हुन्छ । नओइलिने मखमली फुल झै मानवीय स्वभाव र व्यवहार मा परिस्कृत गर्न सघाउ पु¥याएको हुन्छ । झुटो र गतिछाडा संस्कृतिको अन्त्य गरी सिर्जनाका नयाँ प्रतिभाको प्रस्फुटन गराउन मद्दत गरेको हुन्छ । इष्र्या र घमण्ड तथा अहंकारलार्ई पन्छयाउँदै कर्तव्यको बोध गराएको हुन्छ । तेरो मेरोको गलत भावनालार्ई अलग राखी बसुधैव कुटम्बकमको यथार्थभित्र मन र बचनलार्ई आवद्ध गरेको हुन्छ । नयाँ पिढीलार्ई अनुशासित एवम् मर्यादित जीवनशैली निर्वाह गर्न उत्प्रेरिक गरिरहेको हुन्छ ।
तसर्थ प्रत्येकले विश्वासबाट उत्पत्ति हुने सकारात्मक भावनाको अनुकरण गरी जीवनलाई सहज गतिशिल बनाउन लागि पर्नु पर्दछ । विश्वास र भरोशा एवम् इमान्दारिताबाट नै आत्मविश्वास बढ्ने र भावनाको नयाँ अंकुर पलाउने हुँदा आमजन मानिस सबैले विश्वासको धरातल बलियो बनाउनु पर्दछ । भेदभाव रहित सामाजिक आदर्श कायम गरी विचारमा परिपक्क्ता प्रदर्शन गर्न सक्नुपर्दछ । मानिस सामाजिक प्राणी हो । समाजमा विद्यमान विविध संस्कृति र संस्कार तथा मान्यताले उसलार्ई हरमेशा पन्छ्याइरहेको हुन्छ । समाजमा स्थापित संस्कारले उसको आचरण र व्यवहारमा प्रभावकारी भूमिका खेलिरहेको हुन्छ । मानव जन्म लिएपछि उसले गर्ने प्रत्येक कार्यहरु तथा विचारका अन्य पहलुमा प्रत्यक्ष अप्रत्यक्ष रुपले सामाजिक रहनसहन तथा वातावरणले उसमा प्रभाव पारिरहेको हुन्छ ।
मानिसको मन कर्म र व्यवहार कुन गतिमा ,कुन दिशामा, दौडिरहेको छ, उसको आचरण र व्यवहार, कसरी, कहाँ कुन, प्रयोजनको लागि प्रयोग भइरहेको छ, यी सबै सामाजिक परिवेशले नियालिरहेको हुन्छ । यति मात्र होइन मानव जीवनले अंगिकार गर्ने मार्गले घर समाज र राष्ट्र समेत डोरिएको हुन्छ । भन्ने मान्यता पनि यसले बोकिरहेको हुन्छ । तसर्थ मर्यादित सामाजिक जीवन जिउन र सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामयाको भावना र मर्मलार्ई मानव चरित्रभित्र अंगीकार गर्न विश्वासिलो जीवनशैली निकै आवश्यक पर्दछ । त्याग र समर्पण बिना एकअर्काबिच विश्वास र भरोसा नहुने हुँदा यसले ल्याउने विविध विकृतिप्रति पनि सधैं चनाको भइरहनुपर्दछ । झुटो सत्यले मानवीय चरित्रलार्ई प्रतिगमनतर्फ धकेल्ने हुँदा यसतर्फ सबै क्षेत्र व्यक्ति समाज चनाखो हुन जरुरी छ ।
संसारमा जति पनि दुर्घटनाहरु भए गरेका छन् त्यसको पछाडि कतै न कतै अविश्वास र दम्भको मानसिकता लुकेको पाइन्छ । ठूला–ठूला क्रान्ति प्रतिक्रान्ति हुनु यसैको प्रतिफल हो । कसका लागि विश्वास गर्ने, किन गर्ने, यो नगरे के हुन्छ, जस्ता आडम्बरी भावना जगाई मै खाउँ मै लाउ मै मात्र मोज मजा गरु भन्ने चिन्तन बढाउनु भनेको आफू र आफ्नो मानवीय स्वभावलाई स्वार्थ केन्द्रित गर्न खोज्नु हो । यस्तो चरित्र र स्वभाव प्रदर्शन गरेको कारणले नै विश्व परिवेशमा खतरा निम्त्याइएको पाइन्छ । वर्तमान समयमा एकअर्काबिच भएको सद्भाव र सुमधुर सम्बन्धले विश्व परिवेश साँघुरो घेराभित्र आइरहेको अवस्था मा पनि हाम्रो मानसिकतामा अविश्वासको बादल मडारिनु निश्चय पनि दुःखद विषय हो । २१आँै शताब्दीसम्म आइपुग्दा पनि मानवीय सोच स्वार्थभित्र डगमगाउनु यो निश्चय पनि दुःखद विषय हो ।
अब पनि अविश्वासले ल्याउने गलत धारणालार्ई प्रोत्साहन दिँदै जाने हो भने विश्वास र अविश्वासको भुमरीभित्र मानव अस्तित्व सङ्कटमा पर्ने सम्भावना बलियो रहन्छ के यो सोच्ने बुझ्ने परिस्थिति मानव स्वयम्ले सिर्जना गर्न सक्दैन र ? निहित स्वार्थ र क्षणिक सुखानुभूतिले अर्कोमाथि दमन गरी आफू बलियो बन्ने संस्कार के दिगो रहन सक्छ ? त्रासको वातावरण सिर्जना गरेर म र मेरो भन्ने स्वार्थको विजारोपण गर्नु के मनासिव हो ? के हाम्रो अस्तित्व गमलामा सजाइएको खेलौना हो र ? यस्तो गलत संस्कार बसाली विश्वासको धरातल कमजोर बनाउनु भनेको आफ्नो खुट्टा मा आफैले बन्चरो हान्नु होइन र ? त्यसैले वर्तमान समयमा मडारिँदै गरेको अविश्वासको बादल हटाई विश्वासको धागो बलियो बनाउन जरुरी छ । मन बचन र कर्मले एकअर्कामा विश्वासको भाव बढाई हरेक घटनाको सामुहिक मुकाबिला गर्ने वातावरणको सिजृना गर्नु परेको छ । झुटो, देखावटी र बनावटी पिरती हैन विश्वासको पिरती लगाउनु परेको छ ।
आजभोलि राजनैतिक, सामाजिक, एवम् अन्य क्षेत्रमा विश्वासको खडेरी परेको अवस्था देखिएको छ । जताततै अस्तबस्त छ । कोही कसैलाई कोही कसैको मतलब छैन । सबै आफ्नो स्वार्थपूर्तितर्फ केन्द्रित भइरहेको देखिन्छ । के राम्रो के नराम्रो त्यसतर्फ नसोची मेरो बाख्राको छ शेर भनी निहित स्वार्थमा कुर्लीरहेको देखिन्छ । विषयलार्ई अनेत्रै मोडी म र मेरो भावनाको विजारोपण गरिँदै छ । म र मेरो बाहेक अरु कुनै विश्वासी हुँदैनन् भनी म नै अकण्टक हुँ भन्ने दम्भ देखाउँदै गरेको देखिँदै छ । विचार र कर्मभन्दा समय बलवान हुन्छ भन्नेतर्फ नसोची म सधै जवान र शक्तिशाली हुन्छ भन्नेतर्फ मानवीय चिन्तन बढेको छ । यो कति सार्थक होला ? यस्तो गलत आचरण र अविश्वासको भारीले मानिसको मन वुद्धि विवेक कति स्वच्छ हुन सक्ला ? यो गम्भीर प्रश्न अहिले सलबलाई रहेको पाइन्छ ।
समाजमा भइरहेका यस्ता गलत चिन्तन र कार्यले एवम् राजनीतिक अस्वस्थताले भित्रभित्र कुहिजा बाहिरबाहिर निको होइजा भन्ने मानसिकता बढ्दै जाने हो भने हामीले हाम्रो राष्ट्रिय स्वाभिमानलार्ई हामी आफैले सौदा गर्न लागिरहेको त होइन ? यो प्रश्न पनि उठ्ने सम्भावना बढ्दै गएको छ । नारी अस्मिता बचाउने नाममा जसरी महिला बेचबिखन भइरहेका छन्, महिलाको अस्तित्व लुटिएको छ, न्याय सम्पादन कमजोर भई पीडित पक्ष सधैँ थिचोमिचोमा रहेको दृश्य देखिरहेका स्थिति छ, यस्तो परिस्थितिमा राष्ट्रिय स्वाभिमानले खोजेको विश्वासको धागो कति मजवुत होला ?
दिउँसै डराएर हिडनु पर्ने परिस्थिति आउनु भनेको हामीले हाम्रो विचार, नैतिकता र विश्वास हराएको मानिँदैन र ? तसर्थ समय मै जीवनको गति र समयको पावन्दीलार्ई बुझेर अघि बढ्नुको विकल्प नभएको कुरालार्ई हृदयगम गरी प्रत्येकले आफुलाई प्रस्तुत गर्नु परेको छ । सामाजिक आदर्शलार्ई नबिर्सी उत्तरदायित्व पूर्ण जीवन निर्वाहको लागि विश्वास र इमान्दारितालार्ई आत्मसात गर्नु परेको छ । विश्वास सबै हो, यो नै जीवन जिउने आधार हो भन्ने सोच विकास गरी सबै लागि पर्नु परेको छ । यो वर्तमानको आवश्यकता पनि हो । अस्तु ।