Goraksha

National Daily

डिजिटल पत्रकारितासम्बन्धी प्रशिक्षण सुरु

मधुसूदन गिरी
कमिरेचौर, १६ माघ । बंगलाचुली गाउँपालिकामा डिजिटल पत्रकारिता, मिडिया व्यवस्थापन तथा सकारात्मक सोचको विकाससम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा रेडियो बंगलाचुलीको आयोजनामा तालिमको मंगलवार उद्घाटन गरिएको हो ।

रेडियो बंगलाचुलीका स्टेसन म्यानेजर जीवन नेपालीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले अहिले हरेक क्षेत्रमा डिजिटल माध्यमबाट काम हुने भएकाले पत्रकारिता पनि डिजिटल हुनुपर्ने बताए । गाउँपालिकाका नागरिकलाई सुसूचित गराउन र मिडिया क्षेत्रलाई बचाइराख्न पालिकाले नै लगानी गरेर रेडियो सञ्चालन गरेको बताए । रेडियो सूचना प्रसारणको महत्वपूर्ण माध्यम भएकाले पालिकाले नै लगानी गरेर रेडियो स्थापना गरेको उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले सकारात्मक तथा नकारात्मक जुनसुकै समाचार लेख्दा भाषामा ख्याल गर्नुपर्ने बताए । सहभागीलाइ तालिममा भरपुर फाइदा लिन आग्रह गरे । यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव जेएन सागरले दाङका अन्य पालिकाको तुलनामा बंगलाचुली गाउँपालिकाले सञ्चार क्षेत्रमा धेरै लगानी र योगदान गरेको बताए । वार्षिक रूपमा यस्ता खालका तालिमको आयोजना गर्नुले सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश महासचिव भुपेन्द्रप्रकाश वली, प्रेस सेन्टर दाङका सहसचिव गिरिराज नेपाली, नेपाल प्रेस युनियन दाङका जिल्ला सदस्य हिमाल महरालगायतको सहभागिता रहेको थियो । तालिममा बंगलाचुली गाउँपालिका–८ वटै वडाबाट गरी करिब ३० जनाको सहभागिता रहेको छ ।

पहिलो दिनको प्रशिक्षकमा ं नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष नरेन्द्र केसी र नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर रहेका थिए । रेडियो बंगलाचुलीका बजार व्यवस्थापक जंग रेउलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियो बंगलाचुलीमा कार्यरत मधुसूदन गिरीले गरेका थिए ।