गुरुकुलको बालबालिका सम्मेलन

गोरक्ष समाचारदाता
दाङ, १६ माघ । गुरुकुल एकेडेमीले बालबालिका सम्मेलन तथा वार्षिकोत्सव सम्पन्न गरेको छ । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा मङ्गलवार वार्षिकोत्सव भएको हो ।

कार्यक्रम विद्यालयका विद्यार्थीलार्ई शैक्षिक र सांस्कृतिक क्षेत्रका विभिन्न गतिविधिमा प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाले नृत्य, गीत, नाटक, भाषण र अन्य सांस्कृतिक प्रस्तुतिसहित शैक्षिक प्रदर्शनी गरेका थिए । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्रदर्शन, खेलकुदमा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लम्सालले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

बालबालिकाको चौतफीक विकासमा ध्यान दिनुपर्ने समेत उनले बताए । गुरुकुल एकेडेमीका अध्यक्ष ई.घिमिरेले कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै विद्यालयको शिक्षा क्षेत्रका महत्वपूर्ण योगदानबारे चर्चा गरेका थिए । उनले यस प्रकारका कार्यक्रमले विद्यार्थीको बहुआयामिक विकासमा मद्दत पुग्ने बताए ।

मानव कल्याण समाजका केन्द्रीय अध्यक्ष सुमी मानवले मानव कल्याण समाजको बारेमा जानकारी गराएकी थिइन् । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा.कृष्णराज डिसी, मञ्जरी पुन र सुनिता रानी पुनलगायतले भनाइ राखेका थिए ।

गुरुकुल एकेडेमीले भविष्यमा यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । मन्टेस्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक रेसु राउतले गरेकी थिइन् ।