महिलालाई आत्मनिर्भर बनाउन व्यूटिसियन तालिम
जयन्ती चौधरी
तुलसीपुर, १६ माघ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा घरेलु तथा साना उद्योग दाङको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा दुईमहिने व्युटिसियन तालिम सञ्चालन भइरहेको छ । ४० जना महिलाको सहभागिता रहेको तालिमले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ की सीमा पुन बेरोजगार समय घरमै बिताउँदै आएकी थिइन् । उनी तालिममा सहभागी भएपछि कपाल काट्ने, वाक्स, थ्रेडिङ, मेनिकियर–पेडिकियरजस्ता सिप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छिन् । सार्वजनिक सवारीमा दैनिक ७० रुपैयाँ खर्च गरेर तालिममा आउने सीमा तालिम पूरा गरेपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने इच्छा व्यक्त गरिन् । बजारमा कडा प्रतिस्पर्धा भए पनि त्यसको सामना गर्न सक्ने आफूमा आँट भएको उनले बताइन् ।
तुलसीपुर उपमहानगरपालिका–७ की इन्द्राकुमारी भण्डारी पनि तालिममा सहभागी भएकी छन् । उनले पनि खाली समयको सदुपयोग गर्दै व्युटिसयन तालिम सिकेर आफू अब्बल व्यटिसियन बन्ने बताइन् । तालिम लिइसकेपछि घरमै व्यवसाय सञ्चालन गरेर आर्थिक रूपमा बलियो बन्ने उनको उद्देश्य छ । उनले आधारभूत तालिमभन्दा माथिल्लो स्तरको तालिम प्रदान गर्न आयोजकलाई अनुरोध पनि गरेकी छन् । यसैगरी तुलसीपुर–६ निवासी एकता भण्डारी बिहानको समयमा कलेज जान्छिन् भने दिउँसोको समयमा व्युटिसियन तालिममा सहभागी हुन्छिन् । भविष्यमा व्यवसायी बन्ने लक्ष्य राखेकी एकताको महिलाहरू आर्थिक रूपमा सक्षम बन्नुपर्ने धाराणा छ । यसैगरी बर्दिया बाँसगढी–६ प्रगतिनगर घर भई हाल तुलसीपुर–८ दोघरे बस्दै आएकी पूर्णिमा बस्यालले वैदेशिक रोजगारीमा जाने इच्छाले तालिममा सहभागी भएकी छिन् । उनले हालसम्म कपाल काट्न, थ्रेडिङ, मेनिकियर–पेडिकियर र मेहेन्दी लगाउने सिप सिकिसकेकी छिन् । तालिममा सिकेका सिपलाई भविष्यमा व्यावसायिक रूपमा उपयोग गर्ने उनको योजना छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसीले बेरोजगार महिलालाई उद्यम र व्यवसायमा जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । तालिमपछि महिलालाई न्यूनतम व्याजदरमा कर्जा उपलब्ध गराउने बैंकहरूले प्रतिबद्धता व्यक्त गरेको उपाध्यक्ष केसीले जानकारी दिए । संघले अहिले व्युटिसियन, प्लम्बिङ, र इलेक्ट्रोनिक्समा गरी ५५ जनालाई तालिम दिइरहेको छ । उपाध्यक्ष केसीले तालिमले महिलालाई आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । सहभागी महिलाले तालिमलाई उपयोगी मानेका छन् तर आधारभूत तालिमपछि थप तालिमको आवश्यकता पर्ने बताएका छन् । उनीहरूले आयोजकलाई तालिमको स्तरवृद्धि गरी व्यवसाय सञ्चालनमा अझ उपयोगी बनाउन आग्रह गरेका छन् । दुईमहिने व्युटिसियन तालिमले महिला सशक्तिकरण र उद्यमशीलता प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताए ।
