कृषकलाई निःशुल्क कृषि सामग्री
गोरक्ष समाचारदाता
दाङ, १६ माघ । कृषि ज्ञान केन्द्र दाङले कृषकलाई निःशुल्क कृषि सामग्री वितरण गरेको छ । चालु आर्थिक वर्षको कार्यक्रम अनुसार फलफूल बगैँचा सुदृढीकरण कार्यक्रम अन्तर्गत सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको कृषि ज्ञान केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिए । कार्यालयले माग गरेको निवेदनका आधारमा फिल्डमा अनुगमन गरेर कृषक छनोट गरिएको बस्नेतले बताए । कार्यालयले एक लाख बराबरको सामग्री कृषकलाई प्रदान गरेको उनले बताए । कृषकको माग अनुसार सामग्री खरिद गरेर वितरण गरिएको उनको भनाइ छ । कागती, सुन्तला, आँपको खेती गरेका कृषकलाई सामग्री प्रदान गरिएको हो ।
कृषकलाई आरी, सिकेचर, बोर्डोपेस्ट, पावर स्प्रेयर, क्यारेट, भ¥याङ प्रदान गरिएको बस्नेतले जानकारी दिए । नन्दलाल खत्री न्यौपाने–कृषि तथा पशुपन्छी फर्म राजपुर–७ गोठुवा, इश्रीबहादुर खत्री–राजपुर–७ गोठुवा, सावित्री खड्का राजपुर–७ गोठुवा, पहाडी कृषि सहकारी संस्था लिमिटेड–बंगलाचुली गाउँपालिका–५ साकिनीका थम्मन वली, अम्बिकेश्वरी कृषि अनुसन्धान प्रालि तुलसीपुर उपमहानगरपालिका–१८ का आशाराम नेपालीलाई सामग्री हस्तान्तरण गरिएको हो । सामग्रीहरूले आफूहरूलाई सहज हुने कृषकले बताएका छन् ।
बगैँचाको उचित व्यवस्थापन गर्न नसक्दा उत्पादन बढाउन नसकिएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिए । यसबारे कृषकलाई सचेतना दिन आवश्यक रहेको समेत बताए । बगैँचाको उचित व्यवस्थापन गर्नसके उत्पादन वृद्धि गर्न सकिने र आम्दानी धेरै लिन सकिने उनले बताए । प्रविधिको प्रयोग गरेर अगाडि बढ्न समेत उनले आग्रह गरे । कार्यक्रमको सहजीकरण कार्यालयका अधिकृत देवा महराले गरेकी थिइन् ।
