राप्ती लाइफ केयरमा नर्सिङ दिवसमा विविध कार्यक्रम
दाङ,१५ माघ । तुलसीपुरमा रहेको राप्ती लाइफ केयर हस्पिटलले ६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ। मंगलबार राप्ती लाइफ केयर अस्पताल , यस अन्तर्गतका शिक्षण संस्थाहरूको आयोजनामा विविध कार्यक्रम गरिएको हो ।
नेपाल नर्सिङ दिवसको अवसरमा रक्तदान कार्यक्रम बिरामीहरूलाई फलफुल वितरण तथा सांस्कृतिक कार्यक्रम गरिएको हो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष हरि रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नर्सिङ पेसा मानवीय भावनासँग जोडिएको पेशा भएकोले यो पेशालाई मर्यादित र व्यवस्थित गर्नुपर्ने बताएका थिए । उनीहरुले नर्सिङ पेसा सेवाभावको पेशा भएकाले पेशा मात्रै नभएर मानवीय सेवा भएको बताए।
अस्पताल सञ्चालक समितिका अध्यक्ष हरि रिजालले नर्सिङ पेशा पुण्यको काम भएकोले पुण्यको कामका लागि मानवीय व्यवहार अनिवार्य रहेको बताए ।
बोली वचन व्यवहार र पहिचान बनाएर नर्सिङ पेशा अपनाउनुपर्ने उनको भनाइ थियो उनले विभिन्न क्षेत्रमा नर्सिङ पेशाको माग बढिरहेको भए पनि राज्यले अंकुश लगाउने नीति लिएको भन्दै गुनासो गरे । नीति अनुसार अहिले केही नर्सिङ क्याम्पसहरु बन्द भइसकेको अवस्था र माग संख्या बढेको भन्दै उनले तत्काल नीतिलाई सुधार गरेर जनशक्ति उत्पादन बढाउनु पर्ने बताए ।
अस्पताल निर्देशक दोर्ण बहादुर ओलीले पेशामध्यको उत्कृष्ट पेशा नर्सिङ पेसा भएकोले सेवाभाव र एकताबद्ध भएर लैजानुपर्ने बताए । नर्सिङ पेशा आदर्शको पेशा भएको र यसको ग्लोबलाइजेसन रहेको बताए ।
अस्पतालका निर्देशक जीवन भण्डारीले नर्सिङ पेशाको विश्वव्यापी माग बढेको र त्यो खालको जनशक्ति उत्पादनमा राप्ती लाइफ केयर हस्पिटल लागेको बताए । उनले राप्ती लाइफ केयर हस्पिटल अन्तर्गतका शिक्षण संस्थाहरूले उत्पादन गरेको जनशक्ति विश्व बजारमा बिकन सक्के खालेरहेको बताए ।
नर्सिङ क्याम्पस प्रमुख अमर सुवेदीले सीप युक्त नर्सिङ जनशक्ति कलेजले गरि रहेको बताए । उनले फलोरेन्स नाइट्रिङ्गेलको भावनालाई बुझेर नर्सले सेवा गर्नु पर्ने बताए । उनले नर्सिङ पेशा अहिले आवश्यकताको पेशा भएको र बिरामीहरूको सहारा दिने पेशा भएको बताए । त्यसकारण यसलाई मर्यादित र व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिए ।
दिवसको अबसरमा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो भने अस्पतालका विरामी र मानव सेवा आश्रममा रहेका करिब एक सय जनालाई फलफूल वितरण गरिएको थियो भने १७ जनाले रक्तदान गरेका थिए । विद्यार्थी र अस्पतालमा कार्यरत कर्माचारी, स्वास्थ्यकर्मीले रक्तदान गरेको प्रमुख सुबेदीले बताए । कार्यक्रममा स्वागर नर्सिङ इन्चार्ज सचिता न्यौपानेले गरेकी थिइन ।
