पाँच सय शैयाको सञ्जीवनी अस्पताल सञ्चालनमा आउँदै
गोरक्ष समाचारदाता
दाङ, १३ माघ । दाङको घोराहीमा पाँच सय शैयाको शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्ली भानपुरमा सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल सञ्चालनका लागि अहिले भौतिक पूर्वाधार निर्माणको काम धामाधम भइरहेको छ ।
भौतिक पूर्वाधार निर्माणको काम अहिले करिब ८० प्रतिशत सम्पन्न भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिए । तीन तलाका नौ वटा भवन निर्माणको काम तिव्र गतिमा भइरहेको छ । ‘अहिले नौ वटै भवनको तीन तलासम्म निर्माण हुन्छ, पछि सबै भवनमा थप दुई तला गरेर पाँच तला पु¥याइने छ ’ रोकाले भने । भौतिक पूर्वाधार निर्माणको काम सँगसँगै अन्य प्राविधिक तयारी तथा अस्पताल सञ्चालन स्वीकृतिका प्रक्रिया अगाडि बढाइएकाले अस्पताल छिट्टै सञ्चालनमा ल्याइने भएको छ । आउदो नयाँ वर्षबाट सुरु गर्ने गरी तयारी थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
‘काम गर्दै जादा कुनै प्राविधिक समस्या भएन भने नयाँ वर्षबाट अस्पताल सञ्चालन गर्ने गरी काम भइरहेको छ’ प्रमुख कार्यकारी अधिकृत रोकाले भने । अस्पताले आवश्यक पर्ने जनशक्तिको समेत माग गरेको छ । पाँच सय जनशक्ति आवश्यक पर्ने प्रमुख कार्यकारी अधिकृत रोका बताउँछन् । ‘छिट्टै नै अस्पताललाई आवश्यक पर्ने जनशक्ति भर्ना गर्ने काम हुने छ’ रोकाले भने । अस्पतालको भौतिक निर्माणसँगै अन्य प्राविधिक काम समेत भइरहेको उनको भनाइ छ ।
अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्सा अन्तर्गत कार्डियोलोजी, गैस्ट्रोएन्टरोलोजी, युरोलोजी, एमआरआई लगायतका विभिन्न पच्चिसभन्दा बढी र विशिष्टकृत सेवा अन्तर्गत पन्ध्रभन्दा वटा सेवा उपलब्ध हुने उनले बताए । अस्पतालमा १४ बटा मोडुलर शल्यक्रिया कक्षहरू, आइसियु, एसआइसियु, एन आइसियु, पी आइसियुलगायतका सुविधा पनि पर्याप्त मात्रामा रहने भएको छ । यी सुविधा भएपछि जटिल प्रकृतिका प्रसुती तथा अन्य शल्यक्रियाका लागि काठमाडाँै वा अन्यत्र जानु नपर्ने र सहजै दाङमा हुने रोकाले बताए ।
‘सञ्चालनमा आएपछि यो अस्पताल अत्याधुनिक सुविधा भएको उपत्यका बाहिरको नमुना अस्पताल हुन्छ’ रोकाले भने ‘विशेषगरी पश्चिम नेपालमा यस्तो अत्याधुनिक सुविधा सम्पन्न साली अस्पताल अन्त कतै छैन्, सञ्चालनमा आयो भने यो नै पहिलो हुन्छ ।’ अस्पताल सञ्चालन भएपछि दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यानका जनतालाई विशेष लाभ मिल्ने समेत उनी बताउँछन् ।
यी जिल्लाका बिरामी नेपालगञ्ज, बुटवल, भैरहवा, काठमाडाँैसम्म जानु पर्ने बाध्यता हट्ने उनको भनाइ छ । ‘काठमाडौँ कै सेवा दाङमा पाइने भएपछि अब बिरामी अन्यत्र जानु पर्ने छैन’ रोकाले भने ‘मेडिकल व्यवसाय भनेको सामाजिक तथा मानव सेवासँग जोडिएको विषय पनि हो, गरिब, निम्न आय भएका जनताका लागि पनि विशेष सुविधा रहने छ’ रोकाले भने । बिरामी बाहिर जान नपरे पछि सहजता हुने उनको भनाइ छ ।
अस्पताल सञ्चालन भएपछि नर्सिङ र प्यारामेडिकल विषय पढाइ सुरु हुने रोकाले बताए । ‘अस्पताल सञ्चालन भए लगत्तै हामीले नर्सिङ र प्यारामेडिकल जस्ता विषय तुरुन्तै सञ्चालन गर्छौँ’ रोकाले भने । एमविविएस विडिएस, एमडी जस्ता विषयहरू अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्रै सञ्चालन हुने उनको भनाई छ । ‘अहिलेको हाम्रो चिकित्सा शिक्षा ऐनमा यी विषय सञ्चालन गर्नका लागि न्यूनतम तीन सय शैया क्षमताको अस्पताल कम्तीमा तीन वर्ष सञ्चालन भएको हुनुपर्छ अनि मात्र ती विषय पढाउनका लागि विश्वविद्यालयमा प्रस्ताव पेस गर्न पाइन्छ’ रोकाले भने ।
अस्पताल निर्माणमा कुल पौने तीन अर्ब लगानी हुने उनले बताए । अस्पतालको सञ्चालक अध्यक्ष प्रतिष्ठित मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल हुन् । उनले कोहलपुरमा नेपालगञ्ज मेडिकल कलेज भैरहवामा युनिभर्सल मेडिकल कलेज पोखरामा गण्डकी मेडिकल कलेज र नेपालगञ्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज सञ्चालनमा ल्याइसकेका छन् ।
