Goraksha

National Daily

सरकार नढले माओवादीलाई फाइदा : अध्यक्ष दाहाल

गोरक्ष समाचारदाता
दाङ, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नै भारीले थिचिएर ढल्ने बताएका छन् । प्रेस सेन्टर नेपालले शनिवार दाङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सरकार गिराउनका लागि माओवादी नलागेको बताए ।

‘यो सरकार गिराउनका लागि माओवादी लागेको छैन, यो आफ्नै भारीले थिचिएर ढल्छ’, अध्यक्ष दाहालले भने, ‘सरकारप्रति कांग्रेस–एमालेभित्र कै नेताहरूको असन्तुष्टिले यसको पुष्टि गरिरहेको छ ।’ कांग्रेस र एमालेका नेताहरूले नै गठबन्धनको विपक्षमा बोल्दै हिँडेको भन्दै दाहालले यसलाई सरकार ढल्ने संकेतका रूपमा बुझ्नु पर्ने बताए ।

आफूहरू सरकार ढाल्ने प्रयासमा नरहेको भन्दै अध्यक्ष दाहालले वर्तमान सरकार २०८४ सालसम्मै टिके माओवादीलाई फाइदा हुने समेत बताए । ‘यो गठबन्धन २०८४ सम्मै कायम रहे माओवादीलाई फाइदा हुन्छ,’अध्यक्ष दाहालले भने, ‘तर सत्य के हो भने सरकार लामो समयसम्म जान्न, हामीले सरकार ढाल्नका लागि केही गर्नै पर्दैन, आफै सरकार ढल्छ ।’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सेटिङका लागि आफूलाई दबाब दिएको बताए तर आफूले ओलीका सेटिङलाई अस्वीकार गरेको भन्दै उनले यही अस्वीकारका कारण आफू विरुद्ध ओलीले सत्ताको गोटी चालेको समेत बताए ।

‘देशमा विभिन्न सेटिङहरू हुन्छन्, म प्रधानमन्त्री हुँदा मैले यस्ता सेटिङका बारेमा धेरै बुझेको छु,’ अध्यक्ष दाहालले भने ‘अहिलेका प्रधानमन्त्रीले मलाई सेटिङका लागि दबाब दिए, तर मैले अस्वीकार गरेँ, मैले अस्वीकार गरेकै कारण सरकारबाट हटाउने खेल ओलीले गरेका थिए ।’ यसैगरी अध्यक्ष दाहालले विपक्षी दलहरू एकजुट भएर सरकारका गलत कदमविरुद्ध लाग्ने र छिट्टै समाजवादी मोर्चालाई क्रियाशिल बनाएर अघि बढ्ने बताए । प्रतिपक्षमा रहेका बाम शक्तिहरू बिच एकता अपरिहार्य रहेको भन्दै अध्यक्ष दाहालले यसले चाँडै पूर्णता पाउने बताए । तर एमालेसँग भने कुनै पनि सहकार्य नहुने अध्यक्ष दाहालले बताए ।

‘प्रतिपक्षमा रहेका बाम शक्तिहरू बिच एकताको प्रयास भइरहेको छ, यसले सकारात्मक मोड लिइरहेको छ,’ अध्यक्ष दाहालले भने, ‘तर बाम शक्तिकै रूपमा रहेको एमालेसँग भने कुनै पनि सहकार्य कहिल्यै पनि अब हुँदैन ।’ माओवादी आफ्नो खुट्टामा उभिन सक्दैन भन्ने आरोप खेप्नु परेकोले अब आफ्नै बलबुतामा चुनाव लडेर देखाउने बताए । भर्खरै भएको उपचुनावमा एक्लै लडेर परीक्षण गरिसकेको र राम्रै नतिजा आएको दाबी गरे । यही क्रममा नै अहिले देशव्यापी अभियानमा हिँडिरहेको भन्दै अध्यक्ष दाहालले भने,‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्णका लागि हामी एक्लै निर्वाचनमा जान्छौँ, कसैको साथ लिदैँनौ ।’ उनले गएको उपनिर्वाचनमा माओवादी दोस्रो दल बनेको समेत बताए ।

माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी रूपमा सुशासन, समृद्धिको अभियान चलाएको भन्दै अध्यक्ष दाहालले अभियानका क्रममा देखिएका जनता माओवादीको शक्ति भएको बताए । अध्यक्ष दाहालले माओवादी सत्ता प्राप्तिको पक्षमा नरहेको भन्दै पार्टीको प्राथमिकता सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि भएको बताए । देशमा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि माओवादीलाई स्पष्ट बहुमत आवश्यक रहेको बताए ।

माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै अध्यक्ष दाहालले भने,‘माओवादी सत्ताका लागि मरिहत्ते गर्ने पार्टी होइन फरक पार्टी हो । कामबाट नै त्यो पुष्टि भइरहेको छ । माओवादीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको छ । सत्ताको खेलमा छैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्न कांग्रेस र एमालेसँग सहकार्यको आवश्यकता रहेको बताए । विगतमा सहमति गरेका दलहरू विभाजित हुँदा राम्रो सन्देश नजाने र शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्न अप्ठ्यारो हुने भएकाले एजेण्डाका रूपमा फरक भए पनि शान्ति सम्झौतालाई निष्कर्षमा पु¥याउनका लागि मिल्न आवश्यक रहेको बताएका थिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले विपक्षी दलहरू एकजुट भएर सरकारका गलत कदमविरुद्ध लाग्ने र छिट्टै समाजवादी मोर्चालाई क्रियाशिल बनाएर अघि बढ्ने बताए । स्थानीय विकाससँग जोडिएका योजनाका बारेमा कुरा गर्दै प्रचण्डले टरिगाउँ विमानस्थलको विकासले यस क्षेत्रको बहुआमिक विकासमा अर्थ राख्ने भएकाले माओवादीले पहल गरिरहेको बताए ।

विगतमा आफू प्रधानमन्त्री भएको समयमा पनि टरिगाँउ एयरपोर्टको विकासका बारेमा स्थलगत अनुगमन गरेर स्तरवृद्धिका लागि बजेट विनियोजन गरेर पहल गरेको भन्दै अध्यक्ष दाहालले भने,‘विगतमा स्तरवृद्धिका लागि पहल भए पनि राजनीतिक स्वार्थका कारण सफल हुन सकिन । अहिले सबै दलहरू टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि सहमति भएका छन्, अब पक्कै हुनेछ ।’ प्रेस सेन्टर दाङ शाखा अध्यक्ष जनक नेपालीको अध्यक्ष तथा उपाध्यक्ष जीवन नेपालीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दिपक बोहराले गरेका थिए ।