गुरुकुलमा विज्ञान कला प्रदर्शनी
गोरक्ष समाचारदाता
दाङ १३ माघ । गुरुकुल एकेडेमी घोराही आफ्नो १०आँै वार्षिक उत्सवको अवसरमा विज्ञान प्रदर्शनी गरेको छ । गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरका विद्यार्थीले बनाएका वैज्ञानिक सामग्रीको एक कार्यक्रमका बिच प्रदर्शनी गरेको हो । कक्षा ३ देखि १२ सम्मका विद्यार्थीले विज्ञान प्रदर्शनिमा भाग लिएका थिए ।
विद्यालयले एक औपचारिक कार्यक्रम गरेर विज्ञान प्रदर्शनी गरेको हो । विज्ञान प्रदर्शनीको अवलोकन गर्दै प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले आफूले प्रदर्शनीबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए । अधिकारीले विज्ञान प्रदर्शनी, प्रदर्शनी मात्र नभएर प्रतिस्पर्धा भएको कारणले विद्यार्थीलाई अझ धेरै कुरा बनाउनको लागि उत्सुकता जागेर आउने बताए ।
कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एउटा बालकलाई कसरी पूर्ण मानव बनाउन सकिन्छ भन्ने हेतुले विद्यालयले विज्ञान सम्बन्धिका कुरामा पनि सहभागी गराउने गरेको बताए । कुनै पनि विद्यालय राम्रो कि नराम्रो भन्ने बारेमा विद्यालयले विद्यार्थीलाई कस्तो प्लेटफर्म प्रदान गर्छ भन्ने कुरा अग्रपंक्तिमा आउने उनको भनाइ छ ।
गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले भनाइ राखेका थिए । विज्ञानकला प्रदर्शनीमा हवाइजहाज, ड्रोन क्यामरा, लुम्बिनी प्रोजेक्ट हल, क्ल्याप स्विच स्टिक फर ब्लाइन्ड पर्शन, स्मार्ट सिटि, एसि, कुलर, सोलार कुकर, वाटर साइकल, सेभ द अर्थ लगायतका सामग्री बनाएर प्रदर्शनीमा राखिएको थियो ।
गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक जितबहादुर थापाले गरेका थिए ।
