रुकुम पश्चिममा दश दिनमै तयार भयो कोरोना अस्पताल, भोलीेदेखि सेवा सुरु हुने

नारायण खड्का
दाङ, १७ बैशाख । नेपालको एक विकट हिमाली जिल्ला रुकुम पश्चिममा दश दिनमै १४ बेडको पक्कि अस्पताल निर्माण पुरा भएको छ । जिल्लाको आठबीसकोट नगरपालिकाको राडीबजारमा आरसिसी ढलान युक्त सुविधासम्पन्न कोरोना अस्पताल निर्माण पुरा भएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिएका छन । अस्पतालका १४ बेड मध्य ६ वटा कोठा एटेच बाथरुम युक्त छन् । त्यसमा एयरकन्डिसन सुविधा, तातो पानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ ।

विशेष वार्डमा एक÷एक वटा बेड राखिएको छ । एउटा हल कोठा छ । त्यसमा थप ८ बेड राखिएको छ । केसीका अनुसार अर्कौ एउटा कोठा भने नर्स तथा डाक्टरको प्रयोजनका लागि निर्माण गरिएको छ । नगर प्रमुख केसीले प्रत्येक कोठामा टेलिफोन जडान गर्ने योजना रहेको बताएका छन । ‘गत चैत २५ गतेबाट अस्पतला निर्माण सुरु भएको थियो’, नगर प्रमुखु केसीले भने ‘हामीले बैशाख ४ गते नै ढलान तथा भित्ता प्लास्टरको काम सकेका हौँ ।’

बैशाख ६ गते प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री जर्नादन शर्मा (प्रभाकर)ले अस्पताल उद्घाटन गर्ने तयारी गरिएको भएपनि एकाएक नेकपा भित्र उत्पन्न असहज राजनीतिक घटना क्रमले शर्मा आउन नसकेको उनले बताए । उनले बैशाख १८ गतेवाट सेवा सुरु गर्ने योजनाको साथ काम भइरहेको जानकारी दिए । ‘हाम्रा नेता ‘प्रभाकर’ १८ गतेसम्म पनि आउन नसके जिल्ला समन्वय समितिका संयोजक राजकुमार शर्मावाट भएपनि अस्पतालको उद्घाटन गरेर सेवा सुरु गर्ने सोच बनाएका छौं’–नगर प्रमुख केसीले भने ।

कोरोना अस्पतालको भौतिक पूर्वाधार निर्माणको काम पुरा भएपनि आवश्यक मेडिकल उपकरण भने सबै आइसकेको छैन । ‘हामीले मागेका मेडिकल उपकरण आउने क्रम जारी छ’– केसीले भने– ‘सोमवारसम्म ती उपकरण आइपुगे जडान गर्न अरु एक÷दुई दिन लाग्न सक्छ ।’ उनले अस्पतालका लागि ८ वटा बेडहरु भने आइसकेको जानकारी दिए । अझै जेनेटर, अक्सिजन मेसिन, पिपिई, एउटा बच्चा र एउटा ठूला मानिसको लागि गरी दुईवटा आइसियू बेड, वाटर हिटर जस्ता ३६ लाख बराबरको सामग्री आउन बाँकी रहेको उनले बताए ।

ती मेडिकल उपकरणहरु बाँकेको नेपालगञ्जस्थित डिष्ट्रिव्यूटर कमला मेडिसनवाट खरिद गर्न लागिएको उनले बताए । त्यसका लागि १५÷१६ दिन अगाडि नै सार्वजनिक खरिद ऐन मार्फत खरिद प्रक्रिया आह्वान गरिएको नगर प्रमुख केसीको भनाई रहेकाके छ । केही पिपिई सेट, मास्क, पञ्जा लगाएका स्वास्थ्य सामग्री भने सहयोग प्राप्त भएको केसीले जानकारी दिए । हालसम्म पोछा लगाउने मानिसहरुले प्रयोग गर्ने खालका पिपिई सेट मात्रै रहेको हुँदा विरामी आए उनीहरुका लागि आवश्यक पिपिई सेट खरिद गर्नुपर्ने अवस्था रहेको बताए । उनले विरामी बोक्ने एम्बुलेन्सको पछाडिपट्टि बार लगाएर सुरक्षित गरिने बताए । अस्पतालको पूर्वाधार निर्माण गर्न मात्रै ७२ लाखजति खर्च भएको र आवश्यक सबै मेडिकल सामग्री खरिद गरेर ल्याउँदासम्म अस्पतालमा एक करोड बढी खर्च पुग्ने केसीले अनुमान गरे ।

यसरी निर्माण भयो अस्पताल

दश दिनमै आरसिसी ढलानयुक्त पक्कि अस्पताल भवन निर्माण पुरा भएपछि त्यसको चर्चा परिचर्चा आसपासका जिल्लाहरुमा समेत सुरु भएको छ । हामीले सोध्यौं, कसरी सम्भव भयो यति छिट्टै अस्पतला निर्माण गर्न ? नगर प्रमुख केसीले भने–‘यो सबै इच्छाशक्तिमा भर पर्छ, मन, वचन र कर्मले लागिपरे सम्भव हुँदोरहेछ ।’ उनले त्यसको सम्पूर्ण श्रेय जनतालाई दिनु उचित हुने बताए ।

अस्पताल निर्माण गर्ने निर्णय भएपछि स्थानीय स्वइस्फूर्त रुपमा पैंसा सहयोग गर्न तथा श्रम गर्न आएको र अझैं पनि सहयोग आउने क्रम जारी रहेको जानकारी दिए । ‘आपसमा सामाजिक दूरी कायम गरी रात–दिन काम भयो’– प्रमुख केसीले भने ‘८० जना मजदुरले सुरुका १० दिनसम्म ८ हजार घण्टा काम गरे ।’ एउटा मजदुरले दैनिक १४ घण्टासम्म अर्थात २ सय ४० घण्टा लगातार काम गरेको प्रमुख केसीले जानकारी दिए । जंगलबाट आवश्यक काठ ओसार्न, ग्रिल तथा फर्निचर उद्योगमा पनि त्यसैगरी रातदिन नभनी काम भएको उनले बताए । नेकपाका नेता जनार्दशन शर्मा ‘प्रभाकर’ अस्प्ताल निर्माणको काम सुरु भएको भोलिपल्ट ३१औं घन्टादेखि ३५औं घण्टासम्म काममा खटिए ।

नेता प्रभाकर, प्रदेशसभा सदस्य राते कामी, रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी ओपेन्द्रराज पौडेल, जिल्ला समन्वय समितिका संयोजक राजकुमार शर्मा, प्रहरी निरीक्षक अच्यूतराज आचार्यको टोलीले दोस्रोदिन झण्डै ४ हजार ईट्टा ओसार्न सहयोग गरेको थियो । ‘उहाँहरुले सबै लाइनमा लागेर एक टिप्पर इट्टाहरु एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने काम गर्नु भएको हो’– केसीले भने ‘विशिष्ट व्यक्तिहरु समेत अस्पताल निर्माणको काममा श्रमदान गर्न आउँदा स्थानीय झनैं उत्साहित बने ।’ शिक्षक, पत्रकार, कर्मचारी लगाएत आम सर्वसाधारणले अस्ताल निर्माण गर्न श्रमदान गरेको केसीले बताए ।

कोरोना अस्पताल निर्माण कार्यमा मेयर केसी आफैंपनि रातदिन खटिए । अस्पताल निर्माण गर्न गठित समितिको सदस्यमा आफ्ना प्रतिद्वन्द्वीहरु नेपाली कांग्रेसका उम्मेद्वार धीरेन्द्र बर्तौला, तत्कालीन नेकपाका उम्मेद्वार हरिप्रसाद शर्मालाई समेत सदस्यमा राखेर विकास निर्माणमा राजनीति गर्नुहुन्न भन्ने सन्देश प्रबाह गरे । उनीहरुले पनि रातदिनसँगै अस्पतला निर्माण कार्यमा खटिएर लागिपरे ।

आठबिसकोट नगरपालिकाका चार सय भन्दा बढी स्थानीयले कसैले दश हजार, कसैले पाँच हजार र कसैले पाँचसयसम्म आर्थिक सहयोग गरेको प्रमुख केसीले बताए । केसीका अनुसार आर्थिक सहयोग गर्नेहरुमा बृद्धभत्ता बुझ्ने बा–आमाहरुदेखि अपाङ्गता भएका व्यक्तिहरु समेत थिए ।

मुसिकोट नगरपालिका वडा नं. ४ निवासी मुकुन्दकुमार शर्माले व्यक्तिगत ३ लाख ४६ हजार पैंशा दिए, स्थानीय सूर्योदय बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७० हजारको चेक दियो, काठमाडौं निवासी सुमिरण आचार्यले ५० हजार दिए । लकडाउनका कारण बित्तिय तथा विभिन्न संघ संस्थालहरुले घोषणा गरेको अझैं झन्डै २३÷२४ लाख रकम उठन बाँकी नै रहेको केसीले जानकारी दिए ।
यति छिटो निर्मित संरचना कति बलियो होला ? यही जिज्ञासा हामीले मेयर केसीलाई सोध्दा उनले पुरै बलियो र भरपर्दो भवन निर्माण भएको दाबी गरे ।

सिमेन्टमा छिटो सेट हुने केमिकल प्रयोग गरेको एक तले भवनमा तलदेखि मथिसम्म आइपुग्दा तीन वटा विम बाँधिएको, ढलान स्यान्डर्ट र क्वालिटी यूक्त गरिएको हुँदा कुनै आशंका गर्ने ठाउँ नरहेको उनले बताए । आठविसकोटका जनतलाई विश्वस्त तुल्याउँदै लैजान कोरोना अस्पताल नजिकै ८ लाख खर्चेर हेलिप्याड निर्माण गरिएको नगर प्रमुख केसीले जानकारी दिए ।

प्रमुख केसीले हाल कोराना संग जुध्नका लागि निर्मित कोरोना अस्पताल कोरानालाई हराई सकेपछि सरुवा रोगहरुलाई व्यवस्थापन गर्ने अस्पतालको रुपमा विकास गरिने तर्क गरे । कारण प्रष्ट्याउँदै उनले भने–‘प्रत्येक कोठा अलग र सुविधा सम्पन्न छन् । यस्तो हस्पिटल भविस्यमा पनि यस्तै सरुवा जन्य रोगसँग लड्नका लागि उपयुक्त हुन सक्ने विश्वास छ ।’
त्यस्तै उनले हालसालै निर्मित कोरोना अस्पताल नजिकै ७ करोडको लागतमा अर्को ठूलो अस्पताल निर्माण भइरहेको भन्दै भविष्यमा रुकुम पश्चिमको स्वास्थ्योपचार प्रभावकारी बन्ने आशा व्यक्त गरे ।