‘भगवान बनेर आए वडाध्यक्ष’

गोरक्ष समाचारदाता
तुलसीपुर, १७ बैशाख । ‘जब म तुलसीपुर बसपार्क स्थित भाइको कोठामा विमारले च्यापेर छटपटाई जीवन–मृत्युको संघारमा थिएँ, उहाँ भगवान् बनेर आउनुभो, मलाई उठाएर आफ्नै गाडीमा राखी तुलसीपुर सिटी अस्पतालमा ल्याएर अप्रेशन गराइदिनुभो, म अहिले ठिकै छु’– सल्यान दार्मा गाउँपालिका मसिना स्थायी घर भएकी २३ वर्षीय संगीता पुनले भनिन् ।

सहाराविहीन अवस्थामा जनप्रतिनिधिको गाडीमा ल्याइएकी संगीतालाई सिटी अस्पतालले शल्यक्रिया सहित सम्पूर्ण उपचार निःशुल्क ग¥यो । अहिले संगीता विस्तारै तङ्ग्रिँदै छिन् । लककडाउनकै समयमा सल्यान जिल्ला अस्पतालमा जँचाउन जाँदा सो अस्पतालले उनको अप्रेशन गर्नुपर्ने भन्दै तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा रिफर गरेको थियो । प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उनले जाँच गराइन् । तर अस्पताल प्रशासनले अप्रेशन गर्न ४०÷५० हजार खर्च हुने भनेपछि पैसाको अभावमा उनी रोग पालेर बसपार्क स्थित भाइको डेरामा मृत्यु कुरिरहेकी थिइन् । उनलाई शल्यक्रियासहित सम्पूर्ण स्वास्थ्य उपचार खर्च निःशुल्क गर्ने उद्देश्य सहित तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले सिटी अस्पतालमा ल्याएका थिए ।

‘लकडाउनको व्यवस्थापनसँगै वडाका काममा व्यस्त थियौँ, बसपार्कबाट एकजनाले फोन गरी यी महिलाको छटपटीका विषयमा जानकारी गराए, तुरुन्तै त्यहाँ पुगेर अस्पताल ल्यायौँ’–वडाध्यक्ष शाहले भने । अस्पतालमा ल्याइसकेपछि स्वास्थ्योपचारसँगै शल्यक्रिया गर्नुपर्ने भयो । अस्पताल सञ्चालक सदस्य अर्जुन न्यौपानेसँग सरसल्लाह भयो, त्यसपछि उनको शल्यक्रिया समेत गरियो । अध्यक्ष शाहको भनाईमा ती सहाराविहीन विपन्न महिलाको सबै उपचार खर्च आफैले व्यहोर्ने गरी अस्पताल ल्याएका थिए । संयोग अस्पताल व्यवस्थापन र चिकित्सकले पनि उनको निःशुल्क उपचारमा पूरै सहयोग गर्ने वचन दिएका छन् । अबको तीन दिनपछि संगीता डिस्चार्ज हुनेछिन् ।

वडाध्यक्ष शाह भन्छन्– ‘प्रादेशिक अस्पतालले नै उनको निःशुल्क औषधि उपचारको व्यवस्थापन गर्नुपथ्र्यो, यसरी सहाराविहीनहरुलाई निःशुल्क स्वास्थ्योपचार सेवा दिन अस्पतालमा सामाजिक सेवा ईकाई पनि हुन्छ, तर अस्पतालबाट भएको व्यवहार दुर्भाग्यपूर्ण हो ।’ उनको शल्यक्रिया सफल भएकोमा अध्यक्ष शाह पनि निकै खुशी र उत्साहित पनि छन् । ‘विरामीको आर्थिक अवस्था हेरेर यस्ता सहाराविहीनलाई खोजी–खोजी स्वास्थ्योपचारमा लागिपर्ने छु’–अध्यक्ष शाहको अठोट हो, यो ।

सल्यान दार्माकी संगीताले गाउँकै युवासँग अन्तरजातीय विवाह गरेपछि कामका लागि भारत छिरेका थिए । कामकै क्रममा श्रीमान पेट बोकाएर बेपत्ता भए । पछि उनको शल्यक्रिया गरी बच्चा जन्माइयो । त्यसैताकादेखि उनको पाठेघरमा समस्या देखिन थालेको आफन्तले बताएका छन् । सल्यान आएपछि पनि उनको व्यथाले च्याप्दै गएपछि उपचारका क्रममा तुलसीपुर स्थित बसपार्कमा भाइको डेरामा बस्दै आएकी थिइन् । प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्ने पैसाको अभावमा उनी थलिँदै गएकी थिइन् । ‘अस्पताललाई धेरै आग्रह ग¥यौँ, निःशुल्क उपचारका लागि तर भएन, वडाध्यक्षज्यूले सहयोग गर्नुभयो, उहाँलाई धन्यवाद दिन चाहन्छौँ’–विरामीका आफन्त शुकलाल परियारले भने– ‘वडाध्यक्ष गरिबका नेता हुनुहुन्छ ।’

अस्पताल व्यवस्थापनले पनि संगीताको सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने जनाएको छ । अस्पतालका सञ्चालक अर्जुन न्यौपानेले वडाध्यक्षको सामाजिक सेवाको सराहना गर्दै सम्पूर्ण औषधोपचार निःशुल्क गर्ने बताएका छन् । अस्पताल नाफामुखी नभएर सेवामुखी भएको भन्दै न्यौपानेले यस्ता अतिविपन्न विरामीहरुको निःशुल्क उपचार गर्न पाउँदा अस्पताल व्यवस्थापन पनि खुशी भएको भन्दै असहाय अन्य विरामीहरुको समेत निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । यस्ता केशको शल्यक्रियाका लागि निजी अस्पतालमा कम्तिमा ८०÷९० हजार रुपैयाँसम्म खर्च हुन्थ्यो । शल्यक्रिया गर्ने चिकित्सकले समेत अप्रेशन चार्ज नलिने घोषणा गरेका छन् ।

शल्यक्रियामा संलग्न चिकित्सक डा. शेखर थापाकाअनुसार संगीताको दाहिने डिम्वाशयमा सिस्ट बनेको थियो । डिम्वाशयमा अण्डा बन्ने र फुट्ने क्रममा कहिलेकाहीं सिस्ट बन्छन् । संगीताको डिम्वाशयमा पनि यसरी बनेको सिस्ट ह्याम्रेज भएर पाठेघरमा इन्फेक्सन सुरु भइसकेको थियो । चिकित्सकको टोलीले सिस्ट निकालेर ओभरीको रिकन्स्ट्रक्सन गरेको थियो । यो जटिल शल्यक्रिया नभए पनि समयमै नगरिएको भए महिलाको ज्यान जानसक्ने समेत अवस्था आउनसक्ने चिकित्सकले बताएका छन् ।