लुम्बिनी प्रदेश पर्यटनमा उत्कृष्ट : मन्त्री न्यौपाने
टेकबहादुर पुन
लमही, १० माघ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रदेश पर्यटकीय क्षेत्रमा उत्कृष्ट रहेको बताएका छन् । देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा लमही–५ स्थित जैविक विविधता ग्रीनपार्कमा सुरु भएको सातौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले पर्यटन क्षेत्रमा लुम्बिनी उत्कृष्ट भएको बताएका हुन् ।
उनले सात प्रदेशमध्ये लुम्बिनी देशकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा उपरिचित रहेकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । लुम्बिनीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै दाङको आर्थिक विकासलाई चलायमान गराउन भारतसँग सीमानाका जोडिएको दाङको कोइलाबास नाकालाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए । यसका लागि सङ्घीय सरकारले गम्भीरतापूर्वक साचो दिन जरुरी उनले बताए । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री न्यौपानेले भारतसँग सीमानाका जोडिएको दाङको कोइलाबास भन्सार कार्यालयबाट पटके व्यवस्थापन गर्ने बताए । भारतबाट नेपाल भित्रिने पर्यटकबाट जनगुनासो बढी आउन थालेपछि भारतीय पर्यटकका विषयमा प्रदेश सरकारले तदारुकता देखाएको मन्त्री न्यौपानेले बताए ।
छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकलाई नेपाल भित्राउने वातावरण सहज बनाउने बताए । उनले भने, ‘नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरू अवलोकन गर्न आउने भारतीय पर्यटकलाई नेपालमा कसरी सहज रूपले भित्राउन सकिन्छ भन्ने विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीरतापूर्वक अगाडि बढ्नका लागि भालुबाङबाट वितरण गर्दै आइरहेको पटके सेवालाई कोइलाबास भन्सार कार्यालयबाटै वितरण गर्ने तयारीमा प्रदेश सरकार छ ।’ मन्त्री न्यौपानेले स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र विभिन्न रोजगारी सिर्जना गर्न विभिन्न उद्यम सञ्चालन गर्न आवश्यक रहेको बताए । यसका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘विदेश पलायनबाट नेपाली नागरिकलाई रोक्नुपर्छ । स्वदेशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकार एक ठाउँमा उभिन आवश्यक छ’, मन्त्री न्यौपानेले भने ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता तामा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमशेर मिया, लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, नगर उपप्रमुख लक्ष्मी योगी, नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष नारायण भुसाल, भारतको उत्तरप्रदेश बलरामपुर जिल्ला तुलसीपुर नगर उद्योग व्यापार मण्डलका अध्यक्ष श्याम बिहारी अग्रहरी, महामन्त्री रुपचन्द्र गुप्ता, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष ध्रुवकुमार गहतराज, नेकपा एमाले लमही नगर कमिटीका अध्यक्ष रतनकुमार केसी, देउखुरी उद्योग वाणिज्य संघ लमहीका पूर्व अध्यक्ष लीलाराम खनाललगायतले भनाइ राखेका थिए ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका बरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वाणिज्य संघका महासचिव ईश्वर श्रेष्ठले गरेका थिए । महोत्सवमा पहिलो दिन माघ ११ गते चर्चित गायक हेमन्त शर्मा, कृष्ण रेउले, अनुप बुढा, दीपक बर्मा र राष्ट्रिय तथा स्थानीय कलाकारले दर्शकलाई मनोरञ्जन गराएको कलाकार संयोजक शिवु खनालले बताए । माघ २७ गतेसम्म चल्ने महानेत्सवमा कृषि तथा लघु उद्यमका सामग्रीसँगै विभिन्न व्यापारिक स्टलहरू राखिएका छन् ।
