Goraksha

National Daily

घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

गोरक्ष समाचारदाता
दाङ, ११ माघ । घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । प्रशिक्षणमा दाङसहित विभिन्न जिल्लाबाट ४० जनाको सहभागिता रहेको छ । घोराही नगर खेलकुद विकास समितिको आयोेजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा दक्ष फुटबल प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले घोराहीमा चारदिने कोर्स सुरु भएको हो ।

एन्फा कम्युनिटी कोचिङ कोर्सको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले उद्घाटन गर्दै खेलकुदको प्रवर्धनका लागि खेलाडी तथा प्रशिक्षकहरूलाई प्रशिक्षण आवश्यक रहेको बताए । प्रशिक्षक उत्पादनका लागि घोराहीमा रहेको नगरस्तरीय खेलकुद समितिले उत्कृष्ट कार्य गरेको भन्दै तालिममा सहभागीलाई ध्यान दिएर फुटबलका प्राविधिक कुरा सिक्दै दक्षता वृद्धिमा लाग्न आग्रह गरेका थिए । खेलाडी उत्पादनका लागि तल्लो तहदेखि नै प्रशिक्षणसँगै खेल्नका लागि पूर्वाधार विकास हुन आवश्यक रहेकाले हरेक स्थानीय तहले खेलकुदमा ध्यान दिनुपर्ने बताए । उनले विद्यालयहरूमा खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा नभएर अनिवार्य शिक्षाका रूपमा अघि बढाउन स्थानीय तहको पहल आवश्यक रहेको बताए ।

नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले पालिकाले पूर्वाधार विकाससँगै मानवीय विकासमा ध्यान केन्द्रित गरेको हुँदा खेलकुद गतिविधि प्रभावकारी बनाउन र स्वस्थ नागरिक उत्पादन गर्न नगर खेदकुद विकास समितिमार्फत् काम गरिरहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन नागरिक स्वस्थ हुन आवश्यक रहेकाले खेलकुदका गतिविधिलाई ध्यान दिन आग्रह गरेका थिए । खेलकुदको विकासका लागि नगर खेलकुद विकास समितिले स्पष्ट नीति बनाउँदै प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार विकास र प्रवर्धनका कार्यक्रम गरिरहेको नगर खेलकुद विकास समितिका सदस्य केशव थापाले बताए ।

एन्फाका हेड अफ एजुकेसन कोच सञ्जित सिंह र हेड अफ ग्रासरुट पंकजबहादुर शाही प्रशिक्षकका रूपमा रहेका छन् । चार दिनसम्म हुने प्रशिक्षणबारे जानकारी गराउँदै प्रशिक्षक सिंहले दाङमा भइरहेको एन्फा कम्युनिटी कोचिङ कोर्स ४६औँ ब्याचका रूपमा रहेको बताए । हालसम्म १४ सय प्रशिक्षक तयार भइसकेको बताउँदै चारदिने सैद्धान्तिक र प्रयोगात्मक कक्षाले धेरै कुराको जानकारी दिने बताए । फुटबल प्रशिक्षणका लागि दाङबाट २१ जना, बाँकेबाट ४ जना, रौटहट र कपिलवस्तुबाट ३÷३ जना, रुकुमपूर्व र रोल्पाबाट २÷२ जना, स्याङ्जा, रुपन्देही, प्युठान, खोटाङ, सुनसरीबाट १÷१ जना गरी ४० जना सहभागी भएका नगर खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिएका छन् । खेलकुद विकास समिति सदस्य केशव थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर खेलकुद विकास समिति सदस्य श्रवणकुमार खनालले गरेका थिए ।