४७ वर्षपछि बेलझुण्डी खानेपानीमा नयाँ योजना,धाराभरि पानी आउँदा खुसी छन् उपभोक्ता
खेमराज रिजाल
बिजौरी, ११ माघ । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका उपभोक्ता पद्मा पौडेललाई अब धारामा पानी नआउला कि भन्ने चिन्ता छैन । उनी जतिबेला फुर्सद भयो त्यतिबेला धाराको पानी रिजर्भ ट्याङ्कीमा सोझ्याउँछिन् । बिजौरीकै उपभोक्ता गोपालप्रसाद भट्टराई पनि खानेपानीको जोहो गर्न समय छुट्याउनु परेको छैन । जतिबेला फुर्सद हुन्छ त्यतिबेलै गाग्रो भर्न धारा खोल्छन् ।
तुलसीपुर हाडिमेकी उपभोक्ता शारदालाई पनि अव पानीको चिन्ता हटेको छ । तुलसीपुर–१९ का उपभोक्ता शारदा बस्नेतलाई पिउने पानीको तनाव हटेको छ । नयाँ धारामा कलकल पानी आउँदा शारदा खुसी छिन् । पद्मा, शारदा र गोपाल मात्र होइन करिब ४७ वर्षपछि बेलझुण्डी खानेपानीमा नयाँ शैलीबाट पाइपलाइन विस्तारसँगै पुनर्संरचना निर्माण भएपछि कम्तिमा साढेतीन हजार उपभोक्ता यसरी लाभान्वित भएका हुन् । यसै सातादेखि साविकको मानपुर र बिजौरीका उपभोक्तालाई बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सहलगानीको नयाँ आयोजनाबाट परीक्षणका रूपमा पानी वितरण गरेसँगै उपभोक्तामा खुसी छाएको हो ।
बेलझुण्डी खानेपानीमा करिब ४७ वर्षपछि नयाँ योजनाबाट धारामा पानी आएको छ । विसं २०३४ सालमा सुरु भएको जिल्लाकै पुरानो बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले यसै साता नयाँ सहलगानी आयोजनाबाट परीक्षणका रूपमा उपभोक्ताका धारामा नयाँ आयोजनाको पानी उपलब्ध गराएको बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । ‘निरन्तरको अथक प्रयासपछि यसै सातादेखि सहलगानीको आयोजनाबाट उपभोक्तालाई परीक्षणका रूपमा पानी उपलब्ध गराएका छौँ, सम्भवतः सबै पाइपलाइन चुस्त दुरुस्त भए अबको एक महिनाभित्र सहलगानी आयोजनाको विधिवत रूपमा शुभारम्भ गरिनेछ’, बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदीप गौतमले भने ।
करिब चारदशक पुरानो आयोजना जीर्ण भएसँगै पानी प्रशोधन प्लान्टसमेत बिग्रिएको र उपभोक्तामा पानीको माग अत्यधिक बढेकाले संस्थाको पहलमा सहलगानी आयोजना सञ्चालनमा आएको थियो । सहलगानी आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी गरी कम्तिमा ३२ करोड छ लाख रुपैयाँको लागतमा सहलगानी आयोजना सम्पन्न भएको हो ।
सो आयोजनाको निर्माण सम्झौता विसं २०७८ भदौ ११ गते भएको थियो । योजना सम्पन्न हुने मिति विसं २०८० भदौ १५ रहे पनि विविध प्राविधिक कारणले आयोजनाको केही समय म्याद थप भएको थियो । पुनः म्याद थप भएको समय अगावै आयोजना निर्माणको काम सम्पन्न भएको बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । आयोजना निर्माणको जिम्मा मृतसञ्जीवनी स्वामी नारायण सगुन जेभी रुपन्देहीले लिएको थियो ।
नयाँ आयोजना सुरु भएसँगै धारा सङ्ख्यासमेत दोब्बर रूपमा वृद्धि भएका छन् । अहिले यो संस्थामा करिब दोब्बर धारा थपिएका छन् । अहिले जम्मा धाराको सङ्ख्या तीन हजार चार सय ४० पुगेको छ भने उपभोक्ता करिब २० हजारको हाराहारीमा रहेका छन् । नयाँ आयोजना सुरु भएसँगै करिब १७ सय घरपरिवार यो संस्थामा जोडिएको संस्थाले जनाएको छ । बेलझुण्डी खानेपानीले प्रतिधाराको न्यूनतम शुल्क एक सय रुपैयाँ कायम गरेको छ भने त्यो भन्दा बढी युनिट खपत भए प्रतियुनिट १२ रुपैयाँ थप शुल्क लिँदै आएको छ । नयाँ धारा जडान शुल्क भने प्रतिधारा १८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ सहलगानी आयोजना अन्तर्गत करिब एक सय १५ किलोमिटरको दुरीमा पाइपलाइन बिछ्याइएको छ । पानी सङ्कलनका लागि रिजर्भवायर ट्याङ्क र पानी प्रशोधन प्लान्ट गरी १२ वटा प्लान्ट जडान भएका छन् । अब नयाँ आयोजना सञ्चालन भएसँगै बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको क्षमता प्रतिसेकेन्ड ३८ लिटर पुगेको संस्थाले जनाएको छ । वर्तमान कार्यसमितिको निरन्तरको प्रयासले सहलगानी आयोजना सम्भव भएको छ । बेलझुण्डीमा सहलगानी आयोजना सञ्चालन भएसँगै यो वर्ष घोराही खानेपानी र तुलसीपुर खानेपानीमा पनि सहलगानी आयोजना सञ्चालनमा आएका छन् । यद्यपि निर्माणको काम सम्पन्न हुन भने अझै केही समय लाग्नेछ ।
सहलगानीको नयाँ आयोजनाबाट परीक्षणका रूपमा पानी वितरण हुन थालेपछि उपभोक्ता खुसी भएका छन् । प्रशोधन गरिएको शुद्ध पानीसँगै यस अघिभन्दा धेरै परिमाणमा पानी आउने भएपछि उपभोक्ता उत्साहित पनि भएका छन् । अब बेलझुण्डी खानेपानी सहलगानी आयोजनाबाट अबका ३० वर्षका लागि पर्याप्त मात्रामा खानेपानी उपलब्ध हुने आयोजनाको अनुमान रहेको छ । अब बेलझुण्डी खानेपानीका उपभोक्ताले वर्षातको मौसममा फोहर पानीका बोतल लिएर तुलसीपुर उपमहानगरपालिकामा डेलिगेशन जानुपर्ने अवस्थाको अन्त भएको छ ।
चारदशक पुरानो आयोजनाका पाइपलाइन जीर्ण भएका कारण फोहर पानी आउने र मुहानबाट आउने पानीमा पनि अत्यधिक चुहावट हुने समस्याबाट समेत अब उपभोक्ता मुक्त हुने संस्थाका अध्यक्ष गौतमले बताएका छन् । सहलगानी आयोजना निर्माणसँगै बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आयोजनाकै लगानीमा भूकम्प प्रतिरोधात्मक नयाँ कार्यालय भवन समेत पाएको छ ।
