आत्मनिर्भर र सिपमूलक शिक्षा आवश्यक
गोरक्ष समाचारदाता
दाङ, ११ माघ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समयानुकूल आत्मनिर्भर र सिपमूलक शिक्षा आवश्यक परेको बाएका छन् । नयाँ शिक्षा विधेयकबारे सुझाव लिने क्रममा लुम्बिनी प्रदेशको दाङ आइपगेका सभापति थापाले अध्ययन गरिसकेपछि आफ्नै ठाउँमा स्वरोजगार बन्ने शिक्षा प्रणाली अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
अध्ययन गर्दै युवा विद्यार्थी बाहिर जाने गरेको भन्दै त्यसलाई रोक्न नयाँ शिक्षा आवश्यक रहेको बताए । त्यसका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने क्रममा लुम्बिनी प्रदेशको दाङ आइपुगेको सभापति थापाले बताए । विधेयकबारे सातवटै प्रदेशमा परामर्श लिने काम भइरहेको भन्दै सभापति थापाले भने, ‘सात प्रदेशमध्ये अहिलेसम्म छ वटा प्रदेशमा पुगेका छौँ ।
त्यही क्रममा अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारीसँगै स्थानीय सरकारसँग कस्तो खालको शिक्षा आवश्यक छ भनेर सुझाव लिने काम भइरहेको छ ।’ सभापति थापाका अनुसार छलफलका क्रममा सबै ठाउँबाट समयानुकूल आत्मनिर्भर र सिपमूलक शिक्षाको आवश्यकताको कुरा उठाएको र काठमाडौं फर्किएर सुझावहरू विधेयकमा समावेश गरिने बताए । लुम्बिनीसहित ६ वटा प्रदेशको सुझाव सङ्कलन भइसकेको र बागमती प्रदेशमा माघ १४ गते जाने तयारी रहेको बताए ।
प्रस्तुत विधेयक विभिन्न संशोधनहरू परेको हुँदा कक्षा ४ वा कक्षा ८ कहाँदेखि त्यस्तो सिपमूलक शिक्षा लागु गर्ने भन्नेबारे सुझावका आधारमा निक्र्योल हुने सभापति थापाले बताए । निजी विद्यालय पढेका युरोपियन देशमा जानसक्ने तर सामुदायिक विद्यालय पढ्ने किन खाडीतिर बढी गए भन्ने ढङ्गका सवाल सुझावमा आएको बताए । ‘एकाडेमिक सर्टिफिकेट मात्र होइन, अब मुलुकलाई जीवनोपयोगी शिक्षा आवश्यक छ भन्ने सुझाव आएका छन्’, थापाले भने, ‘अहिलेको शिक्षा भनेको जागिरमूलक शिक्षा मात्रै भयो भन्ने गुनासो आएको छ ।
अब सिपमूलक र आत्मनिर्भरमुखी शिक्षा चाहियो भन्ने छ ।’ विभिन्न विद्यालयमा पुगेर सर्वसाधारण नागरिकलाई समेत प्रत्यक्ष सोधेर अब कस्तो शिक्षा चाहिएको हो ? भनेर सोधेको हुँदा त्यसैका आधारमा शिक्षा विधेयक बन्ने बताए । ‘अबको शिक्षा व्यक्ति निर्माणका लागि मात्र नभई राष्ट्र निर्माणका लागि हुनुपर्छ भन्ने सुझाव आएका छन्’, उनले भने, ‘सुझाव अनुसार राष्ट्रहितका लागि आवश्यक शिक्षा कस्तो हुनुपर्छ ? भन्नेबारे आएका सुझाव अनुसार निर्माण गरिनेछ ।’
समितिकी सदस्य सांसद तोसिमा कार्कीले पहिले बन्द कोठाभित्र बसेर शिक्षा विधेयक बनाउने गरिएको भए पनि ५२ वर्षपछि पहिलो पटक सातै प्रदेशमा पुगेर सुझाव सङ्कलन गरी शिक्षा विधेयक बनाउने काम भइरहेको बताइन् । ‘हामीले यो बिचमा थुप्रै विद्यालय अनुगमन गरेका छौँ । धेरै सरोकारवालासँग अबको शिक्षा कस्तो हुनुपर्छ भनेर छलफल गरेका छौँ’, उनले भनिन्, ‘अहिले एसइईमा राम्रो अङ्क ल्याएको छ तर जीवनोपयोगी शिक्षा वा ज्ञान र सिप ऊसँग छैन भने त्यो के कामको भयो ?’
सुझाव सङ्कलनका लागि दाङ आएको टोली विहीवार बिहान दंगीशरण गाउँपलिका–३ चखौरा स्थित थारू सांस्कृतिक सङ्ग्रहालमा पुगेको थियो । टोलीमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतका रहेका थिए । समितिले मङ्गलवार घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक, अभिभावकलगायतसँग सुझाव सङ्कलन गरेको थियो ।
