Goraksha

National Daily

दाङमा ३९ हजार बालिकालाई क्यान्सरविरूद्ध खोप लगाइने

लीलाधर वली
दाङ, १० माघ । दाङमा ३९ हजार बढी बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० स्थानीय तहका ३९ हजार चार सय ५० जना बालिका तथा किशोरीलाई खोप लगाउने तयारी भइरहेको छ ।

दाङका विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरेर ३९ हजार चार सय ५० जना बालिका तथा किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिएका छन् ।

प्रमुख आचार्यका अनुसार तीन सय ९१ वटा विद्यालयमा अध्ययनरत बालिकालाई खोप लगाउनका लागि जिल्लामा चार सय ४७ वटा केन्द्र तोकिएको छ । जसमा चार सय ३५ वटा विद्यालय र १२ वटा विद्यालय बाहिर खोप केन्द्र रहेका छन् । कार्यालय प्रमुख आचार्यका अनुसार घोराहीमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ११ हजार नौ सय ५२ जना र विद्यालय बाहिर रहेका सात सय २६ जना गरेर १२ हजार छ सय ७८ जना, बंगलाचुली गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ८१ र विद्यालय बाहिर रहेका २१ जना गरेर एक हजार तीन सय दुई जना किशोरीलाई खोप लगाइने छ ।

तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत १० हजार पाँच सय ९९ जना र विद्यालय बाहिर रहेका आठ सय ४३ गरेर ११ चार सय ४२, शान्तिनगर गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार चार सय ४४ जना र विद्यालय बाहिरका ६६ जना गरेर एक हजार पाँच सय १० जना, बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार सात सय ८१ जना र विद्यालय बाहिरका ५४ जना गरेर एक हजार आठ सय ३५ जना, दंगीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत नौ सय ५१ जना र विद्यालय बाहिर रहेका एक सय ४० जना गरेर एक हजार ९१ जना, लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत तीन हजार दुई सय १४ जना र विद्यालय बाहिर रहेका एक सय १८ जना गरेर तीन हजार तीन सय ३२ जनालाई खोप लगाइने छ ।

यसैगरी राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार सात सय १६ जना र विद्यालय बाहिर रहेका ९६ जना गरेर दुई हजार आठ सय १२ जना, गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार ३२ जना र विद्यालय बाहिर रहेका ५४ जना गरेर दुई हजार ८६ जना र राजपुर गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ३५ जना र विद्यालय बाहिर रहेका एक सय २७ जना गरेर एक हजार तीन सय ६२ जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले बताएका छन् ।

उनका अनुसार खोप माघ २२ देखि फागुनको ६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीहरूलाई खोप लगाइने छ । अहिले खोप लगाउनका लागि पालिकास्तरमा जनशक्ति तयार गर्न स्वाथ्यकर्मीलाई तालिम दिइरहेको भन्दै कार्यालय प्रमुख आचार्यले भने, ‘किशोरी तथा बालिकाहरूलाई लगाउनका लागि ४१ हजार बढी खोप जिल्लामा आइसकेको छ । खोप २२ गतेभन्दा १÷२ दिन अघि पालिकाहरूमा पठाउने छौँ ।’ अहिले खोप लगाउन पालिकास्तरमा तालिम, अन्तरक्रियालगायतका काम भइरहेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका १२ जिल्लामा दुई लाख ९८ हजार नौ सय १० जनालाई खोप लगाइँदै छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्नका लागि किशोरीहरूलाई खोप लगाइन थालिएको हो । स्वास्थ्यकर्मीका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन पापिलोमा भाइरस’ सङ्क्रमण रहेकाले त्यसविरूद्ध खोप लगाउन थालिएको छ । नेपालमा पाठेघरको मुखको क्यान्सरका बारेमा सचेतनाको कमीले गर्दा महिलाहरू क्यान्सरको अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । जसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण, ‘ह्युमन पापिलोमा भाइरस’ सङ्क्रमण हो । यो सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध बढाउने, धेरै धुम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिने जस्ता कारणले हुने गरेको चिकित्सकले बताउने गरेका छन् । यो रोगबाट बच्न नौदेखि १५ वर्षका किशोरकिशोरीलाई एचपिभी खोप दिने गरिन्छ ।