Goraksha

National Daily

घोराहीमा सरसफाइको जिम्मा निजी क्षेत्रलाई

अमरराज आचार्य
दाङ, १० माघ । घोराही उपमहानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्ममा निजी क्षेत्रलाई दिएको छ । उपमहानगरपालिका र निजी क्षेत्रबिच भएको सम्झौता अनुसार आज (विहीवार)देखि घोराहीमा सरसफाइ व्यवस्थापनको काम निजी क्षेत्रबाट हुने भएको हो ।

निजी क्षेत्रबाट सरसफाइको काम गर्ने गरी घोराही उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी र निजी क्षेत्रबाट सगरमाथा मल्टी सर्भिस÷देव सरसफाइ सेवा जेभीको तर्फबाट देवबहादुर सुनारले हस्तारक्षर गरेका छन् । निजी क्षेत्रलाई प्रदान गर्ने गरी केही दिन अघि सम्झौता भएको र आजदेखि निजी क्षेत्रबाट सरसफाइको काम हुने नगर प्रमुख चौधरीले बताएका छन् ।

नगर प्रमुख चौधरीले उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम अनुसार सरसफाइको जिम्मा निजी क्षेत्रलाई दिइएको बताए । निजी क्षेत्रलाई सरसफाइको व्यवस्थापन गर्ने जिम्मा दिइएको घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिएका छन् । निजी क्षेत्रलाई दिनका लागि २०८१ भदौ ५ गते घोराही उपमहानगरपालिकाको सरसफाइका लागि ठेक्का आह्वान गरिएको थियो ।

सरसफाइको राजस्व समेत फोहोर व्यवस्थापन गर्ने कम्पनीले उठाउनेछ । सम्झौता भएसँगै ठेक्का पाउने कम्पनीले तीन वर्षसम्म काम गर्ने गरी सम्भौता गरिएको शाखा प्रमुख अधिकारीले बताए । नगर क्षेत्रमा बढ्दो जनघनत्व र फोहोरको परिमाणमा वृद्धि भइरहेकाले सवारी तथा जनशक्ति वृद्धि गर्नुपर्ने आर्थिक दायित्व तथा उठ्नुपर्ने जति राजस्व नउठेका कारण र खर्च आम्दानीको अनुपात नमिलेकाले सरसफाइको काम ठेक्कामा लगाइएको उपमहानगरपालिकाले जनाएको छ । सरसफाइ व्यवस्थापनमा नगरबासी सबैको सहभागिता बढाउन र स्थानीय सरकारको आर्थिक भार कम गर्न निजी क्षेत्रको सहयोगमा सरसफाइ व्यवस्थापनको काम हुन थालेको शाखा प्रमुख अधिकारीले बताए ।

सबै नागरिक सरसफाइको करको दायरा नआएकालाई अब निजी क्षेत्रले जिम्मा पाएपछि करको दायरामा ल्याउने नगर प्रमुख चौधरीको भनाइ छ । ‘सबैलाइ सरसफाइ करको दायरामा ल्याउन सहयोग पुग्नेछ’, नगर प्रमुख चौधरीले भने । अहिले सिष्टमभन्दा बाहिर रहेकाहरूले सरसफाइ कर तिर्ने गरेका छैनन् । ‘घोराहीमा सरसफाइको काम व्यवस्थित गर्दै जाऔँ र नगरको आर्थिक भार कम गर्ने तथा सबैको सहभागिता हुने हिसाबले काम होस् भनेर ठेक्का टेण्डर भएको हो । यसबाट नगरपालिकामा स्रोत पनि जम्मा हुन्छ’, शाखा प्रमुख अधिकारीले भने, ‘ठेक्का नगल्ने फोहोरका लागि हो । गल्ने फोहोर ग्यास प्लान्टमै जानेछ ।’