Goraksha

National Daily

सभागृह टोल पूर्णरूपमा फोहोर वर्गीकृत घोषित

गोरक्ष समाचारदाता
दाङ, ९ माघ । घोराही उपमहानगरपालिकाले वडा नम्बर १४ को सभागृह टोललाई पूर्णरूपमा फोहोर वर्गीकृत टोल घोषणा गरेको छ । उपमहानगरको सरसफाइ व्यवस्थापन शाखाले मङ्गलवार एक कार्यक्रमको आयोजना गरेर टोललाई पूर्णरूपमा फोहर वर्गीकृत टोल घोषणा गरेको हो ।

सभागृह टोल विकास संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षता एवम् नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, वडाध्यक्ष भानसिं बुढा, प्रशासन महाशाखाका प्रमुख बासुदेव आचार्यल, टोलका पदाधिकारी, सदस्यलगायतको उपस्थितिमा टोललाई पूर्णरूपमा फोहोर वर्गीकृत टोल घोषणा गरिएको हो । नगर प्रमुख, उपप्रमुखले संस्थाका अध्यक्षलाई फोहर वर्गीकृत टोल घोषणाको प्रमाणपत्र प्रदान गरेका हुन् । अव उक्त टोलमा रहेका सबै घरधुरीका सदस्यले गल्ने र नगल्ने फोहर छुट्टाछुट्टै भाँडोमा राखेर नगरको फोहोर सङ्कलन गर्न जाने छुट्टा छुट्टै गाडीमा हाल्ने छन् ।

उक्त टोललाई नगरले १५ हजार रुपैयाँ हौसला स्वरूप पुरस्कार प्रदान गर्ने भएको छ । माघ १५ गते नगरको स्थापना दिवसका दिन टोललाई पुरस्कार स्वरूप नगद १५ हजार रुपैयाँ दिइने सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । कार्यक्रममा नगर प्रमुख चौधरीले सरसफाइ नै स्वथता र समृद्धिको आधार भएको बताए । व्यक्तिगत र सामाजिक सफाइले नै व्यक्ति स्वस्थ हुने उनको भनाइ छ । विभिन्न रोग सरसफाइको कमीले लाग्ने भएकाले सरसफाइलाई पहिलो प्राथमिकता दिन सबैलाई आग्रह गरे ।

फोहोरको उचित व्यवस्थापन नहुँदा र ध्यान नदिँदा विभिन्न रोग लाग्ने र उपचारमा सकस हुने भएकाले बेलैमा सफाइमा ध्यान दिन उनले आग्रह गरे । सरसफाइ नै व्यक्ति र सामाजिक क्षेत्रको पहिचान स्थापित गराउन सक्नुपर्नेमा उनले जोड दिए । नगर उपप्रमुख डिसीले सरसफाइ व्यक्ति, परिवार र समाजको ऐना भएको बताइन् ।

वडाध्यक्ष बुढाले घोराहीलाई सरसफाइमा नमुना बनाउने सरकारको सोच रहेको र त्यसमा पहिलो भूमिका टोल विकास संस्थाको हुने बताए । प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यले सरसफाइलाई पहिलो प्राथमितामा राख्नसके मात्र निरोगी र आर्थिक, सामाजिक रूपले सम्पन्नता हुने बताए ।

टोलका सदस्य डा. वेदबहादुर केसीले टोललाई नमुना बनाउने काममा आफूहरू लागेको बताए । संस्थाका उपाध्यक्ष नन्दा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुदिनकुमार घिमिरेले गरेका थिए । नगरले यस अघि वडा नं. १४ का गोर्खा टोल, स्वर्गद्वारी टोल, वडा नं. १५ का उन्नतिनगर टोल र विकास नगर टोललाई पूर्णरूपमा फोहोर वर्गीकृत टोल घोषणा गरिसकेको छ ।