‘शिक्षाको गुणस्तर सुधार्न अभिभावकले निगरानी गर्नुपर्छ’
गोरक्ष समाचारदाता
दाङ, ९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका–५, गंगदी स्थित साधारण नमुना माध्यमिक विद्यालयको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् । यो भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण गरिएको हो ।
मुख्यमन्त्री आचार्यले विद्यालयले विकट क्षेत्रमा शिक्षाको उज्यालो छर्न पु¥याएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा खस्किएकाले सुधारका लागि सघन योजना निर्माण गरी कार्यान्वयन गर्न जोड दिए । उनले लुम्बिनी प्रदेश सरकार शैक्षिक गुणस्तर बढाउन र नतिजा सुधार गर्न प्रतिबद्ध रहेको बताए । ‘भवन मात्र भएर हुँदैन, गुणस्तरीय र व्यावसायिक शिक्षा बढाउन आवश्यकता छ । अभिभावक र शिक्षकबिच समन्वय गरेर शिक्षाको गुणस्तर बढाउन सकिन्छ’, उनले भने, ‘प्रदेश सरकारले शैक्षिक क्षेत्र सुधार्न ध्यान दिएको छ ।’
मुख्यमन्त्री आचार्यले राजपुर गाउँपालिकाको गत वर्षको एसइई नतिजा निराशाजनक रहेको भन्दै यस वर्षको नतिजा सुधारका लागि पठनपाठनलाई चुस्त बनाउन आग्रह गरे । ‘सिङ्गो पालिकाबाट एसइईमा केवल एकजना मात्र पास हुनु दुःखद् कुरा हो । यसलाई सुधार्न समस्याको जड पत्ता लगाएर उपचार गर्नु जरुरी छ’, उनले भने, ‘शिक्षाको गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्छ । सबै तह र तप्काबाट ध्यान दिएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ ।’ सङ्घीयताका कारण विकास निर्माणले गति लिएको उल्लेख गर्दै, विकट बस्तीमा सेवा–सुविधा पु¥याउन प्रदेश सरकारले विशेष ध्यान दिएको समेत बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वसांसद रेवतीरमण शर्माले विद्यालयबिच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा हुन आवश्यक रहेको र यसका लागि सबै निकायबिच समन्वय र सहकार्य बढाउनुपर्ने बताए । नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन गौतमले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर विद्यालयलाई सुधार गर्नुपर्ने बताए । उनले विद्यार्थीसँग सिप र दक्षता अभिवृद्धि गरी अघि बढ्नुपर्ने तथा विषयगत शिक्षकको व्यवस्थापन र पाठ्यक्रम सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको र कक्षा १२ सम्म निःशुल्क शिक्षा लागु गरिएको बताइन् । राजपुर गाउँपालिका पूर्वअध्यक्ष लोकराज केसीले प्राविधिक धार सञ्चालन गरेर विद्यालयलाई नमुना बनाइएको उल्लेख गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद यादवले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रमुख अतिथि मुख्यमन्त्री आचार्यले विद्यालयका पूर्वप्रधानाध्यापकहरूलाई सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक मानबहादुर केसी र हिमा थापाले गरेका थिए ।
