नारायणप्रसाद श्रेष्ठ
हाम्रो आचरण र व्यवहारले ल्याएको परिवर्तनसँगै आधुनिक विकासका लागि गरिएका विविध अनुसन्धान र गलत क्रियाकलापले अहिले विश्वमा कोरोना नामको भाइरस उत्पत्ति भई सम्पूर्ण मानव जीवन त्रस्त भइरहेको छ । मानवीय स्वार्थ र गलत चिन्तनको कारण तथा प्रदूषित वातावरण र एकअर्कालाई उछिन्ने होडबाजीका कारण सिर्जना गरेको भाइरसले मानिस स्वयम् आफैसँग त्रसित हुने अवस्था सिर्जना भएको छ ।
प्रकृति र वातावरणलाई आफ्नो मुठीको सम्पत्ति ठान्ने र समयलाई आफ्नो अधिनमा राख्ने गलत कर्म र व्यवहारका कारण मानिस घरभित्र लुकेर बस्नुपर्ने अवस्था वर्तमानमा सिर्जना भएको छ । को आफ्नो, को पराई मानिस एकअर्कादेखि डराउनुपर्ने तथा दूरी कायम गरी व्यवहार गर्नुपर्ने स्थिति अहिले छ । भौतिक विकाससँगै विश्व वतावरणमा देखिएको प्रदूषणले उब्जाएका विविध रोगले विगत केही वर्ष यता जिउज्यानको निकै क्षति भइरहेको अवस्था छ । कोरोना भाइरसको प्रकोपले लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । कतिका घर उजाड भइसकेका छन्, कतिको सिन्दुर पुछिएको छ र कति टुहुरा बनेका छन् । सरकारी डाटाभन्दा आन्तरिक डाटा झन भयावह छ भनी भन्छन् विज्ञहरु । यसरी हाम्रो वर्तमान निकै कष्टकर भएर गुज्रिरहेको छ ।
यसको अन्त्य कहिले हुने हो ? यो भन्न नसकिने अवस्था छ । विज्ञहरु आफै यसको मूल कारण पत्ता लगाउन दौडधुप गरिरहेका छन् । तापनि सफलता नभइरहेको स्थिति छ । तसर्थ यस अवस्थामा मानवीय आचरण र व्यवहारमा शुद्धता र स्वच्छता नल्याउने र परिस्थितिको गाम्भिर्यतालाई नबुझ्ने हो भने स्थिति अझ भयावह नहोला भन्न सकिन्न । त्यसैले अवस्थाको संवेदनशीलतालाई महशुस गरी अब प्रत्येक मानव जातिले आफूलाई सच्याउनु परेको छ । हाम्रो संस्कृति र संस्कारले प्राचीन युगदेखि स्वीकार्दै आएको परम्परालाई पुनर्जीवित गर्नुपरेको छ । स्वच्छ र सफाई रोग नियन्त्रणको मुख्य आधार मानिएको यस अवस्थामा आफू स्वयम्लाई दृढ मनस्थिति बनाई रोग आउँछ जान्छ, यो प्रकृतिभित्र यस्ता कैयौँ यस्ता रोग आए गए, यो कोरोना पनि आउँछ जान्छ भनी आफ्नो नित्य कर्ममा आचरणयुक्त व्यवहार गरी जीवन र जगतलाई सही मार्ग दिने संकल्प गर्नुपरेको छ । आजको आवश्यकता भनेको धैर्य र सम्यमता हो । जीवन छ त संसार छ, यो छैन त केही पनि छैन । यो कुराको मनन् गरी रोकथामको लागि आफूलाई धैर्य र सहनशील बनाउनुपरेको छ ।
समयको चक्र दिनमा २४ घण्टा हुन्छ । यो हिजो जुन अवस्थामा थियो त्यो वर्तमान समयसम्म निरन्तर यसरी नै चलिरहेको छ । दिन सप्ताह, सप्ताह वर्ष भएर घुमिरहेको छ । ऋत’हरु आफ्नो नियमानुसार गतिशील भइरहेका छन् । समयले आफूलाई कहिल्यै परिवर्तन गरेन । हिउँद पछि वर्षा र वर्षापछि हिउँद यो निरन्तर चलिरह्यो । जुन परिवेश मानव जीवनको लागि अपरिहार्य भएर सृष्टिको इतिहाससँगै आएको थियो र वर्तमान समयसम्म मानिस, जीवजन्तु, वनस्पति सबैको लागि यो प्रक्रिया प्रकृतिले आफै सिर्जना गरी घुमिरहेको छ । त्यसरी नै यदि जीवनलाई प्रकृतिको नियमानुसार गतिशील बनाउँदै तथा प्रकृतिको नियमलाई कुनै असर नपर्ने गरी भौतिक विकास गर्दै गएको भए सायद अहिले यो अवस्था आउने थिएन ।
तर मानिस स्वयम् प्रकृतिभन्दा माथि उठेर अहंकार र घमण्डले आफूलाई ओतप्रोत गराई स्वयम्को नष्ट हुने आविष्कार गर्ने होडमा आफै दगुरिरहेका छन्, क्षणभरमा संसार ध्वस्त हुने जुन आविष्कार गरेका छन् यसैको परिणम वर्तमानको अवस्था त होइन ? किनकि मानिसले आफूलाई निकै उच्च ठान्ने प्रवृत्ति जुन देखियो, रातपछि दिन आउँछ भन्ने सत्यलाई समेत बिर्सेर रातलाई पनि दिनमा परिणत गर्ने जुन चरित्र निर्माण हुने क्रम सुरु भयो । त्यसपछि मानिस स्वयम्, शारीरिक र मानसिक दृष्टिले कमजोरे बन्न गयो । फलस्वरुप यस्ता रोगले संक्रमित हुने अवस्था सिर्जना भयो । जहाँ पातलो हुन्छ त्यहीँ भ्वाङ पार्छ भनेझै यो कोरोनाले पनि बृद्ध, असहाय, अशक्त र बालबच्चालाई बढी आक्रमण गरेको अवस्था देखियो ।
हिजो जुन गतिमा मानिसको आचरण र व्यवहार थियो, अहिलेको वर्तमानले त्यसलाई परिवर्तन गर्न खोज्दै छ । एकले अर्कालाई उछिन्ने जुन संस्कृति आधुनिक भौतिक युगले देखाएको थियो । त्यसलाई परिवर्तन गर्न समयले भनिरहेको छ । यदि युगअनुसार मानवीय संवेदना पनि त्यसबेला जोडिएको भए सायद यस्तो अवस्था नआउन पनि सक्थ्यो । तर हिजो मानिसले मानिसलाई गनेन । तेरो र मेरोको गलत आचरण हाबी भयो । सेवा र सद्भाव केवल नारा मात्र बन्ने परिस्थिति बन्यो । सँगै जिउने र सँगै कर्म गर्ने र सँगै मर्ने यस्तो सोचले त्यति प्राथमिकता पाएन । स्वार्थ र हैकमवादी चरित्र उदांगो हुँदै गयो । फलस्वरुप मानिस बुद्धिजीवी भएर पनि कमजोर हुन पुग्यो । कमजोर मनस्थितिका कारण मानिस रोगको शिकार हुने अवस्था सिर्जना भयो ।
त्यसैले यस अवस्थामा मानिसले गम्भीर भएर चिन्तन, मनन् गरी स्वयम्लाई जागृत गराउनुपर्ने बेला आएको छ । अप्ठेरो परेकालाई निःस्वार्थ सेवा र सद्भाव दर्शाउनेतर्फ मानिसको सोच विकसित हुनुपरेको छ । विचार र सोचमा सकारात्मक भाव जागृत हुने कर्म र व्यवहार हुनुपरेको छ । सम्यमित र पारदर्शी बनी जीवन र जगतको रक्षार्थ एक हुनुपरेको छ । जे भएको छ, त्यो आफ्नै कारणले हुनसक्छ भनी आफूले आफैलाई तथा आफ्नो परिवेशलाई असल आचरण र व्यवहार गर्न लागिपर्नुपरेको छ । हाम्रो संस्कृति र संस्कारले सिकाएको मानवीय चरित्र र अनुशासनलाई आफ्नो जीवनसँग गाँसेर आफूलाई प्रस्तुत गर्नुपरेको छ । आफू भलो त जगत भलो भन्ने उखान चरितार्थ हुने गरी आफूले आफ्नो व्यवहार र आचरणमा शुद्धिकरण गर्नुपरेको छ । वशुदैव कुटुम्बकम भन्ने उखान चरितार्थ हुने गरी आफ्नो अहंकार र घमण्डलाई तिलाञ्जली दिनुपरेको छ । एकअर्कालाई दोषारोपण गरी आफू पानीमाथिको ओभानो बन्ने कोशिस किमार्थ गर्नु हुँदैन । किनकि यसले आफू मात्र होइन सबैलाई नराम्ररी दुःख र कष्ट दिनसक्छ ।
तसर्थ जीवनको महत्व र यसले निर्वाह गर्नसक्ने यसको आदर्श उद्देश्यलाई गम्भीर भएर बुझी चेतनाको ढोका उघार्नु सबैको जिम्मेवारी बनेको छ । अहिले विश्वलगायत नेपालको अवस्था लकडाउनमा गुज्रिरहेको छ । थोरै लापरवाहीले अमेरिकाजस्तो शक्तिशाली देशमा समेत निकै धनजनको क्षति भइरहेको छ । ठूला–ठूला शक्तिराष्ट्रहरु पनि यो रोगको कारण निरह बनिरहेका छन् । राष्ट्रिय अर्थतन्त्र कमजोर अवस्थामा गुज्रिरहेको अवस्था छ । यस्तो अवस्थामा हाम्रोजस्तो अल्पविकसित नेपालमा यदि हामीले आफ्नो कर्म, व्यवहार र दायित्वलाई बिर्सिने हो भने हाम्रो अवस्था कस्तो होला ? आफै अनुमान गराँै । सरकारले एकान्त बास बस, वाह्य वातावरणबाट पर्ने प्रभावबाट सावधान रहन अपील गरेको छ ।
तर पनि हामी त्यसको मतलव गरिरहेका छैनाँै । दूरी कायम गरी व्यवहार गर सबैले भनिरहेका छन् । तर हामी स्वयम् मुख जोडेर कुरा गरिरहेका छौँ । लाग्छ कोरोना आफ्नो लागि होइन अरुको लागि लाग्छ जस्तो गरेर । प्रहरी अनुशासन कायम गरी भीड नगर्न आग्रह गर्दछ । हामी उसको खिल्ली उडाउँछौँ । रोग केही होइन भनी आफैलाई असुरक्षित गर्दै छौँ । प्रहरी आफ्नो मतलवको लागि यो कार्य गरिरहेको छ भनी उल्टो कुरा गरिरहेका छौँ । यो आफ्नो लागि हो भन्नु भन्दा अरुको लागि गरिदिएजस्तो गरी कार्य गरिरहेका छौँ । यस्तो अवस्थामा यदि हामीले आफूले आफूलाई धैर्य र सम्यम गराउन सकेनौँ, आचरण र व्यवहारमा अनुशासन कायम गर्न सकेनौँ भने हाम्रो जस्तो कम विकसित मुलुक कस्तो अवस्थामा गुज्रेला आफै अनुमान गरौँ । कृष्णपक्षको अँध्यारोपछि शुक्लपक्षको उज्यालो पनि आउँछ भन्ने मानसिकता राखी समय र परिस्थितिको आँकलन गरी आफू र आफ्नो दायित्वबोध हुने गरी वर्तमानलाई प्रयोग गरौँ । बाँचे संसार देखिन्छ । यो कुरा नभुलौँ ।