त्रासरहित स्वास्थ्योपचार सेवाः सदस्य सचिव शर्मा

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना संक्रमणको उपचारका लागि बेलझुण्डीमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद स्नातक शिक्षण अस्पतालका लागि निर्माण गरिएको आलिशान भवनमा सञ्चालनमा ल्याइएको यो अस्पताल भौतिक संरचना र वातावरणीय रुपमा सम्भवतः पाँच नम्बर प्रदेशकै सम्पन्न अस्पताल भएको दाबी गरिन्छ । कोरोना भाइरसका शंकास्प्रद र संक्रमित विरामीहरुलाई समेत भर्ना गरेरै सेवा प्रवाह गरिने अस्पतालको व्यवस्थापकीय अवस्था, चिकित्सकहरुको व्यक्तिगत सुरक्षा, विरामीहरुका लागि उपलब्ध सेवासुविधालगायतका विषयमा केन्द्रित रहेर सो अस्पताल सञ्चालक समितिका सदस्य सचिव तथा तुलसीपुर प्रादेशिक अस्पतालका निमित्त मेसु डा. सर्वेश शर्मासँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

स्वागत छ, तपाईंलाई गोरक्ष सातावार्तामा ।

धन्यवाद तपाईंको लोकप्रिय गोरक्ष दैनिक पत्रिकाको परिवारलाई, मलाई सातावार्तामा आमन्त्रण गर्नुभएकोमा ।

कोरोना विशेष अस्पतालका नाममा शंकास्प्रद विरामीहरुको भर्ना गरी अस्पतालमा सञ्चालनमा आइसकेको छ, अस्पतालको सेवासुविधा र क्षमताका विषयमा केही बताइदिनुस् न ?

अहिले अस्पतालमा एक सय बेडको व्यवस्थापन भइसकेको छ । यद्यपि सबै वेडमा विरामी भर्ना भएको अवस्था भने छैन । संक्रमण बढ्दै गएको अवस्थामा यो क्षमता उपयोग गर्न सकिन्छ । यसका लागि अक्सिजनको व्यवस्थापनदेखि आइसियु सेवा सञ्चालनको समेत अन्तिम तयारी भइरहेको छ । अहिले सम्बन्धित पालिकाहरुको सिफारिसमा शंकास्प्रद विरामीहरुको स्वास्थ्योपचार हुने गरेको छ । विरामीको संख्या थपघट भइरहनु सामान्य हो । भर्ना भएका शंकास्प्रद विरामीहरुको स्वास्थ्योपचारसँगै थ्रोट स्वाव निकाली पिसिआर परीक्षणका लागि बुटवल पठाइने गरेको छ ।

रिपोर्ट नआउँदाको समयसम्म विरामीलाई स्वास्थ्योपचारसँगै निःशुल्क खानाको समेत व्यवस्थापन मिलाईएको छ । परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि आवश्यक परामर्श दिएर घर पठाउने गरेका छौँ । दाङ जिल्लामै प्रदेश स्तरीय कोरोना विशेष अस्पताल सञ्चालनमा आउनु दाङवासीकै लागि पनि गौरवको विषय हो । स्थानीयवासीमा यस्तो महामारीका रुपमा फैलिएको भाइरसको संक्रमण भएको अवस्थामा स्थानीय स्तरमै परीक्षण र स्वास्थ्योपचार पनि हुनु गौरवको कुरा हो । समग्रमा हाल यसलाई कोरोना विशेष अस्पताल भनिए पनि भविष्यमा यसलाई सरुवा रोग विशेष अस्पतालका रुपमा पनि विकास गरिने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

अस्पतालको व्यवस्थापन पक्षका विषयमा पनि केही बताइदिनुस् न ?

यो अस्पताल विशेषतः प्रदेश सरकारको सहयोग र पहलमा सञ्चालनमा आएको हो । यसको संयोजकमा पाँच नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी हुनुहुन्छ । गत चैत १२ गतेको बैठकले अस्पताललाई विधिवत रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । अस्पताल सञ्चालक समितिको सदस्य सचिवमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु रहने गरी अन्य सदस्यहरु प्रमुख जिल्ला अधिकारी, तुलसीपुर र घोराहीका प्रमुखहरु रहने व्यवस्था गरिएको छ ।
यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन समेत सदस्य रहने गरी व्यवस्थापन समिति बनेको छ । यसैगरी हाल यो अस्पतालमा १० जना प्यारामेडिक्स स्टाफ, दुई जना हेल्पर र आलोपालो गरी मेडिकल अधिकृतको समेत व्यवस्थापन भइसकेको छ । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका एकजना एमडिजिपी चिकित्सक सहितको टोलीले विरामीहरुलाई स्वास्थ्योपचार सेवा प्रदान गरिरहेका छौँ । त्यससँगै आवश्यक परेको समयमा राप्ती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुलाई पनि विरामीहरुको स्वास्थ्योपचार सेवामा सहयोग गर्न सक्नेछन् ।

स्वास्थ्यकर्मीहरुलाई त्रास रहित अवस्थामा काम गर्नसक्ने अवस्थाका विषयमा धेरै टीकाटिप्पणीहरु सुनिन्छन् नि ?

हामी यसमा एकदमै गम्भीर छौँ । समय र परिस्थितिअनुसार आवश्यक सुरक्षाका उपायहरु समेत अवलम्बन गरिरहेका छौँ । हामीले फिवर क्लिनीकमा बस्ने साथीहरुलाई गन थर्मा मिटर र पिपिईको व्यवस्थापन गरिसकेका छौँ । चिकित्सकले मागेअनुसार मास्क, गगल्स, पञ्जा, सेनिटाइजरलगायत पिपिई उपलब्ध गराइसकेको पनि आम पाठकहरुलाई जानकारी गराउन चाहन्छु । साथै स्वास्थ्योपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सकहरुको विशेष सुरक्षा व्यवस्थापन गरिएको छ । चिकित्सकहरुले पनि त्रासरहित वातावरणमा ढुक्क भएर उच्च मनोबलसहित उपचार सेवा प्रदान गरिरहेका छन् ।
चिकित्सकले माग गरेअनुसार सबै सामान उपलब्ध गराउन अस्पताल व्यवस्थापन तयार छ । भोलिका दिनमा थप सामग्री आवश्यक भएको अवस्थामा प्रदेश आपूर्ति समितिसँगै संघीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाइसकेको छ । समग्रमा भन्नुपर्दा स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षाका सन्दर्भमा कुनै गुनासो गर्ने अवस्था छैन ।

अस्पतालमा भर्ना भएका विरामीहरुलाई नेपाल सरकारले तोकेवमोजिमको निःशुल्क खाना तथा बेड व्यवस्थापन कार्यान्वयन भएको छ ?

खानालाई अहिले पैसामा कन्भर्ट गरेर दिने गरिएको छैन । सामान कहीँ सस्तो कहीँ महँगो पनि हुनसक्छ, तर मापदण्ड अनुरुपको खाना विरामीहरुलाई उपलब्ध गराउनुपर्छ भन्ने विषयमा हामी गम्भीर छौँ । दैनिक एक गिलास दूध, एउटा अण्डा अनिवार्य दिने गरेका छौँ । पौष्टिकताका लागि विरामीलाई मासु खुवाउनुपर्ने आवाज पनि नआएका होइनन् । तर विश्व स्वास्थ्य संगठनको आग्रह वमोजिम मासुजन्य पदार्थबाट पनि कोरोनाको संक्रमण फैलनसक्ने भएकाले मासुको व्यवस्था गरिएको भने छैन । सुरु–सुरुमा खानाका विषयमा विरामीहरुबाट पनि केही गुनासा आएका होलान्, तर अहिले तुलसीपुर उद्योग वाणिज्य संघसँगको समन्वयमा पौष्टिक र स्वस्थकर खाना खुवाउने गरिएको छ । पिउने पानीका विषयमा पनि हामी अत्यन्तै गम्भीर छौँ ।

खानाका लागि यति नै भनेर प्रदेश सरकारले बजेट पठाएको छैन । गत १२ गते बसेको बैठकमा यहाँका दशवटै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाएवमोजिम उपमहानगरपालिकाले एक लाख, नगरपालिकाले पनि एक लाख र सबै गाउँपालिकाहरुले ५०÷५० हजार रुपैयाँ जम्मा गरिसकेका छन् । त्यसैले अहिलेसम्म व्यवस्थापन गरिरहेका छौँ । समस्या भएको अवस्थामा मुख्यमन्त्री कार्यालयबाट पनि व्यवस्थापन गरिने आश्वासन पाइसकेका छौँ । आर्थिक समस्याले खानाको गुणस्तर खस्कन दिने छैनौँ ।

सुखद् पक्ष, हालसम्म जिल्लामा एक जना पनि संक्रमित भेटिएका छैनन्, दुर्भाग्यबस संक्रमित प्रमाणित भइसकेपछि उनीहरुको आइशोलेशनमा राखी उपचार सम्भव छ ?

अहिलेसम्मको नेपाल सरकारको राष्ट्रिय नीति वमोजिम कोरोना विशेष अस्पताल स्थापना भइसकेपछि उपचार पनि यही नै गर्ने हो । यदि पोजेटिभ केस आइहाले पनि उनीहरुको स्वास्थ्य उपचारका लागि आवश्यक अक्सिजन, आइसियु सेवा तथा अझै सघन उपचारका लागि भेण्ट्रिलेटरको समेत व्यवस्थापन भइसकेको छ । थप गम्भीर प्रकृतिका विरामी भेटिएको अवस्थामा संघीय सरकारको निर्देशन र प्रदेश सरकारको समन्वयमा रिफर गर्ने पनि अवस्था आउनसक्छ । तर यही अस्पतालमै स्वास्थ्योपचार सम्भव होस् भनेर हामीले केही जनशक्तिलाई आवश्यक तालिमका लागि अन्यत्र समेत पठाएर दक्ष बनाइरहेका छौँ ।

आशा गरौँ, कोरोनाका सबै विरामीहरुलाई यही अस्पतालमा उपचार हुने छ । त्यसका लागि आइशोलेशन बेड समेत व्यवस्थापन भइसकेको छ । अस्पताललाई थप स्तरीय बनाउनका लागि थप भेण्ट्रिलेशन मेसिन खरिदसँगै अक्सिजन पाइपलाइन जडान गर्ने प्रक्रिया पनि सुरु भएको थियो । तर टेण्डरमा लागत मूल्यभन्दा बढी परेपछि रद्द गरियो । आवश्यक परेको अवस्थामा यही व्यवस्थापन भएका भेण्ट्रिलेटर र आइसियुबाट सेवा प्रवाह गर्न पर्याप्त हुने पनि हाम्रो निष्कर्ष बन्यो । पुनः टेण्डर प्रक्रिया अहिले रोकिएको छ ।

कोरोना विशेष अस्पतालको बजेटका विषयमा बताइदिनुस् न ?

खासमा अहिलेसम्म प्रदेश सरकारबाट २ करोड रुपैयाँ मात्र बजेट आएको हो । त्यसैले भेण्ट्रिलेटर, अक्सिजन पाइपलाइन र इन्डोर व्यवस्थापनका लागि शीर्षकवाइज बजेट आएको हो । इमर्जेन्सी मेडिसिनका लागि पनि त्यही बजेट प्रयोग गर्ने गरी पठाइएको हो । यो क्रमशः खर्च हुँदै छ । अब चाहिने भनेको सञ्चालन खर्चका लागि हो । त्यसका लागि अस्पताल सञ्चालक समितिले निर्णय गरेर कम्तिमा ३ महिनाका लागि ३० लाख माग गरिएको हो । हाल ५ लाख रुपैयाँ प्राप्त भइसकेको छ र थप ५ लाख रुपैयाँ आजभोलिमै आइपुग्ने आश्वासन पाएका छौँ । अरु बजेट भनेको त समय र परिस्थितिले माग गरेको अवस्थामा आउने हो । संक्रमण फैलिएर विरामीहरु बढ्दै गएको अवस्थामा बजेट बढाउने सवालमा तपाईं–हामी सबैको सामूहिक पहल हुने छ भन्नेमा म विश्वस्त छु ।

अन्तमा केही भन्न चाहनुहुन्छ कि ?

सबैभन्दा पहिले गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई विशेष धन्यवाद दिन्छु । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको लकडाउन नै हो । लकडाउनको पूर्ण पालना गरौँ । घरमै बसौँ, सुरक्षित बनौँ । यदि कोरोनाको संक्रमणको शंका लागेमा नजिकै अस्पताल छ, सेवा उपलब्ध छ । स्वास्थ्यकर्मीको सम्पर्कमा आएर तत्काल उपचार गरौँ ।