calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

नदीको बहावलाई पाँच सय मिटर कायम गरिने

गोरक्ष समाचारदाता
दाङ, ९ माघ । राप्ती नदी तटबन्धनका क्रममा देखिएको विवाद समाधानका लागि पहल भएको छ । लमही नगरपालिका २, ४ र गढवा गाउँपालिका–४ र ५ अन्तर्गत पर्ने राप्ती नदी तटबन्धनका क्रममा देखिएको समस्या समाधानका लागि प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको अध्यक्षतामा मङ्गलवार लमहीमा बसेको कार्यदलको बैठकले तटबन्धनका क्रममा देखिएको समस्या समाधान गरेर अघि बढ्ने निर्णय गरेको हो ।

तटबन्धनका क्रममा देखिएको समस्या समाधानका लागि दङाली छाप कुलोको मुहानदेखि उत्तरतर्फ बगिरहेको पानीलाई दुवैतिरको सीमानालाई मध्यनजर गरेर नदीको वहावलाई पाँच सय मिटर क्षेत्रभित्र कायम गर्ने सहमति भएको छ । उक्त काम सम्पन्न गर्न दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य चौधरीले पहल गर्ने भएका छन् । यसैगरी दक्षिणतर्फ भइरहेको तीन सिमलदेखि पश्चिततर्फको तटबन्धन परियोजनाको दृष्टि र विस्तृत प्रतिवेदन (डिपिआर)मा उल्लेख गरेबमोजिम सिधा रेखामा तटबन्धन जोड्ने र राप्ती पुलसम्म निरन्तरता दिने सहमति भएको छ ।

डिपिआरमा व्यवस्था भएबमोजिम लमही नगरपालिका दुईतर्फको किनारमा तटबन्धनको व्यवस्था मिलाउन पहल गर्ने निर्णय भएको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिएका छन् । उक्त कार्यका लागि लमही स्थित जनताको तटबन्धन कार्यालयलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी राप्ती नदी अन्तर्गत उत्तरतर्फ भइरहेको तटबन्धनको कार्यलाई पनि परियोजनामा उल्लेख गरेअनुसार अघि बढाउने निर्णय गरेको सदस्य अधिकारीले जानकारी दिए । उनका अनुसार राप्ती नदीको पुलदेखि पश्चिमतर्फ भइरहेको खण्डलाई पनि डिपिआर अनुसार पश्चिम लैजाने र उक्त स्थानमा विवाद भएकाले विवाद समाधानका लागि अधिक्तम प्रयास गर्ने निर्णय भएको छ । प्रयास गर्दा पनि विवाद समाधान हुन नसके उक्त खण्डको कामलाई पुलभन्दा पूर्व रहेको खण्डको माथि खाली ठाउँमा गर्नका लागि लमही स्थित जनताको तटबन्धन कार्याललाई अनुरोध गर्ने निर्णय गरेको सदस्य अधिकारीले बताएका छन् ।

समस्या समाधान कार्यदलका संयोजक चौधरीको अध्यक्षतामा बसेको बैठकमा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा चौधरी, जनताको तटबन्धन कार्यक्रमका आयोजना प्रमुख रामप्रसाद अर्याल, लमही नगरपालिका–२ का अध्यक्ष नेपालु चौधरी, ३ का अध्यक्ष मनोज चौधरी, ५ का अध्यक्ष ओमप्रकाश सुवेदी, ६ का अध्यक्ष श्याम चौधरी, गढवा गाउँपालिका–४ का अध्यक्ष हरिभगत चौधरी, ५ का अध्यक्ष लेखबहादुर थापा, ७ का अध्यक्ष राहुलदेव चौधरी, लमही प्रतिनिधि नारायण अधिकारी, खुसल चौधरी, ध्रुव चौधरीलगायतको बैठकमा सहभागिता रहेको थियो ।

एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा दाङको देउखुरी र बाँके जिल्ला अन्तर्गत राप्ती नदीको विभिन्न स्थानमा तटबन्धनको काम भइरहेको छ । आयोजना अन्तर्गत तटबन्धनको काम कालिका कन्स्ट्रक्सन प्रालि काठमाडौंले काम गरिरहेको छ ।