calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

लुम्बिनी प्रज्ञा प्रतिष्ठान बन्ने

गोरक्ष समाचारदाता
दाङ,८ माघ । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन हुने भएको छ । प्रदेश सरकार मन्त्री परिषद बैठकले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रतिष्ठान गठनको अपरिहार्यता खुलाउँदै यसको गठनका लागि मन्त्री परिषदबाट निर्णय गर्नका लागि मन्त्री परिषदमा प्रस्ताव पेश गरेको थियो ।

मन्त्रालयको यो प्रस्तावलाई मन्त्री परिषदले स्वीकार गर्दै प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो । ‘प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन अपरिहार्य छ,यसका लागि हामीले यसको गठनको अपरिहार्यता सहित मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेका थियौँ,’ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने,‘यो प्रस्ताव उपर मन्त्री परिषद बैठकबाट निर्णय भएको छ र अब प्रतिष्ठान गठनको बाटो खुलेको छ ।’

प्रदेशको भाषा, भेषभुषा, प्राचिन धर्म,मौलिक संस्कार,संस्कृति, कलागला, साहित्य, संगित र बौद्धिक सम्पत्ति जस्ता प्रदेशको मौलिकतासंग सम्बन्धित बिषयलाई व्यवस्थित गर्न प्रतिष्ठान गठन आवश्यक रहेको जनाइएको छ । मन्त्री परिषदले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयकमा सैद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेपछि अब विधेयक तयार पार्ने काम हुने छ ।
विधेयक संसदमा पेश हुने र ऐनका रुपमा जारी भएपछि प्रतिष्ठान गठनको प्रकृया प्रारम्भ हुने छ । मन्त्री न्यौपानेका अनुसार ऐन निर्माण भइ कार्यान्वयन भएपछि भाषा, भेषभुषा,प्राचिनतम धर्म,मौलिक संस्कार संस्कृति,कला सात्यि संगित र यससंग सम्बन्धीत बिषयको पहिचान हुने छ ।

यसैगरि प्रतिष्ठान गठनले कला, साहित्य, भाषा र संगितको क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान, यसप्रति चासो र चिन्ता गर्नेहरुलाई प्रोत्साहन एवं नयाँ पुस्तालाई यस क्षेत्रको समुन्नतीमा लाग्नका लागि उत्प्रेरणा प्रदान हुने मन्त्री न्यौपानेले जानकारी दिए । ‘विभिन्न कला, संस्कृति, धर्म, भाषा भेषभुषाको पहिचान संगै कला, साहित्य, भाषा र संगितको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान प्रदान गरिने छ,’ मन्त्री न्यौपानेले भने ‘यो संगै यो क्षेत्र प्रति नयाँ पुस्ताको लगाव कायम गराउनका लागि उत्प्रेरणा दिने काम पनि प्रतिष्ठानबाट हुने छ ।’

यसैगरि प्रतिष्ठान गठनले लुम्बिनी प्रदेशको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा लिइएको छ । प्रदेश भित्रका भाषा,धर्म, जाती, मौलिक संस्कृति, कला , संगितको संरक्षण गर्दै यसको प्रचार प्रसार गरिने भएकाले प्रदेशको मौलिक पन हेर्नका लागि पर्यटकहरु भित्रने मन्त्री न्यौपानेले बताए । ‘प्रतिष्ठान मार्फत यहाँको मौलिक सस्कृति तथा कला साहित्यको संरक्षण गरेर यो चिजको अवलोकन पर्यटकहरुलाई गराउन सकिने छ,’ मन्त्री न्यौपानेले भने ‘यसो हुन सक्यो भने प्रदेशको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्छ ।