गोरक्ष समाचारदाता
दाङ, ८ माघ । कृषि विकास बैंकले बदलिँदो समयसँगै प्रविधिमैत्री सेवामा ध्यान दिनुपर्ने सहभागीले सुझाव दिएका छन् । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक लुम्बिनी प्रदेश कार्यालय दाङले सोमवार घोराहीमा आयोजना गरेको कार्यक्रमका सहभागीले वक्ताले अहिलेको समय निजी बैंकसँग प्रतिस्पर्धा गर्दै अघि बढ्नुपर्ने भएकाले प्रविधि तथा जनमैत्री सेवामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
देशकै सबैभन्दा पुरानो र धेरै कर्जा प्रवाह गर्ने विकास बैंक कृषि विकास बैंक भएको भन्दै कृषि विकास बैंकका पूर्व विभागीय प्रमुख शरदकुमार शर्मा घिमिरेले त्यो स्तरलाई कायम राख्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । नागरिकलाई सहज रूपमा सेवा प्रवाहसँगै बचत रकमलाई सुरक्षित गर्दै नयाँ कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले प्रविधिमैत्री सेवामा जोडदिनुपर्ने बताएका हुन् ।
उनले अहिले बैङ्किङ क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजना बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए । नागरिकको बचतलाई सुरक्षित र नाफा गर्दै विश्वासिलो बैंकका रूपमा अघि बढ्नुपर्ने अहिलेको चुनौती रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि घिमिरेले भने, ‘पुरानो बैंकले सेवालाई प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्छ । जनताको विश्वास जित्न सक्नुपर्छ ।’ नयाँ ढङ्गले बैंक अघि बढ्न नसक्ने हो भने बैंक ओरालो यात्रामा जाने क्रम बढ्ने भएकाले तल्लो तहदेखि केन्द्रसम्म सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले सेवाग्राहीले सहज रूपमा जतिसक्यो चाँडै सेवा चाहने भएकाले बैंकले एटिएम, मोबाइल बैंकिङ्लगायतका सेवालाई प्रभावकारी बनाउन ध्यान दिनुपर्नेमा जोड दिएका थिए । विकास बैंकका रूपमा सुरु भएको बैंक अहिले आधुनिक बैंकका रूपमा अघि बढेको भन्दै सहभागीले बैंक क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्ने गरी योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका थिए । कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय घोराही दाङका प्रमुख निर्देशक बिना शर्माको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा कृषि विकास बैंक कर्मचारी संघका प्रदेश अध्यक्ष अतिशकुमार शर्मा, कृषि विकास बैंक धम्बोझी मुख्य शाखा प्रबन्धक हिमालय श्रेष्ठ, पूर्व कर्मचारी समाजका अध्यक्ष केशवराज पन्तलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कृषि विकास बैंकले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कुर्सी दौड प्रतियोगिताका विजेता कृषि विकास बैंक प्युठान विजुवार शाखा प्रमुख बुद्धिप्रकाश चौधरी र शाखा कार्यालय त्रिमार्गका यमुना वली भण्डारी र घैँटाफोडतर्फ विजेता कृषि विकास बैंक लमही शाखा प्रमुख नेत्र बुढा थापालाई पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रममा २५ वर्षे सेवा अवधि पूरा गरेका कृषि विकास बैंक शाखा कार्यालय रोल्पाका कार्यालय सहायक महेन्द्रप्रसाद शर्मालाई कार्यक्रमका प्रमुख अतिथि घिमिरेले तक्मा र कदरपत्रले सम्मान गरेका थिए । कृषि विकास बैंक प्रदेश कार्यालय घोराहीका बरिष्ठ शाखा प्रमुख भेषबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखा प्रमुख बुद्धिप्रताप भण्डारीले गरेका थिए ।